१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o६:३५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

उपचार खर्च तिर्न नसक्दा चितवन मेडिकल कलेजकाे आइसियूमै बिरामी बन्धक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:३५:oo

बिरामी सामान्य अवस्थामा फर्किँदासमेत पैसा नतिरेको भन्दै चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी)ले मेडिकल आइसियूबाट बिरामीलाई साधारण बेडमा पनि सारेको छैन । मकवानपुर भीमफेदी गाउँपालिका–९ का राजु थिङ (३४ वर्ष)लाई उपचार खर्च तिर्न नसक्दा आइसियूमै राखिएको हो । राजुकी श्रीमती संगीता थिङका अनुसार औषधि र उपचार खर्च गरी तीन लाख रुपैयाँभन्दा बढी अस्पताल र फार्मेसीलाई तिर्न बाँकी छ । अढाई लाख रुपैयाँ उनीहरूले खर्च गरिसकेका छन् ।

राजु हेटौँडास्थित लोकप्रिय होटेलमा कुक थिए । उनकी श्रीमती सोही होटेलमा भाँडा माझ्थिन् । कोभिड–१९ का कारण बजारसँगै होटेल बन्द भए । दोस्रोपटक लकडाउनको म्याद थपिएपछि उनीहरू १२ वर्षकी छोरीसहित घर फर्किए । कमाइ नभएपछि उनीहरूले कोठा भाडा पनि तिर्न सक्ने अवस्था रहेन ।

घर पुगेपछि खोलामा माछा मार्न जाँदा राजु लडे । त्यतिवेला सामान्य औषधि उपचारपछि ठीकै देखिएका राजु भदौ अन्तिममा अचानक बेहोस भए । त्यसपछि परिवारले उनलाई हेटौँडाकै विभिन्न अस्पताल पुर्‍यायो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि चितवन मेडिकल कलेज ल्याइयो । सिएमसीमा उपचार सुरु भएको १० दिनपछि उनको होस खुल्यो । संगीताका अनुसार उनलाई निमोनिया भएको रहेछ ।

सुरुको केही दिन परिवारबाट सापटी मागेर उपचार खर्च जुट्यो । तर, सापटी पनि नपाउने अवस्था भएपछि उनीहरू बेखर्ची बने । राजुकी श्रीमती संगीता लेखपढ गर्न जान्दिनन् । सोहीकारण आइसियूमा राख्दा दैनिक सात हजार रुपैयाँ खर्च हुने गरेको उनले पछि मात्र थाहा पाइन् ।

श्रीमान्को अवस्था सामान्य भएपछि उनले साधारण बेडमा सारिदिन अस्पताललाई अनुरोध गरिन् । तर, अस्पताल प्रशासनले पैसा तिरेपछि मात्र साधारण बेडमा सारिदिने बतायो । राजुको परिवारले अस्पतालबाट छुट पाउने आसमा स्थानीय तहको सिफारिस पनि ल्यायो । तर, क्षयरोग, क्यान्सर र कोभिड–१९ को उपचारका लागि मात्र स्थानीय तहको सिफारिसबाट छुट पाइने अस्पतालले बतायो । अहिले संगीतासँग साँझबिहान खाना खाने पैसा पनि छैन । भोकभोकै श्रीमान्लाई कुरेर बसेकी छिन् ।

ad
ad