मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
हुँआम्यानुयल रोटुरो
२०७७ मङ्सिर १९ शुक्रबार ०७:३६:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

मेरा नायक, म्याराडोना

Read Time : > 3 मिनेट
हुँआम्यानुयल रोटुरो
२०७७ मङ्सिर १९ शुक्रबार ०७:३६:००

बुधबार बिहानै काममा बोलाइएकाले म घरबाट अफिसको काम गरिरहेको थिएँ । सोही समय अर्को कोठामा बसेकी मेरी श्रीमतीले कोठामा आएर डिएगो आरमान्डो म्याराडोनाको हृदयाघातका कारण मृत्यु भयो भनेर सुनाइन् । अर्जेन्टिनाका राष्ट्रिय विभूतिको स्तरमा उचाइ हासिल गरेका फुटबल खेलका सम्भवतः सबैभन्दा माया पाएका व्यक्तित्वको रूपमा चिनारी बनाएका म्याराडोना विभिन्न कारणले विवादमा पनि आइरहन्थे । समाचार पाएलगत्तै मैले अर्जेन्टिनी समाचार च्यानलहरू खोल्न थालेँ । सबै च्यानलको मुनिको भागमा लेखिएको थियो ‘म्याराडोनाको मृत्यु भयो ।’ 

खेलविशेषज्ञ तथा पत्रकारहरू टिभी कार्यक्रमकै दौरान रोएको देखिन्थे । त्यसपछिका आगामी चार दिनसम्म मैले म्याराडोनाका केही अविस्मरणीय गोल तथा अन्तर्वार्ताहरू हेरेँ । मलाई आफ्नो नजिकको मानिस गुमाएको अनुभव भयो । र एक प्रकारले उनी नजिकका व्यक्ति थिए पनि । तर लाखौँ, करोडौँ मानिसले उनीप्रति सम्मान व्यक्त गरिहँदा कैयौँले उनको मृत्युमा खुसी जनाइरहेको पनि देखियो । मेरो इन्स्टाग्राममा मैले देखेको त्यस्तो पहिलो पोस्ट एकजना भेनेजुयलन मित्रको थियो । उनले म्याराडोना ‘चाभेज र फिडेलसँगै नर्कमा पुगून् भन्ने आस’ गरेको लेखेका थिए । अझ अगाडि बढेर उनले म्याराडोना सबैभन्दा सुन्दर खेलको लागि धब्बा भएकोसम्म भने । 

उनलाई त्यसरी सम्झने पनि देखिए । तर, मेरो पुस्ताका बालबालिकाले म्याराडोनाको सबैभन्दा सबल पक्ष देख्दै हुर्कियौँ । केहीका लागि उनी सन् १९८६ को विश्वकपमा अर्जेन्टिनालाई विजयी गराउने नायक हुन् । त्यसक्रममा उनले ब्रिटेनलाई हराएका थिए ।

सन् १९८७ मा उनी इटालीको विपन्न दक्षिणी भेगका नायक भए, जब त्यस क्षेत्रको क्लब नेपोलीलाई उनले पहिलोपटक राष्ट्रिय च्याम्पियनसिप जिताए । दुई वर्षपछि उनले सो क्लबलाई एक प्रमुख युरोपेली पदक जिताए, त्यो पनि पहिलोपटक । यी सम्पूर्ण सफलतामाझ उनले आफ्नो मूललाई कहिल्यै पनि बिर्सिएनन् र उनी गरिबहरूको च्याम्पियन बने । 

तर, अन्यका लागि उनी कोकिनको कुलत भएका खलनायक थिए । एकपटक उनले आफ्नो घरबाहिर जम्मा भएका रिपोर्टरलाई तर्साउन हवाई फायर गरेका थिए । उनी फिडेल क्यास्ट्रोका पनि नजिकका साथी थिए भने ह्युगो चाभेज र निकोलस मदुरोका सक्रिय समर्थक थिए ।

म्याराडोनामार्फत मैले आफूलाई सबैभन्दा मन पर्ने खेलमा विजयी भएको अद्भूत खुसी महसुस गर्ने अवसर पाएँ

म्याराडोनाको मृत्युमा शोक मनाएको देखेर मेरा एक क्युबाली मित्रले अचम्मित हुँदै सोधे, ‘ऊ त कम्युनिस्ट थियो होइन र ?’ अर्जेन्टिनीहरू फुटबललाई जीवनका कम महत्वका कुरामध्ये सबैभन्दा महत्वपूर्ण मान्छन् । डिसेम्बर १९७६ मा म जन्मेको समयमा मेरा पिताले मेरो लागि पहिलो रिभर प्लेट जर्सी छुट्याएका थिए । सो जर्सी मेरो बर्थडे उपहार मात्र थिएन, मेरो बाप्टिजम नै थियो ।

नौ वर्षको उमेरसम्म विद्यालयको टिममा खेल्न थालिसकेको थिएँ । त्यसपछि टोले टिम तथा गाउँले टिममा खेल्न थालेँ । म अत्यधिक फुटबल म्यागजिन पढ्न थालेँ । म सम्भव भएसम्म टेलिभिजन हेर्न थालेको थिएँ । म पिता तथा ठुल्दाइसँग रंगशाला जान थालेँ । त्यसक्रममा म रिभर प्लेटको समर्थक भएर पनि त्यसको चिर प्रतिद्वन्द्वी बोकाजुनियर्सको समर्थक भएँ । यसका पछाडि म्याराडोना कारण थिए ।

रिभर प्लेट र बोकाजुनियर्स अर्जेन्टिनाका सबैभन्दा सफल क्लब थिए । ती दुई क्लबको प्रतिद्वन्द्विता निकै कडा हुने गथ्र्यो । तर, सन् १९८६ मा बेलायतविरुद्ध भएको क्वाटरफाइनल खेलले सबै कुरा बदलियो । त्यसमा पहिलो गोल उनले हातले हाने र चार मिनेटपछि उनले हामीले त्यसवेलासम्म नदखेको अद्भूत गोल गरे ।

फुटबल खेल्ने खेलाीडले सिक्ने पहिलो कुरा नै बल पास गर्ने हो । बल पास नगर्ने टिम हार्ने सम्भावना हुन्छ । तर, त्यो दिन उनले फिल्ममा जस्तो खेल कौशल देखाए । उनले असम्भव गरेर देखाए । उनले आफूनजिक रहेका कैयौँ इंग्लिस खेलाडीलाई छलेर अगाडि बढे ।

आफ्नै कोठामा सो खेल हेरिरहेको मैले एक्कासि चिच्याएर ‘बल पास गर्न’ भनेको सम्झना छ । तर, उनी अघि बढिरहे । उनी आफूअघिका सबै खेलाडीलाई छलेर किपरलाई समेत छल्न सफल भए । उनले दश सेकेन्डमा २०० फिटको लम्बाइ तय गरेर नेटमा बल छिराए । सम्पूर्ण अर्जेटिनी त्यस समय खुसी र अविश्वासमा उफ्रिएका थिए ।

अर्जेटिनीहरूका लागि सो विश्वकपको एउटा खेलको जित मात्र थिएन । चार वर्षअघि मार्गरेट थ्याचरको इंग्ल्यान्डले फकल्यान्ड युद्धमा अर्जेन्टिनाका सेना मारेको थियो । विश्वकपको क्याटरफाइनलमा इंग्ल्यान्डविरुद्धको जितलाई त्यसको बदला ठानियो र यसको नेतृत्व म्याराडोनाले गरेका थिए ।

उनले सामान्य गोल मात्रै गरेर जित हासिल गरेको भए पनि त्यसले खुसी नै निम्त्याउने थियो, तर म्याराडोनाले इंग्ल्यान्डको टिमलाई पूरै घुँडा टेकाइदिए । त्यसपछिको दुई खेलमा उनको महत्वपूर्ण भूमिकाका कारण अर्जेन्टिनाले विश्वकप घर ल्यायो । 

म्याराडोनामार्फत मैले आफूलाई मन पर्ने खेलमा विजयी भएको भावमा ठूलो खुसी मनाउने अवसर पाएँ । त्यस्तो खुसी मनाउने त्यो अन्तिम अवसर बन्यो । हाम्रा प्रिय लियोनल मेसीले प्रयास नगरेका होइनन्, तर सन् १९८६ देखि हामी अर्जेन्टिनीले विश्वकप जित्न सकेका छैनौँ ।

यसैले पनि म्याराडोनाको सम्झना हाम्रो लागि प्रिय छ । एक समय आफ्नो देश पनि विश्वको शिखरमा थियो भन्ने सम्झना प्रिय हुने रहेछ । हाम्रा अनेक समस्याका बाबजुद फुटबलले हामी अर्जेन्टिनीलाई खुसी हुने अवसर दिन्छ, कम्तीमा ९० मिनेटको लागि नै । म्याराडोनाले हामीलाई जीवनकालभरको लागि खुसी दिए । र, उनलाई खराब मान्नेहरूलाई मेरो यति भन्नु छ, उनमा पनि अन्य मानिसमा जस्तै गुण र अवगुणहरू थिए ।
रोटुरो पत्रकार हुन् ।
"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य