१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १५ बिहीबार १३:२०:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

खुले होटेल तथा रेस्टुरेन्ट : आफ्नो होटेल टिकाउन व्यवसायी–व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा हुने खतरा रहेको होटेल सञ्चालकहरूको भनाइ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १५ बिहीबार १३:२०:००

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको बन्दाबन्दीको चार महिनापछि होटेल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालनमा आएका छन् । 

होटेल व्यवसाय सञ्चालनमा आए पनि अन्तर्राष्ट्रिय हवाई उडान सुचारु नहुँदासम्म ठूला होटेलहरूले ग्राहक नपाउने निश्चित छ । 

हवाई उडान सुचारु भएपछि पनि ग्राहक कम हुने भएकाले होटेलहरूबीच अस्वस्थ प्रतिस्पर्धा हुन सक्ने सम्भावना देखिएको व्यवसायीहरूले बताएका छन् ।

सरकारले ६ साउनबाट औपचारिक रूपमा बन्दाबन्दी नरहेको घोषणा गर्दै विभिन्न क्षेत्रलाई सुचारु गराएको थियो । 

त्यस्तै १५ साउनदेखि पर्यटन क्षेत्र सञ्चालन गर्न स्वीकृति दिने निर्णयसमेत गरेको थियो । 

त्यसैले आजैदेखि होटेल तथा रेस्टुराँलगायत ट्रेकिङ, ट्राभल र पर्वतारोहणका कार्यालयहरू सञ्चालनमा आएका छन् ।

सरकारले पर्यटन क्षेत्रलाई सुचारु गर्न दिए पनि होटेल सञ्चालन गर्न समस्या रहेको होटेल व्यवसायीहरूले बताएका छन् । 

खासगरी तारे होटेलका ग्राहक पर्यटक भएकाले अन्तर्राष्ट्रिय उडान सञ्चालन नहुँदासम्म होटेल सञ्चालन गर्नुको कुनै अर्थ नभएको होटेल सञ्चालकहरूले जनाएका छन् । 

बाह्य उडान सञ्चालनमा आएपछि पनि पर्यटक आउने सम्भावना कम भएकाले होटेलमा ग्राहक नै नहुने हुन कि भन्ने चिन्तामा व्यवसायीहरू छन् । 

व्यवसायीहरूले पर्यटकको संख्या बढाउन अन्तर्राष्ट्रिय बजारमा नेपालमा कोभिड १९ संक्रमणको जोखिम कम रहेको सन्देश सरकारले प्रवाह गर्नुपर्ने बताएका छन् ।

व्यवसायीहरूले अन्तर्राष्ट्रिय उडान सुचारु भएपछि केही पर्यटक आउन सक्ने भएकाले ती पर्यटकलाई आफ्नो होटेलमा तान्न पाँचतारे होटेलहरूबीच प्रतिस्पर्धा हुन सक्ने देखिएको बताएका छन् । 

सीमित ग्राहकलाई आफूतिर तान्न होटेलहरूबीच अस्वस्थ प्रतिस्पर्धा हुने सम्भावना रहेको पनि होटेल व्यवसायीहरू बताउँछन् । 

होटेल संघकी अध्यक्ष सिर्जना राणाले पाँचतारे होटेलहरूबीच शुल्कमा अस्वस्थ प्रतिस्पर्धा हुन सक्ने सम्भावना देखिएको बताइन् । 

होटेलको रेटमा अस्वस्थ प्रतिस्पर्धा भए यसले नेपालको होटेल क्षेत्रलाई नै बिगार्ने राणाले बताइन् । 

उनले ग्राहक तान्नका लागि रेट घटाउने काम भए होटेल क्षेत्रलाई लामो समयसम्म असर गर्ने बताइन् । 

कोभिड– १९ संक्रमणको जोखिमका कारण पूर्णक्षमतामा होटेल सञ्चालन गर्न सक्ने अवस्था पनि छैन । 
यसबाट होटेलको सञ्चालन लागत बढ्ने उनले बताइन् । 

त्यसैले खर्च उठाउनका लागि पनि होटेलहरूबीच अस्वस्थ प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ । 

सोल्टी होटेलका उपाध्यक्ष सुदर्शन चापागाईंले होटेलहरूबीच अस्वस्थ प्रतिस्पर्धा भएकाले होटेलहरूको सुविधा कटौती हुन सक्ने सम्भावना रहेको बताए । 

त्यसैले सकारले नै न्यूनतम मापदण्ड तोकेर होटेलहरूलाई निर्देशन दिन सके सम्भावित अस्वस्थ प्रतिस्पर्धामा कमी आउन सक्ने चापागाईंले बताए । 

पाँचतारे होटेलका लागि मुख्य बजार भारत र चीन भएकाले पनि ती दुई देशको स्थिति सामान्य नहुँदासम्म पर्यटक कम संख्यामा आउने चापागाईंले बताए । 

त्यसलै सरकारले होटेल सञ्चालन गर्न दिएपछि कसरी बचाउने भन्ने चुनौतीका रूपमा रहेको उनको भनाइ छ । 

धेरैजसो होटेलहरूको सञ्चालन खर्च ठूलो भएकाले त्यसलाई धान्न ठूलो चुनौती रहेको उनले बताए । 

सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू १ भदौबाट सञ्चालन गर्ने निर्णय गरेको र त्यसपछि मात्रै विदेशी पर्यटक नेपाल घुम्न आउने वातावरण बन्ने भएकाले पाँचतारे होटेलको व्यापार पनि त्यसपछि नै सुचारु हुने व्यवसायीहरूले बताएका छन् ।