१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ असोज २१ बुधबार ०८:१९:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

हिल्सा नाका सात महिनादेखि ठप्प

Read Time : < 1 मिनेट
२०७७ असोज २१ बुधबार ०८:१९:००

गत चैतदेखि बन्द भएको हुम्लाको उत्तरी हिल्सा नाका सात महिनासम्ममा पनि खुल्न सकेको छैन । कोभिड– १९ का कारण चीनसँग जोडिएको याे नाका सात महिनादेखि ठप्प हुँदा करोडौँको व्यापारमा घाटा भएको व्यवसायीले बताएका छन् ।

नेपाल–चीनबीच सञ्चालनमा रहेको हिल्सा नाका अहिले बन्द छ । यो व्यापारिक नाका बन्द हुँदा नेपाल–चीन आयात–निर्यात नराम्रोसँग प्रभावित भएको छ । नाका बन्द भई नेपाल–चीनको मैत्रीपूर्ण लगानी रोकिँदा साना, मझौला तथा ठूला व्यवसाय आर्थिक संकटमा परेका छन् । 

नाका बन्द भएसँगै स्थानीयदेखि सुरक्षाकर्मीलाई समेत नुन, तेललगायतका अति आवश्यक सामानहरू पाउन समस्या परेको छ ।

सात महिनादेखि नाका बन्द भएसँगै प्रत्येक वर्ष कैलाश मानसरोवर दर्शन गर्न आउने तीर्थयात्रीको संख्या यो वर्ष शून्यमा झरेको छ । नाका बन्द हुँदा चीनको ताक्लाकोटबाट भित्रिने दैनिक उपभोग्य वस्तु तथा विकास निर्माणका सामानहरू रोकिएका छन् । जसले गर्दा यहाँकाे विकासमा समेत बाधा पुगेकाे छ । 

उद्योग वाणिज्य संघको माग सुनुवाइ भएन

असोज २ गते यो नाका सञ्चालन गराउन हुम्ला उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय हुम्लामा ज्ञापनपत्र बुझाएको थियो । तर, स्थानीय प्रशासनले उद्योग वाणिज्य संघको मागकाे कुनै सुनुवाइसमेत नगरेको उद्योग वाणिज्य संघ हुम्लाले जनाएको छ । 

विगत सात महिनादेखि बन्द भएकाे नाकालाई सहज बनाउन आग्रह गरे पनि केही सुनुवाइ नभएको हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष नामग्याल तामाङले बताए ।  उनले भने, ‘नाका बन्द भई नेपाल–चीन मैत्रीपूर्ण लगानी रोकिँदा साना, मझौला तथा ठूला व्यवसायमा आर्थिक संकट परेको छ ।’  नाका बन्द हुँदा हुम्लाको व्यापार–व्यवसायमा करोडौँ घाटा भएको होटेल एसोसिएसन हुम्लाले जनाएको छ ।