
सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले धोबीखोला करिडोरको निरीक्षण गरेपछि सडकमा बनेका खाल्डाखुल्डी एक हप्ताभित्र पुर्न निर्देशन दिएका छन् । शुक्रबार मन्त्रीको नेतृत्वको टोलीले धोबीखोला करिडोरको दाँया र बायाँ गरी २४ किलोमिटर सडकको भौतिक अवस्थाबारे स्थलगत निरीक्षण गरेको छ । ‘अबको एक हप्तामा करिडोरमा देखिएका यस्ता खाल्डाखुल्डी तत्काल पुरिनुपर्छ, हजारौँ सवारीसाधन सञ्चालन हुने बाटोको अवस्था यस्तो हुनुहुँदैन, तत्काल निर्माण गरिनुपर्छ,’ मन्त्री श्रेष्ठले भने ।
मन्त्रीले निर्देशन दिएलगत्तै धोबीखोला करिडोर आयोजना प्रमुख तथा उपत्यका विकास प्राधिकरणका आयुक्त डा. भाइकाजी तिवारीले कालोपत्रे भएका र बढी खोल्डाखुल्डी देखिएका सडकमा एक साताभित्र पुरिसक्ने बताए ।
मन्त्री श्रेष्ठसहितको टोलीले ललितपुर र काठमाडौंको सिमाना शंखमूल बुद्धनगरस्थित आर्कबृजबाट अवलोकन सुरु गरेको थियो । पुलमुनि अन्डरपास निर्माण प्रक्रिया सुरु गर्न पनि मन्त्रीले निर्देशन दिए । सवारी चाप हुने यस्तो क्षेत्रमा अन्डरपास निर्माणमा ढिलाइ गर्न नहुने उनको भनाइ छ ।
करिडोरले छोएका अधिकांश पुलमुनि अन्डरपास निर्माण भए पनि सो पुलमुनि फोहोर थुप्रिएको छ । नजिकैको बाटोमा ग्यारेज बनाइएको छ । निरीक्षणको क्रममा मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले एक वर्षभित्र अन्डरपास निर्माण हुने जानकारी दिए ।
निरीक्षणको क्रममा चाबहिलस्थित ओम अस्पताल पुगेका मन्त्री श्रेष्ठले बाटोमा मंगाल (ठूलो खाल्डो) देखेपछि दुर्घटना भएको जिम्मेवार हुने भनेर आयोजना प्रमुखलाई प्रश्न गरे ? मन्त्रीको प्रश्नमा आयोजना प्रमुख डा. तिवारीले तत्काल मंगाल छोप्ने बताए । मन्त्री श्रेष्ठले दुर्घटना हुनबाट जोगाउन बाटोमा देखिएका यस्ता मंगाल र खाल्डाखुल्डी पुर्न निर्देशन दिए ।
करिडोरभित्र पर्ने पुलमुनि फोहोर थुपारिएको, फुटपाथमा व्यवसाय सञ्चालन गरिएको, विद्युत् प्राधिकरण र मेलम्ची खानेपानी आयोजनाले पाइप बिच्छ्याएको थियो । अधिकारक्षेत्र मिचेर धमाधम निर्माण गरिरहेको निकायसँग तत्काल समन्वय गर्न मन्त्रीले आयोजनाका अधिकारीलाई निर्देशन दिए ।
टोलीले धोबीखोला करिडोर सुरु भएको बुढानीकण्ठदेखि काठमाडौं र ललितपुरका सिमाना शंखमूलसम्म निरीक्षण गरेको छ । निरीक्षण क्रममा सचिव डा. सिंहले करिडोर क्षेत्रमा हरियाली कायम गर्ने, फुटपात व्यवस्थित गर्ने र खाल्डाखुल्डी पुर्ने काम एक साताभित्र सकिनेगरी काम थालिने बताए । विकास प्राधिकरणका प्रमुख डा. तिवारीले एक वर्षभित्र करिडोरको सम्पूर्ण काम सम्पन्न हुने जानकारी दिए ।
अवलोकनको क्रममा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले करिडोर निर्माण कार्यलाई द्रुतगतिमा अघि बढाउनुपर्ने सुझाब दिए । स्थलगत अवलोकनमा मन्त्रीसहित प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख डा. भाइकाजी तिवारीलगायत थिए ।