मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
बेनी अस्पतालको अल्पत्र बनेको निर्माणाधीन भवन ।
कमल खत्री म्याग्दी
२०७७ मङ्सिर ६ शनिबार १६:१९:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निर्माण व्यवसायी महासंघका अध्यक्षले ठेक्का लिएकै योजना अलपत्र ! 

Read Time : > 2 मिनेट
कमल खत्री, म्याग्दी
२०७७ मङ्सिर ६ शनिबार १६:१९:००

म्याग्दी सदरमुकाम बेनीमा निर्माणाधीन बेनी अस्पतालको भवनकाे निर्माणकार्य अलपत्र परेको छ । 

०७६ मंसिरभित्रै निर्माणकार्य सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । तर, निर्माण सम्पन्न गर्ने समय सकिएर एक वर्ष बितिसक्दासमेत अस्पतालको भवन अलपत्र अवस्थामा छ । 

यस योजनाको ठेक्का निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहले लिएका छन् । 

१५ शय्याबाट स्तरवृद्धि गरी ५० शय्याको अस्पताल बनाउन सुरु गरिए पनि भवनको पूर्वाधार निर्माणकार्य सुस्त भएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । 

अध्यक्ष कटुवालले भने, ‘म्याद थप भएको अवधिबाट पनि थप ६ महिना गुज्रिसकेको छ, काम भने ३० प्रतिशतको हाराहारीमा मात्रै सकिएको छ, दैनिक ८–१० जना कामदार काममा खटिएका छन्, यस्तो गतिले वर्षौँसम्म पनि योजना सम्पन्न नहुने निश्चित छ ।’

निर्माण कम्पनीले काम नरोकेको भए पनि गति दिने गरी जनशक्ति पनि खटाएको छैन । भवनको दुई तला ढलानको समेत सबै काम सकिएको छैन । निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्षले ठेक्का लिएको योजना अलपत्र पर्नुले विकास निर्माणमा निर्माण व्यवसायीको वास्तविक चरित्र उजागर भएको स्थानीय बताउँछन् । 

निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि कार्यक्षेत्रमा समेत आउन छाडेपछि भवनको निर्माणकार्य औपचारिकताका लागि मात्रै जारी राखेर अन्य काम अघि बढाइएको छैन । 

तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङसँग ०७३ पुस २१ मा महासंघका केन्द्रीय अध्यक्ष सिंहसमेतको महादेव खिम्ती, गल्वा रफिना जेभीले रु. १८ करोड ९० लाखमा ठेक्का सम्झौता गरेको थियो । 

०७६ मंसिरभित्र निर्माणकार्य सम्पन्न गर्ने सम्झौताअनुसार कार्यक्षेत्रमा परिचालन भएको सो कम्पनीले साढे १ वर्ष त भवनको जग बसाल्नमै खर्चिएको थियो ।  

भवन पूर्वाधार योजना अल्पत्र परेपछि चौतर्फी चासो र चिन्ता बढेको छ । हिमाली जिल्लामै शल्यक्रियासहितको स्वास्थ्य सेवा प्रवाहमा अब्बल मानिएको बेनी अस्पतालमा अहिले सुविधासम्पन्न भवन निर्माण योजना अलपत्र पर्दा अस्थायी टहराबाट सेवा प्रवाह भइरहेको छ। 

प्रधानमन्त्रीका विकास सल्लाहकारबाट ठेकेदारको ध्यानाकर्षण

अलपत्र बनेको भवनको शनिबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेल र प्रधानमन्त्रीका विकास सल्लाहकार गजेन्द्र थपलियाले स्थलगत निरीक्षण गरेका छन् । 

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर सडक र मध्यपहाडी लोकमार्गको अनुगमनको सिलसिलामा म्याग्दी आइपुगेका उपाध्यक्ष कँडेल र सल्लाहकार थपलियाले बेनी अस्पताल परिसरमा निर्माणधीन अवस्थामै अलपत्र बनेको अस्पताल भवनको निरीक्षण गरेका थिए । 

सो क्रममा सल्लाहकार थपलियाले ठेक्का लिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहलाई फोनमार्फत योजनाबारे ध्यानकर्षण गराएका थिए ।

थपलियाले सिंहलाई फोनमार्फत भने, ‘हामी तपाईंको जिम्मामा रहेको बेनी अस्पतालको भवन परिसरमा छौँ, समय थप गर्दा पनि काम अलपत्र रहेछ, कामदार पनि न्यून रहेछन् । यसलाई जतिसक्दो चाँडो सम्पन्न गर्नतर्फ ध्यान दिनुहोला ।’ 

उनले कुनै पनि बाहना बनाएर योजनालाई अलपत्र छाड्ने काम नगर्न ध्यानाकर्षण गराउँदै तत्काल कार्यक्षेत्रमा जनशक्ति र स्रोत साधन बढाएर कार्यक्षेत्रमा परिचालन हुन निर्देशन दिएका थिए । 

यस्तो छ भवनको डिजाइन

अत्याधुनिक भवनमा एक तला अन्डरग्राउन्डसहित तीनतले भवन निर्माण हुनेछ । पहिलो तलामा ओपिडी, दोस्रोमा इन्डोर र तेस्रोमा प्रशासनिक कार्यालय रहने गरी डिजाइन गरिएको छ ।

जिल्लाकै ठूलो बेनी अस्पतालको स्तरोन्नतिसहित सुविधासम्पन्न पूर्वाधार बन्ने योजना कार्यान्वनयपछि उत्साहित बनेका जिल्लावासी यतिवेला भवन निर्माण योजनाले गति लिन नसक्दा चिन्तित बनेको जिसस प्रमुख देवेन्द्रबहादुर केसीले बताए । उनले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा भवन निर्माणकाे काममा ढिलाइ हुनु निकै दुःखद भएको बताए । 

नयाँ भवन निर्माण गर्दा बहिरंग, प्रशासनिक, प्रसूति, डेन्टललगायतका सेवा प्रवाह हुँदै आएको छ । पुराना संरचना भत्काइएको र नयाँ भवनको पूर्वाधार अलपत्र पर्दा सर्वसाधारणलाई लामो समयसम्म अस्थायी पूर्वाधारबाट सेवा दिनुपर्ने बाध्यता छ । कतिपय सेवा अस्पतालको अस्थायी संरचनाले नथेगेपछि स्वास्थ्य कार्यालयको भवनमा सारिएको छ ।