Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ चैत २ बुधबार १४:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महाशाखाको होली सुरक्षा योजना : १३ सयभन्दा बढी ट्राफिक प्रहरी खटाइने, ६८ स्थानमा विशेष चेकजाँच हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ चैत २ बुधबार १४:४५:००

महानगरीय ट्राफिक प्रहरी महाशाखाले रंगहरूको पर्व होली (फागु पूर्णिमा)लाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौं उपत्यकाको तीनै जिल्लामा इक हजार तीन सयभन्दा बढी ट्राफिक प्रहरी खटाई ट्राफिक व्यवस्थापन कडा गरिएको बताएको छ । होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली पर्व बनाउन महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी आफ्नो जनशक्ति परिचालन गर्ने निर्णय गरेको महाशाखाले जनाएको छ । 

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले सबै ट्राफिक इकाइ तथा इन्चार्जहरूलाई ट्राफिक व्यवस्थापन कडा बनाउन निर्देशन दिएका छन् । ‘फागु पूर्णिमाको अवसरमा हुने सवारी व्यवस्थापनको विभिन्न चुनौतीहरू तथा खतराहरूलाई यथार्थपरक विश्लेषण र मूल्यांकन गरेर प्रविधि उपकरणहरूको समुचित उपयोग गर्ने गरी विशिष्टीकृत ट्राफिक प्रहरी परिचालन गर्न लागेका छौँ,’ एसएसपी जोशीले भने । उनले बिहीबार बिहानैदेखि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा दुईवटा अनुगमन टोली, १४ वटा मोबाइल टोली, सवारीसाधन अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरिने जानकारी दिए । 

उच्छृंखल तथा अवान्छित तरिकाले सवारीसाधनको प्रयोग गर्ने, तीव्र गति र जिकज्याक गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी मोटरसाइकल कुदाउने, मोटरसाइकलमा हेलमेट नलगाउने, मोटरसाइकलमा तीनजनाभन्दा बढी सवार गरी चलाउने, सवारीसाधनको प्रयोग गरी महिलाहरूलाई लक्षित गरी रङ, लोला हान्ने र अभद्र व्यवहार गर्ने, ठूलो आवाज निकाल्ने र मोडिफाई गरी सवारी चलाउने, सवारीचालक अनुमतिपत्र नभएकाहरूले सवारीसाधन चलाउने, ट्राफिक नियमविपरीत सवारी चलाउनेमाथि विशेष निगरानी गर्ने गरी महाशाखाले सुरक्षा योजना तयार गरेको जनाइएको छ ।

महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ६८ स्थानमा विशेष चेकजाँचको व्यवस्था मिलाएको छ भने बिहानैदेखि मापसे परीक्षणमा कडाइ गर्ने भएको छ । फागु पूर्णिमालाई दुर्घटनारहित, व्यवस्थित, मर्यादित र सुरक्षित पर्वको रूपमा मनाउन महाशाखाले विशेष अनुरोधसमेत गरेको छ ।