१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o१:१२:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

अमेरिका, बेलायत, दक्षिण अफ्रिकामा राजदूत सिफारिस

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o१:१२:oo

सरकारले अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि राजदूत सिफारिस गरेको छ । अझै ६ मुलुकमा सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव र नेकपानिकटबाट सिफारिस गर्ने तयारी गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले अमेरिकाका लागि पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, बेलायतका लागि निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि अधिकारकर्मी डा. निर्मल विश्वकर्मालाई राजदूत सिफारिस गरेको छ । रेग्मीले बिहीबारै राजीनामा दिएका थिए । 

अमेरिकामा राजदूत डा. अर्जुन कार्कीको कार्यकाल एक वर्षअघि सकिए पनि सरकारले अर्को व्यवस्था नभएसम्म उनैलाई काम गर्न दिएको थियो । बेलायतमा परराष्ट्र मन्त्रालयका सहसचिव दुर्गाबहादुर सुवेदी राजदूत छन्, उनको कार्यकाल समाप्त हुँदै छ । बेलायतमा परराष्ट्र सेवाका राजदूत रहेकोमा निवर्तमान मुख्यसचिव सिफारिस भएका छन् । दक्षिण अफ्रिकामा यसअघि परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई राजदूत थिए । उनी परराष्ट्र मन्त्रालय फर्केर न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय नेपाली स्थायी नियोगमा स्थायी प्रतिनिधिका रूपमा छन् । दक्षिण अफ्रिकामा परराष्ट्र सेवाका राजदूत रहेकोमा यसपटक बाहिरबाट राजदूत सिफारिस भएका छन् । 

छिमेकी भारत र चीनमा मन्त्रीस्तरीय सुविधा पाउने गरी पूर्वमन्त्रीहरू राजदूत छन् । अमेरिकामा पनि अब पूर्वमन्त्री राजदूत सिफारिस भएका छन् । भारतका लागि राजदूत नीलाम्बर आचार्य र चीनका लागि राजदूत महेन्द्रबहादुर पाण्डेले मन्त्रीस्तरीय सुविधा पाउँदै आएका छन् । अमेरिकाका लागि राजदूत रहेका डा. अर्जुन कार्कीले पनि मन्त्रीस्तरीय सुविधा पाउँदै आएका छन् । भारतमा पूर्वकानुनमन्त्री, चीनमा पूर्वपरराष्ट्रमन्त्री राजदूत छन् भने अमेरिकाका लागि पूर्वअर्थमन्त्री सिफारिसमा परेका छन् । 

पाकिस्तान, जर्मनी र बेल्जियमका लागि सिफारिस राजदूत सम्बन्धित सरकारहरूको एग्रिमोको पर्खाइमा छन् । सरकारले एक महिनाअघि २ भदौमा पाकिस्तान, जर्मनी र बेल्जियमका लागि परराष्ट्र मन्त्रालयका सहसचिवहरूलाई राजदूत सिफारिस गरेको थियो । पाकिस्तानका लागि तापस अधिकारी, जर्मनीका लागि रामकाजी खड्का र बेल्जियमका लागि गेहेन्द्र राजभण्डारीको नाम संसदीय सुनुवाइ समितिका लागि सिफारिस गरेको हो । पाकिस्तानका लागि राजदूत सेवा लम्साल स्वदेश फर्किसकेकी छिन् । अब फर्किनुपर्ने राजदूतहरूमा इजिप्टका लागि झविन्द्रप्रसाद अर्याल, बेलायतका लागि दुर्गाबहादुर सुवेदी, ब्राजिलका लागि ताराप्रसाद पोखरेल, रुसका लागि ऋषिराम घिमिरे, जर्मनीका लागि रमेशप्रसाद खनाल, अष्ट्रियाका लागि प्रकाशकुमार सुवेदी, बेल्जियमका लागि लोकबहादुर थापा छन् । 

परराष्ट्रबाट राजदूत भएकाहरूमध्ये इजिप्टका राजदूत अर्याल, जर्मनीका लागि राजदूत खनाल र रुसका लागि राजदूत घिमिरेले सेवाबाट अवकाश पाइसकेका छन् । पाकिस्तानबाट फर्केकी सहसचिव लम्साल परराष्ट्रमा भरतराज पौड्यालपछि वरिष्ठतम् सहसचिव हुन् । लम्सालसहित सहसचिवहरू दुर्गाबहादुर सुवेदी, तारा पोखरेल, लोकबहादुर थापा र प्रकाश सुवेदी भने परराष्ट्रमा हाजिर हुनेछन् । परराष्ट्रसचिव शंकरदास बैरागी मुख्यसचिव नियुक्त भएपछि वरिष्ठतम् सहसचिव भरतराज पौड्याल बिहीबारदेखि परराष्ट्र मन्त्रालयको निमित्त सचिव भएका छन् । परराष्ट्रका सहसचिवहरू हरिश्चन्द्र घिमिरे, निर्मलराज काफ्ले, भरतराज रेग्मी, रामप्रसाद सुवेदी, काली पोखरेललगायत राजदूतका दाबेदार छन् । 

नेपालले हालसम्म एक सय ६८ देशसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ, ३३ देशमा नेपाली राजदूतावास छन् भने पाँच स्थानमा महावाणिज्य दूतावास र एक स्थानमा वाणिज्य दूतावास छन् । राजदूतावास रहेका ३३ मुलुकमध्ये दुई वर्षदेखि श्रीलंका, दक्षिण अफ्रिका र दक्षिण कोरियामा नेपाली राजदूत रिक्त छन् । 

ad
ad