१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ कार्तिक २४ सोमबार
  • Monday, 30 June, 2025
पर्वतको जिल्ला अस्पतालमा जडान गरी सञ्चालनमा ल्याइएको अक्सिजन प्लान्ट
२o७७ कार्तिक २४ सोमबार o८:५६:oo
Read Time : < 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

स्वरूप फेर्दै पर्वत अस्पताल

अक्सिजन प्लान्टसहित आइसियू र भेन्टिलेटर सुविधा सञ्चालन, अक्सिजन उत्पादन सुरु, डायलाइसिस सेवा नियमित हुँदा बिरामीलाई उपचारका लागि सहज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ कार्तिक २४ सोमबार o८:५६:oo

एक वर्षअघि ‘रेफर सेन्टर’जस्तै रहेको पर्वत अस्पतालको यतिवेला भने स्वरूपै फेरिएको छ । कोरोना भाइरस संक्रमण भएको गम्भीर बिरामीले समेत यहीँ उपचार पाइरहेका छन् । अघिल्लो वर्षसम्म सामान्य रोगका बिरामीलाई पनि आवश्यक सेवा सुविधा नभएपछि अन्यत्र रेफर गरिँदै आएको थियो । अहिले भने विभिन्न सुविधा थपिएसँगै स्थानीय बासिन्दाले जिल्लामै उपचार पाउन थालेका छन् । 

कोरोना महामारीसँगै अस्पतालमा अक्सिजन उत्पादन गर्ने प्लान्ट, आइसियू र भेन्टिलेटर सेवा थपिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा तीन बेड क्षमताको आइसियू र पाँच बेड क्षमताको भेन्टिलेटर स्थापना गरिएको छ । त्यस्तै, अक्सिजन प्लान्ट स्थापना भएपछि पोखरा, काठमाडौं बिरामी पठाउनुपर्ने अवस्थाको अन्त्य गर्न अस्पताल सफल हुँदै गएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले बताए । 

अस्पतालमा स्थापना भएको अक्सिजन जेनेरेसन प्लान्टबाट नियमित अक्सिजन उत्पादन गर्न थालिएको छ । गण्डकी प्रदेश सरकारको ६० लाख आर्थिक सहयोगमा प्लान्ट जडान गरिएको हो । अक्सिजन प्लान्टबाट उपकरण स्थापना गरी अस्पताललाई आवश्यक पर्ने अक्सिजन उत्पादन सुरु गरिएको हो । 

अक्सिजनको अभावमा अस्पतालले शल्यक्रियासमेत रोक्नुपरेको स्मरण गराउँदै अक्सिजन ढुवानी गर्न समस्या पर्दा बिरामी अन्यत्र पठाउनुपर्ने बाध्यताको अन्त्य भएको अध्यक्ष पहाडीले बताए । प्लान्टबाट उत्पादित अक्सिजन पाइपका माध्यमबाट सीधै शय्यासम्म पुर्‍याउने व्यवस्था अस्पताले मिलाएको छ । साउनदेखि सुरु भएको मिर्गौलाका बिरामीका लागि डायलाइसिस सेवा पनि प्रभावकारी बन्दै गएको छ । अहिले नियमित ६ जना बिरामीले डायलाइसिस सेवा लिइरहेको अस्पतालले जनाएको छ । 

सामाजिक विकास मन्त्रालयले प्रदेशका ११ वटै जिल्लामा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने योजना अघि सारेको स्वास्थ्य महाशाखा प्रमुख शम्भु ज्ञवालीले बताए । केही जिल्ला अस्पतालहरूले समयमा नै सेवा सञ्चालनमा ल्याएको भए पनि अधिकांश अस्पतालहरू प्रविधि जडान गर्न लागिरहेको उनको भनाइ छ ।