१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o७:५५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गौरादहकी मनमायाको हत्या श्रीमानले नै गरेको प्रहरीको निष्कर्ष

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:५५:oo

झापाको गौरादह– १ की ६५ वर्षीया मनमाया भण्डारीको हत्या उनकै श्रीमान् भीमबहादुरले गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय झापाले प्रारम्भिक अनुसन्धानका क्रममा भीमबहादुरले श्रीमतीको हत्या गरेको जनाएको छ । उनी सोमबार रगताम्य अवस्थामा आफ्नै घरभित्र मृत फेला परेकी थिइन् । 

उनलाई बिहीबार पक्राउ गरी जिल्ला अदालत झापाबाट सात दिनको म्याद थपेर प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनास्थलको अध्ययन र पोस्टमार्टम रिपाेर्टका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) राकेश थापाले जानकारी दिए । 

‘पोस्टमार्टम रिपोर्टमा देखिएको मनमायाको मृत्यु भएको समयमा भीमबहादुर त्यहीँ थिए भन्ने देखिन्छ । उनले प्रहरी र मिडियामा १ बजे घरबाट निस्किएको भनेका छन् । पोस्टमार्टम रिपोर्टले  लगभग त्यही समयमा हत्या भएको देखाउँछ । त्यही कारण हामी उनले नै श्रीमतीको हत्या गरेको निष्कर्षमा पुगेका हौँ,’ उनले भने, ‘स्थानीय, छरछिमेक र आफन्तसँगको बयानका आधारमा पनि त्यही देखिन्छ ।’ 

दम्पती लकडाउनभरि ६ महिना कमल गाउँपालिकाको घरमा थिए । उनीहरू हत्या भएको दिन बिहान १० बजे मात्र गौरादहको घरमा आइपुगेको थापाले बताए । गौरादहमा नातिनातिना पढाउन बस्दै आएको खुलेको प्रहरीले जनाएको छ । यद्यपि उनले श्रीमतीको हत्या स्वीकार गरेका छैनन् । 

‘प्राप्त प्रमाण र पोस्टमार्टम रिपोर्टका आधारमा निष्कर्ष निकालेका हौँ । मनमाया र भीम ६ महिनापछि गौरादह आएका थिए । उनको कोहीसँग दुस्मनी छैन । फेरि गाउँबाट ६ महिनापछि आएर कम्तीमा घर त सफा गरिन्छ नि ! त्यस्तो केही पाइएन । उनी बाहिरसम्म निस्किनन्,’ उनले भने, ‘उनको घरमा चोरी पनि भएका छैन । हराएको भनिएको तिलहरी पनि घरको कुनामा भेटियो । रिपोर्ट र यी आधार हेर्दा त्यही देखिन्छ । त्यसकारण हामीले म्याद थप गरेर अनुसन्धान सुरु गरेका हौँ ।’ 

मनमायाको टाउको र निधारमा चोट थियो  । उनी रक्ताम्मे  अवस्थामा मृत फेला परेकी थिइन् । ‘निधार र टाउकोमा ठूलो चोट छ । धारिलो हाेइन केही गह्रौँ वस्तुले हानेकोजस्तो देखिन्छ,’ उनले भने, ‘केही वस्तु भेटेका छौँ । अनुसन्धान गर्दै छौँ ।’ अभियुक्त भीमबहादुरले अपराध स्वीकार नगरेका कारण हत्या के कारणले भएको हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएका छ ।

ad
ad