१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २५ मंगलबार o९:३७:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपाली दूतावासले मागपत्र प्रमाणीकरण नगर्दा नेपालको रोजगारी गुम्न सक्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o९:३७:oo

वैदेशिक रोजगारीको गन्तव्य मुलुकका दूतावासले मागपत्र प्रमाणीकरण नगर्दा नेपालले रोजगारीको अवसर गुमाउन सक्ने अवस्था आएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले बताएका छन् । कोरोना संक्रमणको अहिलेको अवस्थामा पनि खाडीलगायत युरोपियन मुलुकबाट पनि रोजगारीको अवसर आउन थालेको छ । तर, दूतावासले मागपत्र प्रमाणीकरण नगर्दा रोजगारदाता अन्य मुलुकतर्फ मोडिएको उनले बताए । 

सरकारको निर्देशनअनुसार वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अन्तिम श्रम स्वीकृति खुला गरेको छ । तर, पूर्वस्वीकृति भने खुलाएको छैन । विदेशस्थित नेपाली दूतावासहरूले अझै मागपत्र प्रमाणीकरण सेवा सुरु नगर्दा विभागले नयाँ श्रम स्वीकृति नखुलाएको हो । लकडाउनअगाडि आएको मागपत्रलाई मात्रै विभागले अहिले अन्तिम स्वीकृति दिएको हो । महासचिव श्रेष्ठका अनुसार यतिवेला दुबई, साउदी अरब, रोमानिया, पोल्यान्ड, पोर्चुगल, क्रोएसियालगायतका मुलुकबाट नयाँ डिमान्ड आउन थालेको छ ।

कोरोना संक्रमणका कारण लामो समय आप्रवासी कामदारलाई प्रवेशमा रोक लगाएका केही मुलुकहरूले अहिले खुला गर्न थालेका छन् । केही मुलुकले नयाँ श्रमिकका लागि पनि प्रवेश खुला गरेका छन् भने केहीले बिदामा आएका श्रमिकलाई पुनः प्रवेशका लागि खुला गरेका छन् । साउदी अरब, दुबई, ओमान, बहराइनले मात्रै आप्रवासी श्रमिकलाई खुला गरेको छ । तर, मलेसिया, कतार, युएईलगायतका मुलुकले भने अझै पनि नयाँ श्रमिकका लागि प्रवेश खुला नगरेको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले बताए । 

 दूतावासलाई मागपत्र प्रमाणीकरणको निर्देशन दिन श्रम मन्त्रालयको परराष्ट्रलाई आग्रह 
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मागपत्र प्रमाणीकरण गरिदिन परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । सरकारले वैदेशिक रोजगार खुला गरे पनि सम्बन्धित मुलुकका दूतावासहरूले मागपत्र प्रमाणीकरण नगरिदिएको व्यवसायीहरूले गुनासो गरेपछि श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरी दूतावासहरूलाई यस्तो निर्देशन दिन आग्रह गरेको हो । 

कोरोना संक्रमणको जोखिम बढ्ने देखिएपछि नेपाल सरकारले गत २९ फागुनदेखि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति बन्द गरेको थियो । त्यस्तै, संक्रमणका कारण गन्तव्य मुलुकहरूले पनि आप्रवासी श्रमिकलाई प्रवेशमा रोक लगाए । तर, रोजगारीबाट बिदामा आएका श्रमिकहरूलाई केही मुलुकले प्रवेश खुला गरेपछि नेपाल सरकारले गत १८ असारबाट पुनः श्रम स्वीकृति र १४ भदौबाट नयाँ श्रम स्वीकृति खोल्ने निर्णय गरेको होे । मन्त्रिपरिषद्को बैठकले वैदेशिक रोजगार खुला गरे पनि दूतावासले भने माग प्रमाणीकरण नगरेको व्यवसायीहरूको गुनासो छ । 

 १ लाख ३३ हजार नेपाल फर्किए
कोरोना संक्रमणका कारण विभिन्न मुलुकमा गएका १ लाख ३३ हजार २ सय ५८ नागरिक नेपाल फर्किएका छन् । कोरोना संकट व्यवस्था केन्द्रको तथ्यांकअनुसार बिहीबारसम्ममा सो संख्यामा नागरिक नेपाल फर्किएका हुन् । बिहीबार मात्रै १ हजार १ सय ६९ नेपाल फर्किए । जसमध्ये कतारबाट १० जना विदेशी नेपाल आएका छन् । टर्कीबाट १७ र बंगलादेशबाट १ जना नागरिक नेपाल प्रवेश गरेका छन् । केन्द्रको तथ्यांकअनुसार गत असोज महिनामा सबैभन्दा धेरै ४५ हजार २ सय ३० जना नेपाल  फर्किएका छन् । त्यस्तै, असारमा २८ हजार १ सय २५, साउनमा २३ हजार ३ सय १६ र भदौमा १४ हजार ८ सय ७८ जना नेपाल फर्किएका छन् ।

ad
ad