१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o८:१५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

काठमाडौं विश्वविद्यालयमा शुल्क विवाद : शुल्क घटाउन माग गर्दै विद्यार्थी रिले अनशनमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:१५:oo

लकडाउनका समयमा अनलाइन कक्षा सञ्चालन गरेको काठमाडौं विश्वविद्यालयले कक्षाकोठामै पठनपाठन गराएसरह शुल्क बुझाउन ताकेता गरेपछि विद्यार्थी विरोधमा उत्रिएका छन् । उनीहरूले आइतबारदेखि रिले अनशन सुरु गरेका छन् । विद्यार्थीले अनलाइन कक्षा सञ्चालनबापत मात्र शुल्क लिन विश्वविद्यालय प्रशासनमा लिखित आग्रह गरेका थिए । तर, प्रशासनले स्कुल अफ साइन्स र स्कुल अफ इन्जिनियरिङका विद्यार्थीले ३० कात्तिक र १५ मंसिरसम्म शुल्क बुझाए क्रमशः १० र सात प्रतिशत छुट दिने सूचना प्रकाशित गरेपछि उनीहरू आन्दोलित भएका हुन् ।

यसअघि विद्यार्थीको विभागीय क्लबले विज्ञप्ति प्रकाशित गरी पूर्ण शुल्क लिने निर्णय फिर्ता लिन विश्वविद्यालयसँग माग गरेको थियो । स्कुल अफ इन्जिनियरिङका शैलेश मिश्र, स्कुल अफ साइन्सका सिर्जना श्रेष्ठ, स्कुल अफ म्यानेजमेन्टका आयशा शाक्य र ‘स्कुल अफ ल’का सादाब खानको नेतृत्वमा विश्वविद्यालय प्रांगणमा रिले अनशन सुरु गरेका हुन् । पूर्ण शुल्क लिने निर्णय फिर्ता नभएसम्म अनसन जारी रहने उनीहरूले बताए ।

इन्जिनियरिङ र साइन्सका गरी दुई हजार ६ सय ८० विद्यार्थी छन् । यस्तै, ‘स्कुल अफ ल’मा दुई सय २५ र स्कुल अफ म्यानेजमेन्टमा सात सय विद्यार्थी छन् । कोभिड–१९ संकटका कारण दुवै संकायमा विश्वविद्यालयले अनलाइन कक्षा सञ्चालन गर्दै आएको छ । पढाइ नै नभएको विषय र अन्य क्रियाकलापको पनि शुल्क लिन खोजेकाले रिले अनशन सुरु गरिएको स्कुल अफ इन्जिनियरिङका विद्यार्थी शैलेश मिश्रले बताए । ‘अनलाइनबाट पठनपाठन भएको शुल्क पनि विद्यार्थीलाई मर्का नपर्ने गरी लिनुपर्ने हाम्रो माग हो,’ उनले भने, ‘कोभिड–१९ महामारीमा पनि सामान्य अवस्थामा जस्तो पूरै शुल्क बुझाउन विश्वविद्यालयले सूचना निकालेको छ । हामीले असहमति जनाउँदा पनि विश्वविद्यालयले नसुनेकाले आन्दोलनमा उत्रिन बाध्य भएका हौँ ।’

इन्जिनियरिङका विद्यार्थीबाट विश्वविद्यालयले ट्युसन शुल्कबाहेक २६ हजार बढी रकम असुल्न खोजेको मिश्रले बताए । ट्युसन शुल्क मासिक ५६ हजार रुपैयाँ बुझाउन आफूहरू तयार रहेको उनले बताए । ‘अनलाइन कक्षाबापत ट्युसन फीको ५६ हजार दिन्छौँ, तर कोरोनाका कारण लिँदै नलिएको सुविधाबापत शुल्क तिर्दैनौँ,’ उनले भने, ‘२६ हजार रुपैयाँ विश्वविद्यालयले छुट दिनुपर्छ ।’

विश्वविद्यालयले पुस्तकालय, खेलकुद, अतिरिक्त क्रियाकलाप, स्वास्थ्य बिमा, कम्प्युटर, पठन सामग्री, प्रयोगात्मक कक्षा, प्रयोगशाला, इन्टरनेटलगायत सबै शीर्षकमा शुल्क लिन खोजेकाले आन्दोलनमा उत्रिनुपरेको समाजवादी विद्यार्थी युनियन काठमाडौं विश्वविद्यालय कमिटीका केन्द्रीय सदस्य सौरभजंग थापाले बताए । ‘अनलाइनमार्फत पढेका विषयको शुल्क तिर्न हामी तयार छौँ, तर हामीले प्रयोग नगरेको कुनै पनि विषयको शुल्क तिर्दैनौँ,’ थापाले भने, ‘विश्वविद्यालयले शिक्षा दिने हो, व्यापार गर्ने होइन ।’

विश्वविद्यालयले २२ असोजमा प्रकाशित सूचना खारेज गर्नुपर्ने विद्यार्थीको माग छ । विद्यार्थीलाई मर्का नपर्नेगरी नयाँ शुल्कको सूचना निकाल्नुपर्ने ‘स्कुल अफ ल’की विद्यार्थी सुष्मिता तिमल्सिनाले बताइन् । ‘हामी पैसा बढी भएर यहाँ पढ्न आएका होइनौँ, पढाएको विषयको मात्र ट्युसन फी लिनुपर्छ,’ तिमल्सिनाले भनिन्, ‘हामीले अनलाइनबाट कक्षा लिएका छौँ, त्यसबापत तोकिएको ट्युसन फी तिर्छौँ । सुविधा नै नलिएको शीर्षकमा शुल्क तिर्दैनौँ ।’

विद्यार्थीको अनशनबारे प्रतिक्रिया लिन सम्पर्क गर्दा विश्वविद्यालयका रजिस्ट्रार सुबोध शर्माले फोन उठाएनन् । विश्वविद्यालयका सूचना अधिकारी हेमराज काफ्लेले आफू बिदामा भएकाले केही जानकारी नभएको बताए ।

ad
ad