१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १९:३६:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

४० रुपैयाँमा किनेको प्याज १२० मा बिक्री, गोदाममा प्याज थन्क्याएर कृत्रिम अभाव देखाउने व्यापारी पक्राउ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १९:३६:oo

काठमाडौंको बल्खु तरकारी बजारमा १५ दिनअघि नै खरिद गरेको प्याज गोदाममा लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने एक प्यापारी पक्राउ परेका छन् । आफ्नै नाममा होलसेल र खुद्रा व्यापारिक फर्म दर्ता गरी गोदाममा प्याज राखेर कृत्रिम अभाव सिर्जना गर्ने व्यापारी सुनील केसीलाई प्रहरीले हिरासतमा लिएको हो । 

रातारात प्याजको मूल्य आकासिएको र बजारमा कृत्रिम अभाव सिर्जना भएको गुनासो आएपछि काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिको टोली अनुगमनका लागि बल्खु पुगेको थियो । बिहान ६ बजे बजारमा  उपभोक्ता बनेर पुगेको अनुगमन टोलीलाई व्यापारीले बिक्रीका लागि प्याज नै धेरै नभएकाले  प्रतिकेजी १२० रुपैयाँ मूल्य पर्ने बताएका थिए ।

‘हामीले एस.के. सप्लायर्समा पुगेर प्याजको भाउ सोध्दा भारतबाट आयात रोकिएकाले प्याज नभएको र मूल्य बढेको भने । करकाप गर्दा १२० रुपैयाँमा थोरै मात्र प्याज पाइने बताए,’ महानगरको कृषि विभागका प्रमुख हरि भण्डारीले भने । भारतले प्याज निकासी रोकेको भन्दै सो सप्लायर्सले मंगलबार भने एक सय देखि एक सय १० रुपैयाँसम्ममा कारोबार गरेको बताएको थियो ।

अनुगमन टोलीले बजारमा सोधपुछ गर्दै जाँदा खुद्रा पसलका रूपमा एस.के. सप्लायर्स सञ्चालन गर्ने व्यापारी सुनील केसीकै चुली सगरमाथा ट्रेडर्स नामको होलसेल पसल पनि सँगै रहेको रहस्य खुल्यो । खुद्रा पसलमा प्याज अभाव देखाउने केसीले सञ्चालन गरेको ट्रेडर्सले करिब दुई सय पचास बोरा प्याज गोदाममा भण्डारण गरेका रहेछ । 

‘१५ दिनअघि नै ४० रुपैयाँ प्रतिकेजीका दरले खरिद गरेको प्याज अहिले अभाव देखाएर ११०–१२० रुपैयाँसम्ममा बिक्री भइरहेको पाइयो, यसले अहिले बजारमा भइरहेको उपभोक्ता ठगीको अनुहार देखाएको छ,’ उपभोक्ता हित संरक्षण तथा अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले भने । बुधबार काठमाडौंका खुद्रा पसलहरूमा प्याज प्रतिकेजी एक सय ५० रुपैयाँसम्म किनबेच भएको छ । 

केसीले १५ दिनअगाडि खरिद गरेको प्याजको मूल्य ४० रुपैयाँ रहेको भन्सार तिरेको बिल देखाएका थिए । उनले त्यही प्याज ६८ रुपैयाँदेखि माथि ७०, ८०, ९० हुँदै एक सय २० रुपैयाँसम्ममा बिक्री गरेका पाइएको अनुगमन समितिले जनाएको छ । 

केसीले आफ्नै होलसेलबाट खरिद गरेर आफ्नै खुद्रा पसलबाट दोब्बर मूल्यमा किनबेच गरेको पाइएको उपभोक्ता मञ्चका अध्यक्ष तिमल्सिनाले बताए । केसीले खरिद मूल्यभन्दा दोब्बर लिएर बिक्री गरेको र गोदाममा ठूलो मात्रामा प्याज भण्डारण हुँदाहुँदै कृत्रिम अभाव देखाएको भन्दै समितिले प्रहरीको जिम्मा लगाएको थियो । 

पक्राउ परेका केसीलाई कालोबजारी ऐनअन्तर्गत मुद्दा चलाउने महानगरीय प्रहरी वृत्तका डिएसपी अपिलराज बोहराले जानकारी दिए । भारतले प्याज निकासी बन्द गरेको खबरपछि काठमाडौंमा मंगलबारदेखि एकाएक कृत्रिम अभाव चुलिएको छ । 

केही दिनअघिसम्म कालिमाटी र बल्खुबजारमा प्रशस्त प्याज देखिए पनि बुधबार सबै व्यापारीले प्याज अभाव रहेको बताएका महानगरको कृषि विभागका प्रमुख भण्डारीले बताए । ‘आयात रोकिएपछि केही दिनपछि अभाव हुनु स्वाभाविक हो, तर यहाँ आयात रोकियो भन्ने सुन्न नपाउँदै कृत्रिम अभाव सिर्जना गरिएको छ, यसले उपभोक्तालाई ठग्ने प्रवृत्ति कायम छ भन्ने पुष्टि हुन्छ,’ उनले भने । 

निषेधाज्ञा अवधिमा तरकारीको मूल्यमा मनपरी भएको गुनासो आएपछि महानगरपालिकाको अनुगमन समितिले तरकारी तथा फलफूल बजारको अनुगमन गरी खरिद–बिक्री बिल अनिवार्य रूपमा जारी गर्न निर्देशन दिएको थियो । तर, सो निर्देशनसमेत व्यवसायीले पालना गरेका छैनन् । 

‘भारतले निकासी रोक्छु भन्न नपाउँदै यहाँ कृत्रिम अभाव हुन्छ, उपभोक्तालाई ठग्न कालोबजारी गरिन्छ, अरू त त्यस्तै हो, सरकारी व्यवस्थापनको तरकारी बजारमै एकैरातमा प्याजको मूल्य प्रतिकेजी ५० रुपैयाँ बढ्नुको कारण के हो,’ उपभोक्ता मञ्चका अध्यक्ष तिमल्सिनाले भने । 

उनी सरकारी निकाय र कर्मचारीको मिलेमतोमै बजारमा कालोबजारी हुने गरेको शंका गर्छन् । ‘कालोबजारीमा व्यक्ति मात्रै हाेइन, सरकारी निकायको पनि संलग्नता देखिन्छ, मंगलबार ७०–९० रुपैयाँ रहेको सरकारी मूल्य बुधबार एकैपटक कसरी ११७–१२० रुपैयाँ पुग्यो,’ उनी भन्छन् । 

टोलीले बुधबारै कालिमाटी तरकारी बजारमा समेत अनुगमन गरेको थियो । बजार व्यवस्थापनले बुधबारका लागि प्याजको मूल्य ११७ रुपैयाँदेखि १२० रुपैयाँसम्म पर्ने सार्वजनिक गरेको थियो । ‘सरकारी व्यवस्थापनको तरकारी बजारको मूल्य नै १२० छ, हामीले एक सय ५० रुपैयाँ लिनु कुन ठूलो भयो र ?,’ एक व्यापारीले भने । 

समितिका निर्देशक विनोदकुमार भट्टराई भने समितिले मूल्य निर्धारण नभई बजारमा किनबेचको अवस्थाको मूल्य राख्ने गरेको बताउँछन् । अनुगमनपछि काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले आयातमा कम भए पनि त्यसको बहनामा अस्वाभाविक मूल्य वृद्धि गर्नु गलत भएको बताइन् । 

काठमाडौं महानगरले बजार अनुगमन निर्देशिका जारी गरेको छैन । तर, केही सातायता निरन्तर बजार अनुगमन गरिरहेको छ । समितिकी संयोजक उपप्रमुख खड्गी भन्छिन्, ‘गुणस्तर, मूल्य र सहजताका दृष्टिले उपभोक्ता पाइलैपिच्छे ठगिएका छन्, यसलाई कम गर्न अब महानगरले निरन्तर अनुगमन र दोषीलाई कारबाही गर्छ ।’ 

म्याद गुज्रेका खाद्य सामग्री नष्ट
काठमाडौं महानगरपालिकाले अनुगमनका क्रममा चाबहिल चोकनजिकैको साबरिया होलसेल मार्टको गोदामबाट फेला परेको म्याद गुज्रेका एक लाख रुपैयाँ मूल्यबराबरको खाद्य सामग्री बरामद गरी नष्ट गरेको छ । 

बुधबार अनुगमनपछि समितिले स्थानीय वडा सदस्य कृष्णमणि भट्टराईको रोहवरमा सामान बरामद गरी नष्ट गरेको छ । नष्ट गरिएका खाद्यवस्तुमा ब्रिटानिया कम्पनीबाट उत्पादन भएका गुड डे ब्रान्डका परिकार, क्याटवरीका बोनबिटा, हर्लिक्स, क्वालिटीका वटर, वनवनजस्ता प्याकेजिङ गरिएका खाद्यवस्तु छन् । पसलमा भेटिएका र उपभोग हुने मिति सकिएका लेज, कुरकुरे, लिची जुस, चिउरा, पिनट्स, बकुल्लालगायत नष्ट गरिएको छ । 

ad
ad