१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ६ मंगलबार १९:२३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

घुस खान नमान्ने १७ प्रहरी पुरस्कृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ६ मंगलबार १९:२३:००

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम कार्यान्वयनमा राम्रो भूमिका खेल्ने १७ जनालाई पुरस्कृत गरेको छ । महाशाखाले सवारी नियम उल्लंघन गर्ने चालक–सहचालकले घुसको प्रस्ताव गर्दासमेत त्यसको वास्ता नगरी नियम कार्यान्वयनमा जोड दिने इमानदार प्रहरीलाई पुरस्कृत गरेको हो ।

राम्रो काम गर्ने प्रहरीहरूलाई महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले मंगलबार टीका, दोसल्ला र प्रशंसापत्र प्रदान गरे । नेपाल प्रहरीले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गरी सवारी नियम उल्लंघन गर्ने चालक–सहचालकले आर्थिक प्रलोभनमा पार्न खोज्दा कुनै पनि प्रलोभनमा नपरी इन्कार गर्नुका साथै त्यस्तो कार्यमा संलग्नलाई नियमानुसार कारबाहीको दायरामा ल्याई आफ्नो जिम्मेवारी पूर्ण रूपमा पूरा गर्ने प्रहरीहरूलाई सम्मान गरिएको महाशाखाका प्रमुख एसएसपी ढकालले बताए । 

महाशाखाले यसअघि ५० जना ट्राफिक प्रहरीलाई विभिन्न मितिमा पुरस्कृत गरिसकेको छ । महाशाखाले ट्राफिक प्रहरीको कार्यसम्पादनमा चुस्त दुरुस्त एवं पारदर्शिताको विषयमा कुनै कमी–कमजोरी, लापरबाही तथा आर्थिक अनियमितता गरेको पाइएमा तत्कालै नजिकको ट्राफिक प्रहरी कार्यालय एवं सम्बन्धित निकायमा सूचित गरिदिन पनि सर्वसाधारणमा अपिलसमेत गरेको छ ।

अनैतिक कार्य गर्ने ७७ जना भने कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीले त्यस्तो अनैतिक कार्य गर्ने चारजनालाई सेवाबाट निकाला गरेको छ ।