मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख १० शुक्रबार
  • Friday, 23 April, 2021
२०७७ कार्तिक १३ बिहीबार १८:००:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दसैँमा सबैभन्दा बढी दुर्घटना प्रदेश २ मा : देशभर ५१ र प्रदेश २ मा २४ जनाको मृत्यु

Read Time : > 2 मिनेट
२०७७ कार्तिक १३ बिहीबार १८:००:००

दसैँका १० दिन (१-११ कात्तिक)मा देशभर सडक दुर्घटनामा परी ५१ जनाको मृत्यु भएको छ । अन्य ६ सय २७ जना घाइते भएका छन्, तीमध्ये दुई सय १२ जना गम्भीर र चार सय १५ जना सामान्य घाइते भएका छन् ।

प्रहरीका अनुसार यसबीचमा काठमाडौं उपत्यकामा चारजनाको मृत्यु, चार गम्भीर र एक सय २४ सामान्य घाइते भएका छन् । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय, इटहरीमातहत भएका दुर्घटनामा १० को मृत्यु, १० गम्भीर र १९ जना सामान्य घाइते भएका छन् ।

प्रदेश २ ट्राफिक प्रहरी कार्यालय, पथलैयाका अनुसार दुर्घटनामा परी १० दिनमा २४ जनाको मृत्यु भएको छ । अलग-अलग घटनामा एक सय ३४ जना गम्भीर र एक सय ९२ जना सामान्य घाइते भएका छन् ।

यस्तै, बागमती प्रदेशमा पाँचको मृत्यु, २१ गम्भीर र ३५ जना सामान्य घाइते भएको ट्राफिक प्रहरी कार्यालय, रामनगरले जनाएको छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय, गगनगौँडाका अनुसार उक्त प्रदेशमा दसैँमा भएका दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । अन्य पाँच गम्भीर र एकजना सामान्य घाइते भएका छन् ।

लुम्बिनी प्रदेशमा चारजनाको मृत्यु, १८ गम्भीर र २४ सामान्य घाइते भएको ट्राफिक प्रहरी कार्यालय, बुटवलले जनाएको छ । लुम्बिनी प्रदेशकै कोहलपुरस्थित ट्राफिक प्रहरीका अनुसार उक्त कार्यालयमातहत क्षेत्रमा भएका दुर्घटनामा दुई गम्भीर र १२ जना सामान्य घाइते भएका छन् । यस्तै, सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय, अत्तरियाका अनुसार उक्त प्रदेशमा दुईको मृत्यु, १८ गम्भीर र आठजना सामान्य घाइते भएका छन् ।

सबैभन्दा बढी दुर्घटना प्रदेश २ मा

दसैँका वेला प्रदेश २ मा सडक दुर्घटनामा परी सबैभन्दा बढी २४ जनाले ज्यान गुमाएका छन् । अन्य तीन सय २६ जना घाइते भएका छन् । प्रदेश प्रहरी कार्यालय, जनकपुरका प्रवक्ता एसपी कृष्ण प्रसाईंका अनुसार १–११ कात्तिकमा उक्त प्रदेशमा एक सय ९४ वटा सवारी दुर्घटना भए ।

सप्तरीस्थित पूर्व-पश्चिम राजमार्गअन्तर्गत कञ्चनरूप नगरपालिका- २ बरमझियामा भएको दुर्घटनामा परी बुधबार बिहान एकजनाको ज्यान गयो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.१८च ७७३४ नम्बरको गाडीको ठक्करबाट कञ्चनरूप- २ का तिलक सुरैत यादवको घटनास्थलमै मृत्यु भएको हो । पैदल यात्री यादव पुरानो घरबाट चोकमा बनाएको नयाँ घरतर्फ जाँदै थिए ।

१ कात्तिकमा प्रदेश २ मा ११ सवारी दुर्घटना भएका थिए, जसमा एकको मृत्यु भएको थियो भने १४ जना घाइते भएका थिए । यस्तै, २ कात्तिकमा नौ सवारी दुर्घटनामा १४ जना घाइते, ३ कात्तिकमा १३ सवारी दुर्घटनामा दुईको मृत्यु, १७ घाइते, ४ कात्तिकमा नौ सवारी दुर्घटनामा दुईको मृत्यु र १५ जना घाइते, ५ कात्तिक १४ सवारी दुर्घटनामा दुईको मृत्यु र १७ जना घाइते भएका थिए ।

 

यस्तै, ६ कात्तिकमा प्रदेश २ मा नौ सवारी दुर्घटनामा एकको मृत्यु, २९ घाइते, ७ कात्तिकमा १९ दुर्घटनामा दुईको मृत्यु र २९ घाइते, ८ कात्तिकमा २८ दुर्घटनामा तीनको मृत्यु र ५३ घाइते, ९ कात्तिकमा ३६ दुर्घटनामा चारको मृत्यु र ६७ घाइते, १० कात्तिकमा ३३ वटा दुर्घटनामा ६ जनाको मृत्यु, ६२ जना घाइते तथा ११ कात्तिकमा १३ सवारी दुर्घटनामा एकको मृत्यु र १७ जना घाइते भएका थिए ।

प्रहरीका अनुसार सडक दुर्घटनाको मुख्य तीन कारणमध्ये पहिलो चालकको लापरबाही, दोस्रो सवारीसाधनको पार्टपुर्जामा समस्या र तेस्रो सडकको दूरवस्था हो । ‘त्यसमध्ये चालकको लापरबाहीका कारण बढी दुर्घटना भएको देखिन्छ,’ एसपी प्रसाईंले भने ।