मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७७ असोज २९ बिहीबार १८:२९:००
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

प्रदेश २ मा मेला र भिडभाडमा रोक, राजमार्गमा प्रहरीको स्कर्टिङ

Read Time : > 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७७ असोज २९ बिहीबार १८:२९:००

दसैँ, तिहार तथा कोरोना महामारीलाई मध्यनजर गर्दै प्रदेश प्रहरीले सुरक्षा–व्यवस्था कडा बनाएको छ । चाडपर्वमा अप्रिय घटना तथा शक्तिपीठहरूमा हुने भिडभाड रोक्न कडा सुरक्षा–व्यवस्था अपनाएकोे प्रदेश २ प्रहरी प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश २ का आठवटै जिल्लाको सुरक्षाका लागि साढे सात हजार नेपाल प्रहरी र तीन हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिने भएको छ । 

विगतमा आपराधिक घटना भएका ठाउँमा विशेष निगरानी गर्ने गरी सुरक्षा–व्यवस्था मिलाएको प्रदेश २ प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । सादा पोसाकमा पनि प्रहरी परिचालन हुने उनले बताए । सहरदेखि ग्रामीण क्षेत्र तथा सीमानाकाहरूमा समेत प्रहरी गस्ती बढाइने उनको भनाइ छ । 

मेला र भिडभाडमा रोक 
चाडपर्वमा शक्तिपीठहरूमा हुँदै आएको नियमित पूजा सञ्चालन हुने भए पनि भिडभाड हुन नदिने गरी प्रहरीले सुरक्षा योजना बनाएको छ ।  दसैँ–तिहारको अवसरमा विभिन्न संघसंस्थाले दसैँ–तिहारमा मेला तथा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै गर्ने गरेका छन् । तर, यस वर्ष भने त्यस्ता कार्यक्रम गर्न नपाइने भएको छ । दसैँमा जनकपुरको राजदेवी मन्दिर, महोत्तरीको सोनामाई स्थान, सप्तरीको कंकालिनी मन्दिरलगायतका स्थानमा भिडभाड हुने गरेको छ ।
बर्सेनि करिब १५ हजारसम्म बोका बलि दिने गरिएको जनकपुरको राजदेवीमा यस वर्ष धनुषा जिल्ला सुरक्षा समितिले केही दिनअघि नै सूचना निकालेर त्यसमा रोक लगाइसकेको छ । 

राजमार्गमा प्रहरीको स्कर्टिङ
चाडपर्वको समयमा यात्रुको चाप हुने तथा सार्वजनिक सवारीसाधनमा ओहोरदोहोर बढी हुने भएकाले प्रहरीले पथलैहियादेखि कोसीसम्म पूर्व–पश्चिम राजमार्गमा सुरक्षा–व्यवस्था कडा पारेको जनाएको छ । राजमार्गका विभिन्न स्थानमा ३३ वटा यात्रु सहायता कक्ष निर्माण गरिएको छ । यात्रु सहायता कक्षमा रहेका सुरक्षाकर्मीले समस्यामा परेका यात्रुलाई सहयोग गर्नुको साथै सवारीसाधनको चाँजसमेत गर्नेछन् । यात्रु तथा सवारीसाधनको सुरक्षा–व्यवस्था मिलाउने काम यात्रु सहायता कक्षबाट हुने प्रहरी उपरीक्षक प्रसाईंले बताए ।