मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ मङ्सिर ५ शुक्रबार
  • Thursday, 10 July, 2025
गणेश लम्साल विराटनगर
२o७७ मङ्सिर ५ शुक्रबार o९:४३:oo
Read Time : > 2 मिनेट
प्रदेश प्रिन्ट संस्करण

प्रदेश १ मा खैरो हेरोइनका  प्रयोगकर्ता बढे

Read Time : > 2 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७७ मङ्सिर ५ शुक्रबार o९:४३:oo

प्रदेश १ को पूर्वीनाका झापाको काँकडभिट्टाबाट सबैभन्दा बढी प्रतिबन्धित महँगो लागुऔषध खैरो हेराइन र ब्राउन सुगरको तस्करी हुने गरेको छ

प्रदेश १ मा मेडिकल ड्रग्स प्रयोग गर्दै आएका लागुऔषध दुव्र्यसनीले प्रतिबन्धित महँगो लागुऔषध खैरो हेराइन र ब्राउन सुगर प्रयोग गर्न थालेका छन् । पहिले मेडिकल ड्रग्स सेवन र ओसारपसार गर्नेलाई पक्राउ गरेर कानुनी कारबाही चलाउँदै आएको प्रदेश १ मातहतको प्रहरीले निरन्तर ब्राउन सुगर र खैरो हेरोइन ओसारपसार गर्नेलाई पक्राउ गर्न थालेपछि दुव्र्यसनीले महँगो लागुऔषध प्रयोग गर्न थालेको खुलेको हो । 

प्रदेश १ को पूर्वी नाका झापाको काँकडभिट्टाबाट सबैभन्दा बढी प्रतिबन्धित महँगो लागुऔषध खैरो हेरोइन र ब्राउन सुगरको तस्करी हुने गरेको छ । प्रदेश १ मा खैरो हेरोइन चालू आर्थिक वर्षमा ६ ग्राम ३ सय मिलिग्राम, ०७६/७७ मा ५९ ग्राम नौ सय ५६ मिलिग्राम र ०७५/७६ मा आठ सय ५६ ग्राम नौ सय पाँच मिलिग्राम बरामद गरेको छ । चालू आर्थिक वर्षमा ६ सय ३९ ग्राम आठ सय पाँच मिलिग्राम, आर्थिक वर्ष ०७६/७७ मा दुई केजी नौ ग्राम ७० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरी तथ्यांकमा उल्लेख छ । यसैगरी, आर्थिक वर्ष ०७५/७६ मा १८ केजी पाँच सय २० ग्राम, ०७६/७७ मा ६१ ग्राम आठ मिलिग्राम चरेस र ०७६/७७ मा एक केजी पाँच सय ग्राम अफिम प्रहरीबाट बरामद भएको छ । 

प्रहरीले चालू आर्थिक वर्षमा दुई सय आठजना पुरुष र चारजना महिला, ०७६/७७ मा सात सय ५२ पुरुष र ३५ महिला अनि ०७५/७६ मा आठ सय २२ पुरुष र २४ महिलालाई लागुऔषध ओसारपसार आरोपमा पक्राउ गरेको छ । पक्राउ परेकाहरू धेरैजसो खैरो हेरोइन र ब्राउन सुगर ओसारपसार गर्नेहरू छन् । प्रहरीका अनुसार प्रदेश १ मा भारतको पश्चिम बंगाल राज्यका नाकाबाट महँगो लागुऔषध खैरो हेरोइन र ब्राउन सुगर धेरै ओसारपसार हुने गरेको छ । यसैगरी, भारत बिहारसँग सिमाना जोडिएका विराटनगर–भन्टाबारी नाकाबाट मेडिकल ड्रग्सको ओसारपसार धेरै हुने गरेको छ । 

प्रयोगकर्तालाई नै भरिया बनाइँदै
लागुऔषध नियन्त्रण ब्युरो काठमाडौंका एसपी कृष्णकुमार महतका अनुसार हाल अन्तर्राष्ट्रिय बजारअनुसार खैरो हेरोइनको मूल्य प्रतिग्राम ६ देखि १० हजार र ब्राउन सुगरको मूल्य २० देखि ३० हजार रुपैयाँ छ । यसैले पहिले मेडिकल ड्रग्सको कारोबार फैलाउँदै आएका तस्करहरूले धेरै नाफा कमाउन महँगो लागुऔषध हेरोइन र ब्राउन सुगरको ओसारपसार गराउन थालेका हुन् । ओसारपसारमा सहज हुने र प्रयोगकर्ता पनि धेरै भएकाले तस्करहरूले सेवनकर्तालाई भरिया प्रयोग गरेर हेरोइन र ब्राउन सुगर नेपाल पठाउने गरेका छन् ।

केही सेवनकर्ता आफैँले खरिद गरेर पनि महँगो लागुऔषध बिक्री गर्ने गरेका छन् । जसबाट उनीहरूलाई मेडिकल ड्रग्सहरू ‘नाइट्रोसन र नाइट्रोभेट चक्की, एभिल, डाइजेपाम, लुपिजेसिक, नाइट्राजेपाम, फेनारगन डाइजेल्पालगायत एम्पुल र कोरेक्स, स्काफ अनि डाइलेक्स डिसी’लगायत सिरपहरूको कारोबारमा भन्दा धेरै नाफा हुने गरेको छ । अर्कोतिर, धनाढ्य युवाहरूले मेडिकल ड्रग्सभन्दा हेरोइन र ब्राउन सुगरको नसा बढी रुचाउने भएकाले नेपालमा यसको कारोबार बढ्दै गइरहेको छ।

सबैभन्दा बढी महँगो लागुऔषध ओसारपसार हुने जिल्ला झापाका प्रहरी प्रवक्ता डिएसपी राकेश थापा बढ्दो हेरोइन र ब्राउन सुगरको प्रयोग चिन्ताको विषय भएको बताउँछन् । उनका अनुसार केही वर्षदेखि ‘युजर’ (सेवनकर्ता) लाई नै भरिया बनाएर ‘युजरहरू’ बढाउने कार्य भइरहेको छ । जसका लागि ठूला कारोबारीले सस्तो मूल्यमा पनि महँगो लागुऔषध सेवन गराउन पठाउने गरेका छन् । यही क्रमले ओसारपसार भइरहेमा महँगो लागुऔषधको कारोबार नेपालमा ‘दिनदुना रातचौगुना’ले बढेर जानेछ । डिएसपी थापा भन्छन्, ‘अन्तर्राष्ट्रिय बजारमा महँंगो भए पनि नेपालमा भित्रिएका हेरोइन र ब्राउन सुगर ‘युजरको’ अवस्था हेरेर बिक्री गर्ने गरेको पाइएकाले पहिले सक्दो ‘युजर’ बढाउन अभियान थालेको त होइन भन्ने शंका भइरहेको छ ।’