मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ मङ्सिर २० शनिबार १४:३७:००
Read Time : > 2 मिनेट
खेलकुद डिजिटल संस्करण

इन्स्टाग्राममा पेले लेख्छन्- आई लभ यु म्याराडोना

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ मङ्सिर २० शनिबार १४:३७:००

अर्जेन्टिनी खेलाडी डिएगो म्याराडोना र ब्राजिलियन लिजेन्ड पेलेबीचको सम्बन्ध राम्रोभन्दा पनि नराम्रो रूपमै प्रचार भयो । 

जीवित रहँदा म्याराडोनाले आफूबराबर अन्य फुटबलर नरहेको दाबी गरिरहे । म्याराडोनाले आफूलाई एक्लो विश्वकै उत्कृष्ट खेलाडी भनी घमन्ड गरे । 

यद्यपि, ब्राजिललाई आफ्नै बलमा तीनपटक विश्वकप उपाधि दिलाएका पेलेले समेत बराबरी गर्न नसक्ने म्याराडोनाको दाबी थियो । सन् २००० मा फिफाले शताब्दीकै उत्कृष्ट खेलाडीका रूपमा म्याराडोना र पेलेलाई विजेता बनाएको थियो । म्याराडोनाले पेलेसँगै एकै मञ्चमा उपाधि लिन नसक्ने बताए । 

त्यतिवेला म्याराडोनाले भनेका थिए, ‘यो उपाधिको हकदार केवल म मात्र हुँ, अरू कोही पनि हुन सक्दैन ।’ सन् १९८० देखि १९०० सम्मका फुटबलको माध्यमबाट सबैलाई मोहित बनाएका गत साता म्याराडोनाको हृदयाघातका कारण ६० वर्षको उमेरमा निधन भयो ।

उनको निधनसँगै विश्वका चर्चित खेलकर्मी शोकमा डुबे । 
म्याराडोनाको निधनमा धेरै दुःखी बनेकामध्ये पेले एक हुन् । यसकारण नै एक सातापछि पेलेले निकै भावुक हुँदै म्याराडोनाप्रति श्रद्धाञ्जली दिएका छन् । इन्स्ट्राग्राममा पेलेले म्याराडोनाको प्रशंसा मात्र गरेनन्, उनलाई संसारकै उत्कृष्ट खेलाडी बताएका छन् । 

फुटबलका जादुगर

पेलेले कहिलेकाहीँ मात्र म्याराडोनाबारे टिप्पणी गर्थे । त्यो त्यति तिखो हुँदैनथ्यो, जति म्याराडोनाले पेलेप्रति गर्थे । पेलेले इन्स्ट्राग्राममा म्याराडोनालाई महान् खेलाडीको संज्ञा दिएका छन् ।

म्याराडोनालाई फुटबलकै जादुगरा रूपमा पेले लिन्छन् । उनी लेख्छन्, ‘तपाईंले हामीलाई छाडेर जानुभएको आज सात दिन भयो, धेरैजसो व्यक्तिले हामीबीच तुलना गर्छन्, तर वास्तवमा म्याराडोना एक प्रतिभाशाली व्यक्तिका रूपमा लिएको छु, जसले फुटबलको माध्यमबाट मन्त्रमुग्ध बनायो ।’ 

तुलना हुन नसक्ने

मिडिया र समर्थकहरूले दुई खेलाडीबीच फरक टिप्पणी गरे पनि आफूबीच द्वेष भावना नरहेको पेलेको भनाइ छ । पेले र म्याराडोनाबीच कहिले पनि तुलना हुन नसक्ने पेलेले दाबी गरेका छन् । 

उनी भन्छन्, ‘मलाई थाहा छ, हाम्रो कला र क्षमताबारे औँल्याउने गर्छन्, तर मेरो विश्लेषणमा हामी दुईबीच त्यस्तो फरक केही छैन ।’ पेलेले म्याराडोनासँग कुनै खेलाडीको तुलना हुन नसक्ने जनाए ।

‘मलाई थाहा छ, संसार बिस्तारै राम्रो हुँदै गइरहेको छ, हामी एक–अर्काबीच तुलना र प्रशंसा गर्न सक्छौँ, तपाईं (म्याराडोना)को योगदान धेरै छ, म भन्न चाहन्छु म्याराडोनाको तुलना अन्य खेलाडीसँग हुन सक्दैन, किनभने म्याराडोना तुलना गर्न मिल्ने खेलाडी होइन, ऊ यो संसारकै विशेष खेलाडीमा पर्छ,’ म्याराडोनालाई प्रशंसा गर्दै पेलेले लेखे । 

सधैँ असल मित्र 

म्याराडोनाले भनेका नराम्रा शब्दलाई पेलेले कहिले पनि मनमा राखेनन् । उनी केवल हाँसेरै त्यसलाई बिर्सन्थे । 

पेलेले इन्स्ट्राग्रामको माध्यमबाट म्याराडोना एक असल तथा महान् साथी भएको खुलासा गरेका छन् । उनी लेख्छन्, ‘तपाईं एकजना यस्तो व्यक्ति हुनुहुन्छ, जसको खुट्टामा बल परेपछि जादुगरले जस्तै नचाउनुहुन्छ, एक महान् लिजेन्ड आज हामीमाझ छैन, मेरो लागि म्याराडोना एक असल मित्रकै रूपमा रहनेछ र विश्वसामु म गर्वका साथ भन्न सक्छु आई लभ यु डिएगो ।’ 

पेलेले म्याराडोनाको निधनबाट स्तब्ध भएको बताएका छन् । ६० वर्षको उमेरमै म्याराडोनाको निधन हुने कल्पनासमेत नगरेको उनको भनाइ छ । भन्छन्, ‘फरक किसिमले हामीलाई फुटबलको माध्यमबाट मनोरञ्जन दिलाउनुभयो, म्याराडोना यति छिट्टै संसारबाट बिदा हुन्छ भन्ने विश्वास नै थिएन, म यति मात्र लेख्न सक्छु, आई लभ यु।’ 

स्वर्गमा एकै टोलीबाट खेल्ने

म्याराडोनाको निधनबाट पेले कति दुःखी र भावुक बनेका छन् भन्ने उनको इन्स्ट्राग्रामबाट स्पष्ट हुन्छ । पेले आफ्ना प्रत्येक लाइनमा म्याराडोनाको प्रशंसा मात्र गरेका छन् । समर्थक र मिडियाले दुई खेलाडीबीच फरकता ल्याएको पेले मान्छन् ।

 खेलमैदान, मिडिया र समर्थकभन्दा बाहिरको जीवनमा पेले र म्याराडोनाबीचको सम्बन्ध असल साथीका रूपमा रहेको पेले बताउँछन् । जीवित रहँदा पेलेले म्याराडोनालाई एक असल मित्र रहेको बताउन सकेनन् । यो पक्षमा पेले अत्यन्तै दुःखी छन् । उनी लेख्छन्, ‘अचानक जानुभयो, कहिले भन्ने मौका नै पाइनँ, तपाईं मेरो एक असल मित्रमा पर्नुहुन्छ ।’ 

पेलेले पुनः एकपटक स्वर्गमा म्याराडोनासँग एकै टोलीबाट खेल्ने स्मरण गराएका छन् । ‘पृथ्वीमा हामी दुई कहिले पनि एकै टोलीबाट खेल्ने अवसर पाएनौँ, तर स्वर्गमा म्याराडोना र पेले एकै टोलीबाट खेल्नेछ, यो पहिलोपटक हुनेछ, म त्यो दिन एक हात उठाएर र विनागोल नै म्याराडोनालाई अँगालो हाली खुसी मनाउनेछु,’ पेलेले भने । 

एजेन्सीको सहयोगमा