१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ बैशाख २४ सोमबार o५:२४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

मुकेश चौरासिया हत्या : सरकारी वकिल कार्यालयमार्फत पूर्वसांसदसहित १२ जनाविरुद्ध जाहेरी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o५:२४:oo

पर्साको बिन्दबासिनी गाउँपालिकाका नेकपा सचिव मुकेश चौरसियाको हत्या घटनामा प्रहरीले जाहेरी नलिएपछि जिल्ला सरकारी वकिलको कार्यालयमा जाहेरीसहित निवेदन दर्ता गरिएको छ । बिहीबार मृतक मुकेशका भाइ महेश चौरसियाले जाहेरीसहित निवेदन दिएका हुन् । 

६ कात्तिकमा बिन्दबासिनी गाउँपालिका–५ प्रसौनी भाठामा नेकपाको गाउँ कमिटीको शपथग्रहण समारोहमा झडप भएको थियो । कुटपिटबाट मुकेश गम्भीर घाइते भएका थिए । उनको ७ कात्तिक बिहान वीरगन्जस्थित एलएस न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । 

यस घटनामा उनका परिवारजनले प्रहरीमा जाहेरी दिएका थिए । तर, पर्सा प्रहरीले जाहेरी दर्ता गरेको थिएन । त्यसपछि मुकेशका भाइ महेशले बिहीबार जिल्ला सरकारी वकिलको कार्यालयमा जाहेरीसहित निवेदन दिएका हुन् । वकिलको कार्यालयमा दिएको निवेदनमा १२ जनामाथि कारबाहीको माग गरिएको छ । 

जिल्ला सरकारी वकिलको कार्यालयले उनको जाहेरी जिल्ला प्रहरी कार्यालयलाई दिएको छ । बिहीबार नै जिल्ला प्रहरी कार्यालय, पर्सामा जाहेरी दर्ता भएको सरकारी वकिलको कार्यालयका वकिल पदम कार्कीले बताए ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालयकी एसपी गंगा पन्तले सरकारी वकिलको कार्यालयमार्फत आएको जाहेरी दर्ता भएको बताइन् । ‘मृतक मुकेशका भाइ महेशले वकिलको कार्यालयमार्फत दिएको जाहेरीसहितको निवेदन दर्ता भएको छ । अब निवेदनमा अनुसन्धान गरेर कारबाही अगाडि बढाउँछौँ,’ एसपी पन्तले भनिन् । जिल्ला सरकारी वकिलको कार्यालयमा १९४ नम्बरमा र जिल्ला प्रहरी कार्यालयमा १९० नम्बरमा दर्ता भएको छ । 

कोकोमाथि जाहेरी दर्ता ?
मुकेशको हत्यामा संलग्न रहेको आरोपमा उनका भाइले १२ जनाविरुद्ध किटानी जाहेरी दिएका हुन् । नेकपाका नेता एवं पूर्वसांसद राजकुमार गुप्ता, धीरज चौहान, लक्ष्मण चौरसिया, अकलेस चौरसिया, चिन्टु तिवारी, उत्तम तिवारी, जोखु राउत कुर्मी, वकिल मिया, सञ्जय चौहान, हनिफ मिया देवान, देवा सहनी मलाह र जनार्दन चौहानविरुद्ध जाहेरी परेको हो । उनीहरूमध्ये हनिफ मिया देवान र देवा सहनी मलाह प्रहरी नियन्त्रणमा छन् । दुवैजनालाई ६ कात्तिकमै पक्राउ गरिएको थियो । 

एकसातादेखि प्रदर्शन
मुकेशको हत्या घटनामा संलग्नविरुद्ध जाहेरी दर्ताको माग गर्दै एकसातादेखि प्रदर्शन हुँदै आएको छ । बिहीबार पनि नेकपाका नेता तथा कार्यकर्ताले घटनामा संलग्नविरुद्ध जाहेरी दर्ताको माग राख्दै जिल्ला प्रहरी कार्यालयअगाडि प्रदर्शन गरेका छन् । 

पर्सा प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गर्न ढिलासुस्ती गरेको भन्दै मृतकका परिवारजनले शव बुझेका छैनन् । जिल्ला प्रहरी कार्यालयअगाडि शान्तिपूर्ण प्रदर्शनमा सहभागीले दोषीलाई कारबाही नगरेसम्म आन्दोलन जारी रहने बताएका छन् । प्रदर्शनमा नेकपाका प्रदेश सहइन्चार्ज नागेन्द्र चौधरी, जिल्ला इन्चार्ज रामचन्द्र साह, नेकपा केन्द्रीय सदस्य दिनेश राई, प्रदेश कमिटी सदस्य छोटेलाल यादव, बालगोपाल थापालगायत नेता–कार्यकर्ताको सहभागिता रहेको छ । 

ad
ad