१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ कार्तिक ९ आइतबार २०:४७:००
Read Time : > 4 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री र ‘रअ’ प्रमुखबीचको भेटबारे उपप्रधानमन्त्रीको ६ बुँदे स्पष्टीकरण

Read Time : > 4 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ कार्तिक ९ आइतबार २०:४७:००

उपप्रधानमन्त्री ईश्वर पोखरेलले परराष्ट्र मन्त्रालयको जानकारीमा भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गाेयलले नेपाल भ्रमण गरेको र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको दाबी गरेका छन् ।

तर, बुधबार मध्यरातमा बालुवाटारमा भएको तीन घन्टा लामो भेटबारे अहिलेसम्म परराष्ट्र मन्त्रालयका तर्फबाट भने कुनै जानकारी गराइएको छैन । भारतीय दूतावास पनि यसबारे बोलेको छैन । 

‘रअ’ प्रमुख नै परराष्ट्र मन्त्रालयको जानकारी तथा स्वीकृतिमा नेपाल आएको तथा काठमाडाैंस्थित भारतीय राजदूतावासले औपचारिक रूपमा त्यसको जानकारी गराउँदै आवश्यक पत्राचार र  पहल गरेको उपप्रधानमन्त्री पोखरेलेको दाबी छ । 

‘रअ’ प्रमुखसँग भएको वार्ताको औपचारिक टिपोट परराष्ट्र मन्त्रालयमा समेत सुरक्षित रहेको उपप्रधानमन्त्री पोखरेलको दाबी छ । 

उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री र ‘रअ’ प्रमुखबीचको संवाद केही समयदेखि असहज बन्न पुगेको नेपाल–भारत सबन्ध खासगरी सीमा समस्यासित र नयाँ नक्सा प्रकाशनसित गाँसिएका विषयमा केन्द्रित रहेको दाबी गरेका छन् ।

छलफलमा नेपालले राख्दै आएका अडान पुनः जानकारी गराइएको थियो र समाधानका लागि नेपालका तर्फबाट स्पष्ट दृष्टिकोण प्रस्तुत गरिएको उपप्रधानमन्त्रीको दाबी छ । 

प्रधानमन्त्रीको प्रस्तुतिलाई ‘रअ’ प्रमुखले सकारात्मक रूपमा लिँदै अविलम्ब वार्ताद्वारा समाधानका लागि अघि बढ्नुपर्ने भनाइ राखेको पोखरेलको दाबी छ । 

दुवै पक्ष नेपाल र भारतका बीचमा कुनै समस्या छन् भने तिनलाई संवादका माध्यमबाट हल गर्न सकिन्छ भन्ने अकाट्य निष्कर्षमा पुगेको उनले बताएका छन् ।

शनिबार साँझ लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जालबाटै ‘रअ’ प्रमुख मोदीको सन्देशबाहकका रूपमा आएको बताएका थिए ।

राष्ट्रियताको विषयमा नेपाल र भारतबीच कूटनीतिक र राजनीतिक वार्ताको प्रतीक्षा भइरहेको वेला अचानक प्रधानमन्त्री ओलीले गुप्तचर प्रमुखसँग गरेको भेटले उनको आलोचना भइरहेका वेला ओलीनिकट मानिने नेता पोखरेलको यस्तो भनाइ आएको हो । 

छिमेकी देशको आन्तरिक राजनीतिमा जासुसी र हस्तक्षेप गर्ने भनेर बदनाम भारतीय गुप्तचर संस्था ‘रअ’का मुखियाले बुधबार राति ९:१५ देखि मध्यराति १२:१० सम्म बालुवाटारमै प्रधानमन्त्री ओलीसँग भेटेका थिए । 

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नै दलका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखसँग भेट्नुले देशको राष्ट्रिय स्वाभिमान कमजोर पारेको बताएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै उनले यसप्रकारको कार्यले राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कूटनीतिक ओज गिर्ने मात्र होइन, अन्ततः राष्ट्रिय सार्वभाैमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्ने जनाएका हुन् ।

उनले विदेशी गुप्तचर अधिकारीसँग प्रधानमन्त्रीको भेट कूटनीतिक मूल्य र आचारसंहिताविपरीत भएकोसमेत जनाएका छन् ।

प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीकाे यस भेटबारे पार्टीमा पूर्वजानकारी नभएको, छलफल नगरेको र पार्टीलाई कुनै जानकारी पनि नभएको जनाएका छन् । 

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का  प्रमुख गोयलसँग गरेको गोप्य भेटप्रति नागरिक अगुवाहरूले आपत्ति जनाएका छन् ।

परराष्ट्र मन्त्रालयलाई समेत पत्तो नदिई घन्टौँसम्म गुप्तचर प्रमुखसँग गोप्य भेट गर्नुलाई शिष्टाचार भेट भन्न नमिल्ने नागरिक अगुवाहरूको भनाइ छ । 

शनिबार २३ नागरिक अगुवाले संयुक्त अपिलपत्र सार्वजनिक गर्दै  ‘रअ’ प्रमुख गोयलले कूटनीतिक पदाधिकारीसँग भेट नगर्नु  र गुप्तचर निकायसँग नेपालले एकदमै अपर्झट कुरा गर्नुपर्ने विषय के थियो ? भन्ने  प्रश्न सोधेका छन् ।

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गाेयललाई भेटेको सम्बन्धमा आठ प्रश्न सोध्दै स्पष्ट पार्न आग्रह गरेका छन् । 

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस भेटमा सूचना लुकाएर ढाकछोप गरिएकोसमेत जनाएका छन् । साथै उनले यस गतिविधिबाट देशको स्वाभिमान अहिलेसम्मकै तल झरेको पनि ठहर गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले पनि भेटका विषयवस्तु सार्वजनिक गर्न माग गरेको छ ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गठन गरेको जनपरिषद्, नेपालले प्रधानमन्त्री ओली र भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख गोयलबीच भएको छलफलको विषयवस्तु सार्वजनिक गर्न माग गरेको छ । 

पोखरेलको स्टाट्स

१.  भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा प्रधानमन्त्री केपी ओलीसित भेट तथा संवादका लागि आए र फर्किए । 

२.  नेपाल सरकारको परराष्ट्र मन्त्रालयको जानकारी तथा स्वीकृतिमा उनी नेपाल आएका हुन् । काठमाडाैंस्थित भारतीय राजदूतावासले औपचारिक रूपमा त्यसको जानकारी गराउँदै आवश्यक पत्राचार र  पहल गरेको थियो । 

३. प्रधानमन्त्री केपी शर्मा ओलीले सामन्त गोयलको टोलीसित के–के विषयमा कुरा गर्नुभएको थियो ? बातचितमा प्रम ओलीसित रहनुभएका प्रतिनिधिहरूले जिम्मेवारीपूर्वक सुनेका छन्– टिपोट गरेका छन् । परराष्ट्र मन्त्रालयमा समेत वार्ताको औपचारिक टिपोट सुरक्षित छ । 

४. बातचितमा प्रम ओलीले विगत केही समयदेखि असहज बन्न पुगेको नेपाल–भारत सम्बन्ध खासगरी सीमा समस्यासित र नयाँ नक्सा प्रकाशनसित गाँसिएका विषयमा केन्द्रित रहेको थियो । त्यहाँ नेपालले राख्दै आएका अडानहरू पुनः जानकारी गराइएको थियो र समाधानका लागि नेपालका तर्फबाट स्पष्ट दृष्टिकोण प्रस्तुत गरिएको थियो । र, वार्ताद्वारा नै तथ्य तथा ऐतिहासिक प्रमाणहरूका आधारमा देखापरेका समस्याहरूको समाधान खोजिनुपर्ने समाधान प्रस्तुत गरिएको थियो । त्यहाँ गोयल (हरू)का तर्फबाट नेपालका प्रमको प्रस्तुतिलाई सकारात्मक रूपमा लिँदै अविलम्ब वार्ताद्वारा समाधानका लागि अघि बढ्नुपर्ने भनाइ राखिएको थियो । नेपाल–भारतका बीचमा कुनै समस्या छन् भने तिनलाई संवादका माध्यमबाट हल गर्न सकिन्छ भन्ने अकाट्य निष्कर्षमा पुगिएको थियो । 

५. विगत केही समयदेखि केही असहज बन्न पुगेको नेपाल–भारत सम्बन्धलाई यही अवस्थामा रहन दिनु नहुने मान्यताका साथ गरिएको यो पहल र प्रयत्नलाई एक स्वरमा खासखास खालका मानिसहरूद्वारा किन विरोध भइरहेको छ ? तिनीहरूले किन विरोध गरिरहेका छन् ? यसलाई अघि सारेर प्रम केपी शर्मा ओली र उहाँले नेतृत्व गरेको सरकारको विरोधमा किन खनिँदै छन्– ती मानिसहरू र कारणहरू राम्ररी बुझिएको छैन । 

अहिले धेरै कुरा किन गर्ने १ उहाँहरूले वास्तविकता नबुझी  पूर्वाग्रह राखेर वा विरोधका लागि विरोध गर्नुपर्छ भन्ने अस्वस्थ्य मानसिकता बोकेर यी सबै काम गरिरहनुभएको छ भन्ने कुरा ठोकेर भन्न सकिन्छ । प्रोटोकललाई ख्याल नगरिएको, मर्यादाको पालना नगरिएको, छिमेकी मुलुकको जासुसी संस्थाको योजनामा सञ्चालित हुन खोजेको, वार्ताका विषयलाई रहस्यमा राखिएको, राष्ट्रियता र स्वाधीनतामा आँच पुऱ्याइएको आदि भनेर आरोप लगाउने कोसिस भइरहेको छ । अर्थात्, यी सबै कुरा गरेर कम्युनिस्ट पार्टीको सरकारविरुद्धमा एउटा गलत खालको बहस सिर्जना गर्न खोजिँदै छ । दुर्भाग्य  ! कम्युनिस्ट पार्टीकै कतिपय नेताहरूसमेत यस अभियानमा संलग्न हुन खोजेका देखिँदै छन् ।

६. यतिबेला एउटा कुरा सबैले ख्याल गरौँ– केपी शर्मा ओली र उहाँले नेतृत्व गरेको यस सरकारविरूद्ध ती मानिसहरू अहिले विशेष निर्लज्जतापूर्वक लागेका छन्, जो विगतमा छिमेकीको न्यानो काखमा सुतेर देशका विरूद्ध गतिविधिहरू गरिरहेका थिए ! विगतमा भारतको  ‘रअ’ का हाकिमहरूसित भेट गर्न  तँछाड–मछाड गर्दै यिनै मान्छेहरू छिमेकी मुलुक पुग्दथे , त्यहाँ खुसामदका बिन्ती –बोली बिसाउँथे । विडम्बना ! अहिले उनीहरूसमेत राष्ट्रियताको बोलीमा लोली मिसाउँदै ओलीले नेतृत्व गरेको सरकारका विरुद्ध बृहत् गोलबन्दीको नायक बन्ने प्रयत्न गरिरहेका छन् ! !  

याद रहोस् ! राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता, स्वाभिमानमा आँच पुग्ने कुनै पनि कुरासित सम्झौता हुन सक्तैन । यिनै कुरालाई शिरमा राखी राष्ट्रको दीर्घकालीन हितमा लाग्ने कुरामा कहीँकतैबाट पनि आँच पुग्न दिइने छैन । विदेशीको काखको न्यानोमा सुत्न पल्केकाहरूको कथित राष्ट्रवादलाई चिनौँ, सजग होऔँ र सरकारले चालेका सही कदमहरूलाई साथ र समर्थन गरौँ !!!