१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
जीवन बस्नेत काठमाडौं
२०७७ कार्तिक १८ मंगलबार ०७:२०:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

वर्षाले सडक र पुलमा मात्र कुल ३ अर्बको क्षति

अरनिको राजमार्गलाई डेढ अर्ब र साँफेबगर–मार्तडी सडकलाई ७० करोड चाहिने

Read Time : > 2 मिनेट
जीवन बस्नेत, काठमाडौं
२०७७ कार्तिक १८ मंगलबार ०७:२०:००

वर्षायाममा बाढीपहिरो र डुबानबाट क्षति भएका सडक र पुल निर्माणका लागि अर्थ मन्त्रालयसँग बजेट माग गरेको छ । सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटाका अनुसार सबैभन्दा धेरै प्रभावित भएका र तत्काल निर्माण थाल्नुपर्ने सडक तथा पुललाई पहिलो प्राथमिकतामा राखेर बजेट माग गरिएको छ ।

यो वर्ष सबैभन्दा बढी प्रभावित अरनिको राजमार्गका विभिन्न ठाउँमा पुल र सडक पुनर्निर्माणका लागि करिब डेढ अर्ब रुपैयाँ माग गरिएको छ । यो वर्षको बर्खामा अरनिको राजमार्गका अधिकांश ठाउँमा अवरुद्ध हुँदा लामो समयसम्म सडक एकतर्फी सञ्चालनमा आएको थियो ।

अझै केही ठाउँमा वैकल्पिक व्यवस्था गरेर सडक सञ्चालन गरिएको छ । राजमार्गको कोठे, लामासाँघु बाह्रबिसे, खुसार्नीबारी, सिरिसे, खग्दोल, जम्बु, झ्याले, चाकु डाकलांक, माथिल्लो भोटेकोसी ड्याम क्षेत्र, घट्टे खोलालगायतका १५ स्थानमा पुल र सडकमा समस्याका कारण राजमार्ग अवरुद्ध भएको थियो ।

त्यस्तै, साँफेबगर–मार्तडी सडक पनि यो वर्ष धेरै प्रभावित हुने सडकमा परेको छ । सडक विभागले दसैँ–तिहारजस्ता चाडपर्वका लागि भनेर वैकल्पिक सडकमार्फत यातायात सुचारु गरेको छ । तर, अझै मूल सडक बनेको  छैन । सो सडकखण्डमा पुल नै बगाएका कारण नयाँ पुल र सडक निर्माण गर्न करिब ७० करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ । त्यसका लागि अर्थ मन्त्रालयसमक्ष बजेट माग पठाइसकिएको विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले जानकारी दिए । 

साँफेबगर–मार्तडी सडकको अम्कोटद्वारी खण्ड २५ असारदेखि अवरुद्ध भएको हो । सडक विभागले २५ भदौसम्ममा अवरोध खुल्ने अनुमानित समयसीमा तोकेको थियो । बुढीगंगा नदीको बहावले कटान गरेको र ५ सय मिटर सडक क्षतिग्रस्त हुन गएकाले सडक अवरुद्ध भएको हो । त्यस क्षेत्रमा ठूलो पहिरो गएका कारण तत्काल यातायात सुचारु गर्ने काम थालनी गर्न नसकेको विभागको भनाइ छ ।  

यसैगरी, साँफेबगर–मार्तडी सडककै बुढीगंगा आरसिसी बलेना जडंगा पुल क्षेत्रमा अझै सडक अवरुद्ध छ । बलेना पुलको बायाँपट्टिको थाम (एबुटमेन्ट) बगाएको छ । त्यस खण्डमा रहेको बेलीब्रिज पनि बाढीले बगाएको छ । त्यस्तै, यही सडकको बल्देखण्डमा सडक चर्किनुका साथै पहिरो जाँदा अवरुद्ध छ । ४ साउनदेखि अवरुद्ध भएको यस सडकमा भदौ अन्तिमसम्ममा सुचारु गर्ने तयारी थियो । 

सडक विभागले सामान्य मर्मतका कामलाई आन्तरिक स्रोतबाट व्यवस्थापन गर्दै आएको उपमहानिर्देशक सापकोटाको भनाइ छ । ‘विभागसँग भएको जनशक्ति र विनियोजित बजेटबाटै काम गर्ने गरेका छाैँ,’ विभागका उपमहानिर्देशक सापकोटाले भने । तर, स्रोतले नभ्याउने र ठूलो क्षति भएका ठाउँमा भने अर्थ मन्त्रालयसँग बजेट माग्नुको विकल्प नहुने उनको भनाइ छ । अन्य आयोजनाको पनि क्षति मूल्यांकन भइरहेको छ । क्षति पुगेका आयोजनालाई प्राथमिकीकरण गरेर मर्मत र पुनर्निर्माणका काम थालिने सापकोटाले जानकारी दिए ।  

यो वर्षको मनसुन सक्रिय भएपछि देशभर २ सय ५३ ठाउँमा राष्ट्रिय राजमार्ग अवरुद्ध भएको तथ्यांक सडक विभागले सार्वजनिक गरेको छ । त्यसमध्ये दुई ठाउँमा अझै सडक अवरुद्ध रहेको छ । त्यस्तै, १ सय १२ ठाउँमा भने आंशिक (एकतर्फी सुचारु) र १ सय ३९ ठाउँमा भने सुचारु भइसकेको छ । पछिल्लो समय सुचारु भएका ठाउँको संख्या बढे पनि तथ्यांकमा अद्यावधिक नभएको हुन सक्ने सडक विभागका अधिकारीहरूको भनाइ छ । अहिले उद्धार तथा सडक सुचारु गर्नका लागि खटिएको जनशक्ति र हेभी मेसिनलाई दसैँसम्म फिल्डमै खटाएको उपमहानिर्देशक सापकोटाले जानकारी दिए । 

यो वर्ष विभागले मनसुनको थालनीसँगै अत्यावश्यक सेवालाई सुचारु राख्नका लागि राजमार्गमा अविराम सवारी सञ्चालनको तयारी थालेको थियो । बर्खामा पहिरोले राष्ट्रिय राजमार्र्ग तथा सहायक राजमार्गलाई अवरोधरहित बनाउन देशभर १ सय ९८ हेभी इक्विप्मेन्ट तयारी अवस्थामा राखिएका थिए । विभागले गरेको अध्ययन, अघिल्ला वर्षहरूमा भएका सडक अवरोध तथा पहिरोका घटना र सम्भाव्य ठाउँहरूको पहिचान गरेर लोडर, ब्याकहो लोडर, एक्जाभेटर, डोजर, ट्रान्सपोर्ट ट्रक, क्रेन, क्रेन ट्रक, ट्रकलगायतका साधनलाई ठाउँ–ठाउँमा पुर्‍याएको थियो ।