१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नवराज मैनाली काठमाडौं
२०७७ असोज १ बिहीबार २१:२८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यस वर्ष करिब ६ सयलाई विभूषण, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई  प्राथमिकता  

Read Time : > 1 मिनेट
नवराज मैनाली, काठमाडौं
२०७७ असोज १ बिहीबार २१:२८:००

सरकारले यो वर्ष संविधान दिवसको अवसरमा करिब ६ सय जनालाई विभिन्न प्रकारका विभूषण दिने भएको छ । विभूषणमा  कोभिड– १९ रोकथाम तथा उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई प्राथमिकतामा राखिएको छ । संविधान दिवसको अवसरमा शनिबार विभूषण पाउनेहरूको नाम सार्वजनिक हुँदै छ ।   

बिहीबारको मन्त्रिपरिषद्को बैठकमा विभूषणको सूचीमाथि छलफल भएको छ । करिब ६ सयलाई विभूषण दिने सूची तयार भएको र त्यसमा केही हेरफेर हुन सक्ने एक मन्त्रीले बताए । 

गृह मन्त्रालयका एक अधिकारीका अनुसार बिरामीको उपचारमा प्रत्यक्ष रूपमा संलग्न चिकित्सक, नर्स, ल्याबका कर्मचारी र सुरक्षाकर्मीको योगदानको कदर गरी उनीहरूलाई प्राथमिकता दिएर विभूषण दिने तयारी छ । गृहले स्वास्थ्य मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संख्या पनि विभूषण पाउनेमा छन् ।  

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको विभूषण सिफारिस समितिले मन्त्रिपरिषदमा विभूषण पाउनेहरूको सूची  बुझाएको हो ।    

गत असारमा मात्र सरकारले विभूषणसम्बन्धी नियमावली संशोधन गरी एक वर्षमा बढीमा दुई सयलाई मात्र विभूषण दिने निर्णय गरेको थियो । विशेष परिस्थिति भएको भन्दै त्यसलाई संशोधन गरी करिब ६ सयलाई दिने लागिएको हो । 

विभूषणको ओज घटेको भन्दै यो वर्ष मानपदवी एक सय तथा अलंकार र पदक ५०–५० वटा मात्र दिइने गृह मन्त्रालयले जनाएको थियो । विशेष परिस्थितिका कारण सो प्रावधान लागू नहुने भएको छ । गत वर्ष ६ सय ३३ जनालाई विभूषण दिने घोषणा भएको थियो । १ वैशाखमा विभूषण दिने चलन भए पनि यो वर्ष कोरोनाका कारण वितरण हुन सकेको छैन । सामान्य अवस्था भएपछि मात्र गत वर्षको विभूषण दिइने गृह मन्त्रालयले जनाएको छ । 

सरकारले नियमावली संशोधन गरी विभूषणको सुशोभन समारोह भएको एक वर्षभित्र कसैले लिन नआएमा त्यो विभूषण स्वतः खारेज हुने प्रावधान पनि राखिएको छ । हाल एक सयभन्दा धैरै व्यक्तिले वर्षाैंदेखि विभूषण लिएका छैनन् । विभूषण छनोटप्रति असन्तुष्टि जनाउँदै धेरैले लिएका छैनन् । 

नियमावलीमा भ्रष्टाचार, जबर्जस्तीकरणी, मानव बेचबिखन तथा ओसारपसार, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण तथा नैतिक पतन देखिने अन्य फौजदारी मुद्दा लागेका व्यक्तिले विभूषण नपाउने उल्लेख गरिएको छ । लिइसकेपछि पनि त्यस्तो अपराधमा दोषी ठहर भएमा फिर्ता गरिने गरी नियमावली संशोधन गरिएको छ ।   

योपटक केही विभूषणको नाम पनि परिवर्तन गरिएको छ । प्रथम श्रेणीको राष्ट्रदीपको नाम महाउज्ज्वल राष्ट्रदीप  प्रथम श्रेणी राखिएको छ । द्वितीय श्रेणीको राष्ट्रदीपको नाम उज्ज्ववल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणी राखिएको छ । 

प्रथम श्रेणीको जनसेवाश्रीको नाम सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम तथा द्वितीय श्रेणीको जनसेजाश्रीको नाम  सुप्रसिद्ध प्रबल जनसेवाश्री द्वितीय श्रेणी नाम राखिएको छ ।