मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ मङ्सिर २२ सोमबार २०:२४:००
Read Time : > 3 मिनेट
फिचर डिजिटल संस्करण

म्याराडोनाको उत्तराधिकारी को ? सम्पत्ति कति ?

Read Time : > 3 मिनेट
२०७७ मङ्सिर २२ सोमबार २०:२४:००

विश्व फुटबलका चर्चित एवं विवादास्पद खेलाडी डिएगो म्याराडोनासँग सम्बन्धित धेरै विषय अझै रहस्यमयी नै छन् । शताब्दीकै सर्वोत्कृष्ट खेलाडी म्याराडोनाका जीवन र परिवारसँग सम्बन्धित धेरै विषयमा आमनागरिकको चासो भए पनि अनुमान मात्रै लगाउने गरिएको पाइन्छ । 

म्याराडोनाको जीवन धेरैलाई एउटा महत्वपूर्ण पाठ पनि हो । किनकि एक सफल खेलाडी कुलतमा फसेकै कारण वा नराम्रो बाटो पछ्याउँदा कसरी ओरालो लाग्छ भन्ने उदाहरण म्याराडोना हुन् । गत साता हृदयाघातका कारण उनको ६० वर्षको उमेरमै निधन भयो । अर्जेन्टिनी सरकारले उनको निधनमा तीन दिन शोक मनाउने घोषणा गरेको थियो । राष्ट्रिय सम्मानसहित सरकारले उनको अन्त्येष्टि पनि गरेको थियो ।

म्याराडोनाको अप्रत्याशित निधनसँगै धेरैका प्रश्न छन् ? म्याराडोनाका उत्तराधिकारी को हुन् ? मैदानबाहिर विवादास्पद छवि तथा महिलासँग बढी समय बिताएका कारण उनका कति जना सन्तान छन् ? र, उनको सम्पत्तिमाथि हक जमाउने को हुन् भन्ने यकिन छैन । तर, अदातलको फैसला तथा पारिवारिक स्रोतको भनाइको आधारमा हालसम्म आठजनाले म्याराडोनाको सन्तान भएको दाबी गरिरहेका छन् । म्याराडोनाका ती आठ सन्तान ६ महिलाबाट जन्मिएका हुन् । अहिले यी आठै सन्तान आफू उत्तराधिकारी भएको दाबी गर्दै अगाडि आएका छन् । स्थानीय समाचार एजेन्सीहरूका अनुसार म्याराडोनाको शेषपछि सन्तानले प्राप्त गर्ने सम्पत्तिको भाग लगाउन सबै कानुनी उपचार तथा डिएनए परीक्षणको प्रयास भइरहेको छ । 

म्याराडोनाका वकिलले दिवंगत आफ्ना क्लाइन्टको सम्पत्ति र उत्तराधिकारी कति छन् भन्ने केही पनि उल्लेख गरेका छैनन् । ‘मेरो अनुमानमा म्याराडोनाका उत्तराधिकारी पाउन मुस्किल छ, यसको समाधान निकाल्न गाह्रो छ,’ म्याराडोनाका निजी वकिल इलियास केइरले भने, ‘म पनि आधिकारिक उत्तराधिकारीको खोजीमा छु, जुन छिटोभन्दा छिटो सार्वजनिक गर्ने प्रयासमा छु ।’ 

को–को हुन् सन्तान ?

खेलमैदानमा जत्तिकै निजी जीवनमा पनि म्याराडोना निकै रसिक थिए । बार्सिलोना तथा नेपोलीबाट व्यावसायिक फुटबल खेल्दा म्याराडोनाबाट गर्भवती हुने महिला निकै रहेको ब्रिटिस मिडियाहरूले कुनै समय दाबी गरेका थिए । एकपटक त म्याराडोनाकी एक छोरीले नै ठट्टा गर्दै भनेकी थिइन्, ‘अर्जेन्टिनी पूर्वमिडफिल्डर तथा विश्व च्याम्पियन कप्तानका यति सन्तान छन् कि सबै संकलन गर्दा फुटबल टोली नै बन्नेछ ।’ 

म्याराडोनाले लामो समयसम्म केवल दुई सन्तान मात्र भएको बताइरहे । उनले ३१ वर्षीया जियिन्ना तथा ३३ वर्षीय डाल्मा मात्र आधिकारिक सन्तान भएको विश्वलाई भनिरहे । यसबाहेक अन्य सन्तान आफ्नो नभएको उनको भनाइ थियो । जियिन्ना र डाल्मा उनकी पूर्वश्रीमती क्लाउडिया भिल्लासेफबाट जन्मिएका हुन् । 

म्याराडोनाले क्लाउडियासँगको २० वर्षको वैवाहिक जीवन सन् २००३ मा विच्छेद गरे । तर, म्याराडोनाले अन्तिम समयमा केही सीप नलागेपछि डाल्मा र जियिन्नाबाहेक अन्य ६ सन्तान भएको पनि स्वीकार गरेका थिए । सन् २०१० मा मात्र म्याराडोनाले ३४ वर्षीय डिएगो जुनियर तथा २४ वर्षीय जाना पनि सन्तान भएको बताए । डिएगो तथा जानाले पनि विश्वकपविजेता नै आफ्नै बुबा भएको स्विकारेका छन् । डिएगो र जानालाई पनि अदालतको फैसलापछि मात्रै म्याराडोनाले सन्तानको रूपमा स्विकारेका थिए । सन् २०१३ मा म्याराडोनाले दोस्रो छोराको रूपमा डिएगोलाई स्विकारेका हुन् । अहिले डिएगो फर्नान्डो सात वर्षका भएका छन् । अच्चमको कुरा के थियो भने एक वर्षअघि (२०१९) मा म्याराडोनाले डिएगोबाहेक अन्य तीनजना सन्तान क्युबामा रहेको खुलासा गरे । सन् २००० मा उपचारका क्रममा म्याराडोना क्युवामा थिए । त्यही क्रममा सान्टियागो लारा र मागाली गिल जन्मिए । यी दुवैले म्याराडोनालाई नै आफ्ना पिता मान्छन् । अर्जेन्टिना, युरोप तथा क्युवामा म्याराडोनाका सन्तानहरू भएकाले आधिकारिक रूपमा उत्तराधिकारी पत्ता लगाउन जटिल बनेको वकिल इलियासले बताए । 

कति सम्पत्ति होला ?

जसरी आधिकारिक रूपमा म्याराडोनाका उत्तराधिकारी को हुन् भन्ने स्पष्ट छैन त्यसैगरी उनीसँग कति सम्पत्ति छ भनेर पनि यकिन छैन । मिडिया आउटलेट्सले म्याराडोनाका दुई किसिमको सम्पत्ति निकालेको छ । पहिलो व्यावसायिक फुटबल करिअरबाट प्राप्त पारिश्रमिक र दोस्रो खेलकुदमा प्राप्त गहना । 

बेलायती समाचार एजेन्सीहरूले म्याराडोनाले करिअरमा सय मिलियन पाउन्ड कमाएको उल्लेख गरेका छन् । यो भनाइलाई अर्जेन्टिनी मिडियाले पनि साथ दिएका छन् । म्याराडोनाको खेलजीवनमाथि नै रिपोर्टिङ गरेका खेल पत्रकार जुलियो चिप्पेटाले मिडियामा आएका सम्पत्तिको कुनै स्रोत नभएको बताएका छन् । खर्चिलो तथा मनोरञ्जनपूर्ण संसारमा रमाउन मन पराउने म्याराडोनाको निधनको समयमा खातामा केवल पाँच लाख पाउन्ड मात्र रहेको पत्रकार जुलियोले बताएका छन् । 

केही अर्जेन्टिनी मिडियाहरूले आफूसँग भएका डाटाअनुसार म्याराडोनाको सम्पत्ति सार्वजनिक गरेका छन् । जस्तो कि वेभेल्ली हिल्स मासन म्याराडोनाकै नाममा छ । यसैगरी रोल्स रोयस घोस्टको मूल्य तीन लाख ६० हजार डलर रहेको छ । यसैगरी म्याराडोनाले चढ्ने बिएमडब्ल्यूको मुल्य एक लाख ७५ हजार पाउन्ड छ । यसैगरी बेलारुसमा म्याराडोना भ्रमण गर्दा त्यहाँका स्थानीयले उनलाई महँगा गाडी उपहार दिएका थिए ।

म्याराडोनाले अक्सर लगाउने औँठीको मूल्य तीन लाख ६० हजार डलर पर्छ । अर्जेन्टिनाको प्रसिद्ध कम्पनीका ब्रान्ड एम्बास्डर रहँदा म्याराडोनाले दशौँ लाख डलर कमाएको स्थानीय एजेन्सीले जनाएका छन् । यता न्युयोर्क टाइम्सले सन् १९९० को रिपोर्टलाई आधार मानेर म्याराडोनाले तत्काल इटाली क्लब नेपोलीबाट प्रतिमहिना पारिश्रमिक रूपमा ३० हजार पाउन्ड लिन्थे । यसैगरी विज्ञापन तथा क्लबको प्रचारप्रसारबाट वार्षिक थप आठदेखि १० लाख पाउन्ड पाउँथे । 

इटालीले एकातिर म्याराडोनालाई रातारात हिरो तथा महँगो खेलाडी बनायो । त्यसरी नै उनलाई नायकबाट खलनायक बनाउने काम पनि इटालियन मिडियाले नै गरे । सन् २००५ मा इटालीको एक अदालतले म्याराडोनाले नेपोलीमा रहँदा इटाली सरकारलाई ३७ लाख २० हजार पाउन्ड कर तिर्न बाँकी रहेको फैसला सुनाएको थियो । यस विषयमा म्याराडोना र नेपोलीबीच लामै विवाद चलिरह्यो । 

न्युयोर्क टाइम्सले युरोपियन मिडियाहरूको डाटाअनुसार म्याराडोनाको सम्पत्ति सार्वजनिक गरे पनि म्याराडोनाकै साथी तथा पत्रकार लुइस भेन्टुराले उनी कंगाल अवस्थामा निधन भएको दाबी गरेका छन् । लुइस भन्छन्, ‘म्याराडोनाले आफ्नो जीवनमा बैंक ब्यालेन्स राखेन, अत्यधिक खर्च गर्ने बानी थियो, मन परेकालाई दिल नै खुलेर सहयोग गर्ने किसिमको थियो, यसकारण साथी म्याराडोना गरिब अवस्थामा मरेर गयो ।’ म्याराडोना कहिले पनि सहयोग गरेको रकम नमाग्ने स्वभावका रहेको उनले बताए । 

कसरी बाँडिनेछ सम्पत्ति ?

जिन्दगीभर म्याराडोनासँग पूर्वसाझेदार र तिनका बच्चासँग केही सार्वजनिक विवाद थिए । सबै पक्षहरूले उनीहरूको गुनासो सोसियल मिडिया वा अर्जेन्टिना टिभीमा प्रसारण गरे । म्याराडोनाको स्वास्थ्य र धनसम्पत्ति प्रायः झगडाको दुईवटा स्रोत हुन् । उदाहरणका लागि नोभेम्बर २०१९ मा म्याराडोनाले आफ्नो सम्पत्तिलाई संकेत गरेपछि उनकी छोरी जियान्नालाई भनेका थिए, ‘म केही छोड्ने छैन, म सबै बाँडेर जाँदै छु ।’ 

– एजेन्सीको सहयोगमा