१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ मङ्सिर १२ शुक्रबार १०:०८:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

दुःखी छन् म्याराडोनाका समर्थक

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ मङ्सिर १२ शुक्रबार १०:०८:००

२०औँ शताब्दीकै महान् फुटबल खेलाडी डिएगो म्याराडोनाले बुधबार राति अन्तिम सास लिए । सन् १९८० देखि १९९० सम्म विश्वकप तथा युरोपियन फुटबलमा तहल्का मच्चाएका म्याराडोनाको निधनले धेरैलाई स्तब्ध बनाएको छ । अर्जेन्टिनाको राजधानी ब्युनेस आयर्समा हजारौँ समर्थक सडकमा भावुक हुँदै म्याराडोनालाई अन्तिम श्रद्धाञ्जली दिइरहेका छन् । उनीहरू अझै पनि पत्याउन सकेका छैनन्, ‘फुटबलकै भगवान्ले संसार छाडिसके’ भन्ने ।

म्याराडोनाको निधनमा अर्जेन्टिनी सरकारले तीन दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । अर्जेन्टिनी राष्ट्रपति अल्बर्टो फर्नान्डेजले म्याराडोनाको प्रशंसा गरेका छन् । उनी भन्छन्, ‘तपाईं (म्याराडोना)ले हामी अर्जेन्टिनीलाई विश्वकै उच्च शिखरमा पुर्‍याउनुभयो, तपाईंले हामीलाई फुटबलको माध्यमबाट खुसी दिनुभयो, वास्तवमै फुटबल क्षेत्रमा म्याराडोना एक महान् खेलाडी हो, डिएगोलाई हामी सबैले मिस गर्नेछौँ ।’ बिहीबार बिहान नै विशेष सुरक्षाका साथ म्याराडोनाको पार्थिव शरीर पे्रसिडेन्टल प्यालेसमा पुर्‍याइएको थियो । 

म्याराडोनालाई अन्तिमपटक देख्ने उनका भतिजा जोनी इस्पोसिटो रहेको एजेन्सीहरूले जनाएका छन् । स्थानीय तथा अन्तर्राष्ट्रिय समाचार एजेन्सीले फुटबल लिजेन्डको निधन भएको समाचार पुष्टि गरेसँगै सडकमा हजाराँै समर्थक क्यान्डल लिएर ओइरिएका हुन् । अर्जेन्टिनाको राजधानीमा समर्थकहरू १० नम्बर जर्सी तथा बोका जुनियर्सको तस्बिर साथमा राख्दै म्याराडोनाप्रति अन्तिम श्रद्धाञ्जली दिइरहेका देखिन्थे । गत महिना मात्र म्याराडोनाले आफ्नो ६०औँ जन्मोत्सव मनाएका थिए । 

दुई साताअघि मस्तिष्कको शल्यक्रिया हुँदा पनि उनको स्वास्थ्य अवस्था राम्रै थियो । हृदयाघातका कारण म्याराडोनाले संसार छाडेको चिकित्सकहरूले जनाएका छन् । बोका जुनियर्सले श्रद्धाञ्जली दिँदै ‘म्याराडोना बक्स’मा एउटा मात्र लाइट बालेको छ । साथै, पूरै बोका जुनियर्सको घरेलु रंगशाला म्याराडोनाले लगाउने जर्सी रंगमा पोतिएको छ । म्याराडोनाको फुटबल करिअरको पहिलो क्लब बोका जुनियर्स थियो । 

म्याराडोनाले जीवनभरि नै विरोध गरेका व्यक्ति थिए, ब्राजिलका पेले । दुवै एकअर्काप्रति तिखो टिप्पणी गर्न पछि पर्दैनथे । दुवै आफूलाई शताब्दीकै उत्कृष्ट खेलाडी मान्थे । सन् २००० मा फिफाको भोटिङ हुँदा म्याराडोना र पेले संयुक्त रूपमै शताब्दीकै उत्कृष्ट खेलाडी घोषित भए । अफ द फिल्डमा जेजस्तो भए पनि पेले र म्याराडोना खासमा मिल्ने साथी हुन् पनि । एक मित्रको निधनले आफू भावुक भएको पेलेले जनाएका छन् । संसारले एक राम्रा खेलाडी र साथी गुमाएको पेलेले बताएका छन् ।

पेलेले ट्विटरमा लेखेका छन्, ‘निकै नराम्रो समाचार सुन्नुपरेको छ, मैले एक असल साथी गुमाएको छु, यो संसारले एक उत्कृष्ट खेलाडी गुमाएको छ, मलाई आशा छ, एकदिन आकाशमा सँगै बल खेल्नेछौँ ।’म्याराडोनाको निधनप्रति धेरै खेलकर्मीले भावपूर्ण श्रद्धाञ्जली दिएका छन् । इंग्लिस टोलीका पूर्वकप्तान डेभिड बेकह्यामले आफूले देखेको खेलाडीमध्ये म्याराडोना उत्कृष्ट रहेको बताएका छन् । जीवनमा एकपटक म्याराडोनासँग भेटेको क्षण सम्झनामा आइरहेको उनको भनाइ छ ।

क्रिकेट लिजेन्ड सचिन तेन्दुलकरले फुटबल मात्र नभएर विश्व खेलकुदले नै एक हस्ती गुमाएको बताएका छन् । ‘हामी सबै खेलकर्मीले एक उत्कृष्ट खेलाडी मिस गरेका छौँ,’ सचिनले भनेका छन् । वर्तमान समयमै दुई महान् खेलाडी लियोनल मेसी तथा क्रिस्टियानो रोनाल्डोले अर्जेन्टिनी लिजेन्डर मुटुमा रहने बताएका छन् । ‘फुटबलमा पेले र म्याराडोनाबीच उत्कृष्ट छुट्याउनै गाह्रो पर्छ,’ रोनाल्डोले भने, ‘आज एक हस्तीको अवसान भएको छ ।’

युरोपमा म्याराडोनालाई दुई किसिमले श्रद्धाञ्जली दिएको एजेन्सीहरूले जनाएका छन् । इटाली जहाँ म्याराडोनाले विश्व कीर्तिमानी रकममा सिरिए क्लब नेपोलीसँग आबद्धता जनाएका थिए । एक दशक रहँदा म्याराडोनाले नेपोलीलाई नम्बर एक क्लब बनाएका थिए । निधन भएको खबर फैलिएसँगै नेपोली र म्याराडोनाका समर्थक बुधबार राति नै सडकमा उत्रिए । म्याराडोनाले नेपोलीमा लगाएको गुण कहिल्यै नबिर्सने उनका समर्थकहरू बताउँछन् । नेपोलीको रंगशालामा रातभरि नै लाइटिङ चलिरह्यो । 

बेलायतका फुटबल समर्थकले भने फरक रूपमा म्याराडोनालाई स्मरण गरेका छन् । बेलायती दर्शक र समर्थकले म्याराडोनालाई सन् १९८६ को विश्वकप नै सम्झन्छन् । सो विश्वकपमा म्याराडोनाले जानाजान हातले गोल गरेका थिए । पछि उनले यसलाई भगवान्ले दिएको हात भने । बुधबार राति युरोपियन च्याम्पियन्स लिगका खेल थिए । प्रतिस्पर्धामा उत्रिएका खेलाडीले म्याराडोनालाई श्रद्धाञ्जली दिँदै एक मिनेट मौनधारण गरे । 

बेलायती र स्पेनिस पत्रिका म्याराडोनालाई खुबै पछ्याउने गर्थे । त्यहाँका ट्याबलोइड पत्रिकाका लागि म्याराडोना सधँै खुराक थिए । यसकारण म्याराडोनाको हरेक गतिविधि उनीहरूले पछ्याइरहेका हुन्थे । यसपटक स्पेनिस र बेलायती पत्रिकाले म्याराडोनाप्रति सम्मान जनाउँदै एक महान् खेलाडीको अन्त्य भएको बताएका छन् । धेरैजसो युरोपका पत्रिकाले ‘भगवान्’को निधन भयो भनी समाचार सम्प्रेषण गरेका छन् । स्पेनिस एल मार्का पत्रिकाले म्याराडोनाले कुनै समय भनेका राम्रा–राम्रा शब्द राखी समाचार बनाएको छ । 
 एजेन्सीहरूको सहयोगमा