१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज २५ आइतबार १८:१२:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

यस्तो छ ट्राफिक प्रहरीको चाडपर्वलक्षित विशेष योजना

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज २५ आइतबार १८:१२:००

ट्राफिक प्रहरीले नजिकिँदै गरेको बडादसैँ, तिहार तथा छठजस्ता चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा ट्राफिक व्यवस्थापन र स्वास्थ्य मापदण्डको विषयलाई केन्द्रमा राखेर योजना लागू गरेको हो । 

ट्राफिक प्रहरीको प्रभावकारी परिचालन, दुरुस्त कारबाही, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ उक्त योजना लागू गरिएको महाशाखाले जनाएको छ । 

उपत्यकाको सवारी आवागमनलाई सहज बनाउन, सडक प्रयोगकर्ताहरूको सुरक्षा सुनिश्चित गर्न, सवारी दुर्घटना न्यूनीकरण गर्न र चाडपर्वमा हुन सक्ने ठगी नियन्त्रणका लागि सुरक्षा योजना लागू गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकाी दिए । उनले यात्राको क्रममा कसैलाई केही समस्या भए १०३ मा फोन गर्न सबैमा आग्रहसमेत गरे । 

ट्राफिक व्यवस्थापन मात्र होइन, चाडपर्वको समयमा यात्रुसँग बढी भाडा लिने, बाटोमै यात्रुलाई ओरालिदिने, स्वास्थ्य मापदण्ड पालना नगर्नेजस्ता समस्या आउन नदिन ट्राफिक प्रहरी चनाखो भएको छ ।

सादा पोसाकमै प्रहरी परिचालन गरी टिकट काउन्टरमा विशेष निगरानी
भिडभाड हुने स्थल र टिकट काउन्टरहरूमा हुन सक्ने ठगी तथा आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न महाशाखामा रहेको पीडित सहायता इकाइबाट सादा पोसाकमा प्रहरी परिचालन गरी निगरानी गरिरहेको महाशाखाका प्रवक्ता तथा एसपी रामेश्वरप्रसाद यादवले बताए । 

मुख्यतः बसपार्क क्षेत्र, कलंकी, बल्खु, कोटेश्वर, पुरानो बसपार्क, गौशालालगायत टिकट काउन्टर भएका स्थानमा सादा पोसाकमै प्रहरी परिचालन गरी टिकट काउन्टरमा विशेष निगरानी गरिने एसपी यादवले बताए । सादा पोसाकका ट्राफिक प्रहरीले बढी भाडा लिई टिकट काट्ने, फर्जी टिकट तथा डबल टिकट काट्ने व्यक्तिमाथि निगरानी राख्नेछ भने भाडाका बसहरूमा चढी तोकिएको मूल्यअनुसार टिकट लिएको छ–छैन चेकजाँच पनि गर्नेछ । 

यसका साथै टिकट काउन्टरमा टिकट काट्ने व्यक्तिहरूको सहजै पहिचानका लागि परिचयपत्रको व्यवस्था गरिएको महाशाखाले जनाएको छ । 

प्रविधिबाट निगरानी
लामो दूरीका भाडाका सवारीसाधनमा २ जना चालक अनिवार्य रुपमा भएरनभएको प्रविधिबाट निगरानी गरिने छ । दुईजना चालक भए–नभएको ट्राफिक प्रहरीको ट्राफिक कम्युनिकेसन एप्सबाट हेर्न र नियमानुसार नभए कारबाही गरिने यादवले बताए । टिकट काउन्टर तथा सवारीसाधनभित्र यात्रुले देखिने गरी भाडा दररेट टाँस गर्ने काम अनिवार्य गराउने योजना पनि महाशाखाको रहेको छ । 

यस्तै, मोटरसाइकलचालकले हेल्मेट प्रयोग नगर्ने, तीव्र गतीमा सवारी चलाउने, ओभरलोड, सवारी अन्य भाग तथा छतमा यात्रु मालसामान राख्न, जिकज्याक सवारी चलाउनेजस्ता ट्राफिक नियम उल्लंघन गर्ने उपर सिसिटिभी निगरानीबाट कडाइका साथ कारबाही गरिने महाशाखाले जनाएको छ । 

बसपार्कबाट बाहिरिने गाडीहरूलाई अनिवार्य रूपमा यान्त्रिक परीक्षण गर्न समन्वय गरिने महाशाखाले जनाएको छ ।

दिनमा चारपटकभन्दा बढी सरप्राइज चेकिङ
महाशाखाले चाडपर्वका वेला निजी तथा सार्वजनिक सवारीसाधनमा घट्न सक्ने सम्भावित घटनालाई लक्षित गरेर बिहान, दिउँसो, साँझ र राति चारपटकसम्म विशेष चेकजाँचको व्यवस्था गर्ने भएको छ । उपत्यकाबाट बाहिरिने नाका तथा अन्य स्थानहरूमा सवारीसाधनहरूको मापसेसहितको सम्पूर्ण चेकजाँच हुने महाशाखाले उल्लेख गरेको छ । ट्राफिक प्रहरीले चाडपर्वका समयमा नागढुंगा, कलंकी, स्वयम्भु, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा, पुरानो बसपार्कलगायतका ठाउँमा लामाे दूरीका सवारीसाधनलाई लक्षित गरेर विशेष जाँचको व्यवस्था पनि गरेको छ ।

भिडभाड क्षेत्रमा थप प्रहरी परिचालन
महाशाखाले उपत्यका भित्रिने नाका, व्यापारिक क्षेत्रहरू तथा बसपार्क एरियामा आवश्यकताअनुसार थप जनशक्ति परिचालन गरिने जनाएको छ । एसएसपी ढकालका अनुसार एक सय ७२ स्थानहरूमा दैनिक नियमित ड्युटीका लागि नाै सय जनशक्ति परिचालन भइरहेको छ । चाडपर्वको समयमा अतिरिक्त थप एक सय ५० ट्राफिक प्रहरी जनशक्ति परिचालन गरिने प्रवक्ता यादवले जानकारी दिए । 

१४ स्थानमा यात्रु सहायता कक्ष
काठमाडौं उपत्यकाभित्रको सुरक्षा संयन्त्रलाई मध्यनजर गर्दै १४ वटा नागरिक तथा यात्रु सहायता कक्ष सञ्चालमा ल्याइने महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले भने । यात्रुहरूको गुनासो सूक्ष्म रूपमा मनन गरी तत्काल सम्बोधन गर्न नागरिक कक्ष राखिने उनले बताए । 
उपत्यकाको नागढुंगा, कलंकी, स्वयम्भू, माछापोखरी, नयाँबसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, जागती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा सहायता कक्ष रहनेछन् । यात्रुको सेवामा चौबिसै घन्टा ट्राफिक प्रहरी समर्पित रहने हुँदा यात्रुहरूले ढुक्कसँग यात्रा गर्ने वातावरण बनाउने महाशाखाले प्रतिबद्धता पनि गरेको छ ।