लकडाउनबाट अतिप्रभावित भएका परिवारलाई आएको राहत सामग्री वितरण नहुँदै कुहिएको छ ।
बाराको परवानीपुर गाउँपालिका– ३ लिपनिमालमा लकडाउनले प्रभावित विपन्न परिवारलाई वितरण गर्नका लागि आएको राहत जनप्रतिनिधिको लापरबाहीका कारण कुहिएको हो ।
प्रदेश सरकारले दोस्रो चरणमा पठाएको राहत प्याकेटमध्ये अधिकांश राहत कुहिएको छ । विगत लामो समयदेखि जनप्रतिनिधिले वितरण नगरेर आलटाल गरेपछि राहत कुहिएको स्थानीयवासीले बताएका छन् ।
स्थानीयका अनुसार जनप्रतिनिधिले आफ्नो निकटका कार्यकर्तालाई राहत वितरण गर्ने तयारी गरेका थिए । आफ्नालाई मात्रै राहत दिने विषयमा विरोध भयो । विराेध भएपछि वितरण कार्य राकियो । जनप्रतिनिधिका कारण विपन्न परिवारलाई आएको राहत वितरण हुनुपूर्व नै कुहिएर खान नमिल्ने भएको छ ।
किन वितरण भएन राहत ?
प्रदेश २ सरकारले दोस्रो चरणमा घरेलु तथा साना उद्योग कार्यालयमार्फत उपलब्ध गराएको राहत प्याकेट जनप्रतिनिधिले आफ्ना निकटलाई वितरण गर्न नसकेपछि कुहिएको छ । लिपनिमालको श्रीभोज भगत माविको भवनमा विगत चार महिनाभन्दा बढी समयदेखि राखिएको राहत अहिलेसम्म वितरण नहुँदा कुहिएर गनाउन थालेको छ ।
प्रदेश २ बाट आएको राहत घरेलु तथा साना उद्योग बाराले एकमुस्ट परवानीपुर गाउँपालिकालाई राहत सामग्री बुझाएको थियो ।
गाउँपालिकाले विभिन्न वडा कार्यालयमा राहतको प्याकेट पठाए पनि वडा नं. ३ लिपनिमालमा राहत वितरण नहुँदा कुहिएको स्थानीय राजेश यादवले बताए ।
लकडाउनबाट प्रभावित गरिब, दलित, अपांगलगायत परिवारलाई राहत दिनुपर्नेमा जनप्रतिनिधिले आफ्ना निकटलाई राहत दिने मनसाय बनाएका कारण राहत कुहिएको उनले बताए ।
राहत उपलब्ध भएको समयमा वितरण गर्नुपर्ने भए पनि विद्यालय भवनमा राखेर कुहिएर गनाउने गरेको यादवले बताए । घरेलु कार्यालयमार्फत आएको एक सय ८५ वटा राहतको प्याकेजमा एक सयभन्दा बढी वितरण नहुँदै कुहिएको हो ।
प्राविधिक समस्याले वितरण हुन सकेन
राहत वितरण कुहिएको विषयमा जनप्रतिनिधि बेखबर रहेको बताए । गत असारमा आएको राहत सामग्री वितरण भएको वा नभएको विषयमा पालिकाका जनप्रतिनिधि नै बेखबर भएको दाबी गरे ।
परवानीपुर गाउँपालिकाका अध्यक्ष हरिनारायण साहले राहत पठाएको लामो समयसम्म वितरण नगरेर कुहाएको विषयमा आफूलाई जानकारी नभएको बताए ।
गाउँपालिकाले एकैपटक सबै वडामा राहत पठाएकाले कहाँ वितरण भएको र कहाँ वितरण नभएको भन्ने विषयमा आफू जिम्मेवार नरहेको गाउँपालिका अध्यक्ष साहले प्रतिक्रिया दिए । उनले राहत वितरण गर्ने जिम्मेवारी वडाध्यक्षहरूको रहेकाले त्यसको जवाफ आफूसँग नभएको बताए ।
यस्तै परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनील चौरसियाले गाउँपालिकामा आएको राहत वितरण भएको वा नभएको विषयमा आफूलाई जानकारी नभएको बताए । उनले आफूले केही महिनाअघि मात्र गाउँपालिकामा जिम्मेवारी पाएकाले उक्त विषयमा जानकारी नभएको बताए । अब जानकारी भएपछि बुझेर थप कुरा जानकारी गराउने प्रमुख प्रशासकीय अधिकृत चौरसियाले भनाइ थियो ।
ढिलो गरेर राहत वितरण नभए पनि अहिलेसम्म खान अयोग्य नभएको गाउँपालिका– ३ लिपनिमालका वडाध्यक्ष अनिल रामले बताए । उनले प्राविधिक समस्याका कारणले हालसम्म वितरण हुन नसकेको स्विकारे । वडाध्यक्ष रामले आएको राहतमध्ये केही प्याकेट मात्र राहत अहिले वितरण हुन बाँकी रहेको दाबी गरे ।
पत्रकारले सूचना पाएपछि लुकाइयो
विगत लामो समयदेखि राहत वितरण नभएको र थन्क्याएर राखिएको सूचना पत्रकारले पाएपछि उक्त स्थानबाट राहतको प्याकेट हटाइएको छ ।
मंगलबार दिउँसो पत्रकारसहित स्थानीयवासीले हालसम्म राहत वितरण नभएको र लुकाएर राखिएको सूचना पाएर पुगेपछि त्यसको केहीबेरमा राहतको प्याकेट हटाइएको स्थानीयवासीले बताए ।
स्थानीयका अनुसार जनप्रतिनिधिको निर्देशनमा पार्टीका केही कार्यकर्ताले विद्यालयबाट उक्त राहत प्याकेट हटाएर अन्य ठाउँमा लगेका छन् । वितरण नगरी राखिएकाे सयभन्दा बढी प्याकेटमध्ये ८० वटा प्याकेट हटाइएको छ ।