१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ असोज १३ मंगलबार
  • Friday, 04 July, 2025
रोल्पाको लिवाङमा रहेको जिल्ला कारागार कार्यालय । तस्बिर :नवीन लोचनमगर ।
२o७७ असोज १३ मंगलबार १९:२६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

जीर्ण कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ असोज १३ मंगलबार १९:२६:oo

जीर्ण बनेको रोल्पा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी राखिएको छ । ४२ वर्षअघि बनेको कारागारको क्षमताअनुसार ३५ पुरुष र १३ महिला रहनुपर्नेमा अहिले ८० पुरुष र सात महिला कैदीबन्दी छन् । क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या हुने गरेको जेलर कमला घिमिरेले बताइन् । ‘कैदीबन्दी धेरै भएपछि भर्खर १४ जनालाई अन्य जिल्ला सरुवा गरेका छौँ,’ जेलर घिमिरेले भनिन्, ‘जेनतेन बसिरहे पनि समस्या धेरै छन् ।’ 

सुत्नलाई समेत कोचाकोच हुनुका साथै खाने, पिउने, नुहाउनेलगायत दैनिकी कार्यमा समस्या हुँदै आएको छ । कारागार प्रशासनका अनुसार जीर्ण र अपुग संरचनाकै कारण कैदीबन्दीबीच आन्तरिक झगडा हुने, खान, बस्न र भेटघाटमा आउने आफन्तका लागि समेत उचित ठाउँ छैन । 

ढुंगाको छानो वर्षाभरि चुहिन्छ
०३५ मा सिमेन्टको प्रयोगविना बनाइएको कारागारको भौतिक संरचना अझै उस्तै छ । बाहिरी पर्खाल बलियो गरी लगाइएको भए पनि भित्री संरचना जीर्ण अवस्थामा छ । ढुंगाको छानो पूरै भग्नावशेष भइसकेकाले वर्षाभरि पानी चुहिने गरेको कारागार कार्यालयले जनाएको छ । केही वर्षअघि कैदीबन्दी सुरुङ खनेर भागेका थिए ।  

भवनका साथै शुद्ध पिउने पानी, मनोरञ्जनका लागि आवश्यक सामग्री, खेलकुद मैदान, सीप आर्जनका लागि आवश्यक कच्चा पदार्थलगायत धेरै समस्या रहेको जेलर घिमिरेले बताइन् । ढुंगाको छानो वर्षाभरि चुहिने र हिउँदमा जाडोले सताउने गरेको कैदीबन्दीहरू बताउँछन् । त्यस्तै अँध्यारो कोठामा कोचिएका कैदीबन्दीका लागि वेलावेला उडुस, उपियाँले पनि सताउने गरेको छ । 

कैदीबन्दीले बाँसद्वारा निर्माण गरिने विभिन्न वस्तु, ढाकाटोपी, स्वीटर, ऊनका वस्तुहरु निर्माण गर्दै आएका छन् । उनीहरूले निर्माण गरेका वस्तुहरू बिक्रीका लागि समेत समस्या हुने गरेको कैदीबन्दी बताउँछन् । निर्मित सामग्री बिक्री नहुँदा भेटघाटमा आउने आफन्तलाई ती सामग्री दिने गरेको कैदीबन्दीहरू बताउँछन् । 

कैदीबन्दीका लागि जिल्लाको रेउघामा नयाँ कारागार बनाउने कार्य सुरु भएको र जसका लागि डिपिआर गरिसकिएको घिमिरेले जानकारी दिइन् ।