१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १६:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

चितवनमा संकलित प्लाज्मा अन्य जिल्ला पठाउन थालियो 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १६:१६:oo

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले संकलन गरेको कोभिड– १९ संक्रमणमुक्त भएकाको प्लाज्मा अन्य जिल्लामा पठाउन थालिएको छ । अन्यत्र आवश्यक भएपछि यहाँबाट पठाउन थालिएको हो ।
 
केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार कोभिड– १९ संक्रमण भई निको भएकाबाट संकलन भएको ७१ युनिट प्लाज्मामध्ये ११ युनिट बाहिरी जिल्ला पठाइएको छ । पौडेलका अनुसार भैरहवामा ६ युनिट र काठमाडौंमा पाँच युनिट पठाइएको हो । अन्य जिल्लाबाट पनि माग हुन थालेको उनले जानकारी दिए ।
 
हाल केन्द्रमा ए पोजेटिभ आठ, ओ पोजेटिभ १९, बी पोजेटिभ १२, एबी पजिटिभ दुई युनिट जगेडा रहेको छ । चार युनिट दातामा अन्य समस्या भएपछि प्रयोग गर्न नमिल्ने भएको हो । जिल्लाका विभिन्न अस्पतालमा १५ युनिट बिरामीलाई चढाइएको केन्द्रले जनाएको छ ।

नवलपरासी जिल्लाबाट ३३ युनिट, जिल्लामा शिविरमार्फत ३२ युनिट र संस्थामा आएर ६ जनाले प्लाज्मा दान गरेका हुन् । देशभरमा सबैभन्दा बढी चितवनमा प्लाज्मा संकलन भएको पौडेलको भनाइ छ । सामाजिक संघसंस्थाले अभियान नै सञ्चालन गरेर प्लाज्मा संकलन गरेकाले बाहिरसमेत पठाउन सकिएको उनले बताए । 

संक्रमितको नतिजा नेगेटिभ आएको १४ दिनपछि ४५ दिनभित्र रगत संकलन गरी प्लाज्मा बनाउनुपर्ने हुन्छ । यसका लागि लक्षण देखिएका संक्रमित चाहिने पौडेलको भनाइ छ । जिल्लाको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेजसँगै पुष्पाञ्जलि अस्पतालमा गम्भीर अवस्थाका संक्रमितको उपचार हुँदै आएको छ ।
 
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार निको भएका कोरोना संक्रमितको रगतबाट प्लाज्मा निकालेर संक्रमितको शरीरमा चढाउने प्रक्रिया नै प्लाज्मा थेरापी हो । राससका अनुसार यसबाट गम्भीर अवस्थाका संक्रमितको उपचार गर्न सहयोग पुग्छ । रगतमा हुने प्रोटिनसहितको पहेँलो पदार्थ नै प्लाज्मा हो । निको भएका संक्रमितको विकास भएको एन्टिबडीको प्लाज्मा उपचाररत संक्रमितलाई दिएर भाइरससँग लड्न सक्ने क्षमता यसले विकास गर्ने अधिकारीको भनाइ छ ।
 

ad
ad