१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ६ मंगलबार १२:१४:००
Read Time : < 1 मिनेट
समाचार

राष्ट्रिय सभामा सत्तापक्षका सांसदद्वारा नीति तथा कार्यक्रमको बचाउ, प्रतिपक्षी सांसदद्वारा विरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ ६ मंगलबार १२:१४:००

राष्ट्रिय सभाका नेकपा संसदीय दलका नेता दीनानाथ शर्माले सरकारको नीति तथा कार्यक्रम समयसापेक्ष र मुलुकको आवश्यकताअनुकूल रहेको भन्दै बचाउ गरेका छन् । 

राष्ट्रिय सभाको मंगलबारको बैठकमा बोल्दै उनले राष्ट्रिय आवश्यकता, सोचाइको धरातल र उचाइका आधारमा सरकारको नीति तथा कार्यक्रम केही ठूलो र विस्तृत भएको बताए । 

सरकारको सोचको उचाइअनुसार नीति तथा कार्यक्रम पनि ठूलो भएको उनले बताए । 

उनले लोकतान्त्रिक मूल्यमान्यताको वस्तुगत धरातल, वर्तमान आवश्यकतालाई सम्बोधन, समाजवादउन्मुख, राष्ट्रिय हित, राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्तालाई आत्मसात् गरेकाले नीति तथा कार्यक्रम समयसापेक्ष र मुलुकको आवश्यकताअनुकूल भएको दाबी गरे । 

उनले बुँदा नम्बर २६९ मा उल्लेख गरिएको प्रतिबद्धताअनुसार सरकारले सोमबार नेपालको नयाँ नक्सा जारी गर्ने निर्णय गरेर  नीति तथा कार्यक्रममा उल्लेखित प्रतिबद्धता पूरा गरेको बताए । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेसका राष्ट्रिय सभाका संसदीय दलका नेता राधेश्याम अधिकारीले सरकारको नीति तथा कार्यक्रम वर्तमान संकट समाधान गर्ने दृष्टिले अपूरो भएकाले पुनर्लेखन गर्न माग गरे । 

कोराेना भाइरसविरुद्धको महामारी रोकथाम तथा नियन्त्रण र आर्थिक संकट समाधानका लागि सबै दलहरूबीच राष्ट्रिय एकता हुनुपर्नेमा आफूहरूको विमति नभएको भन्दै उनले  अपूरो दस्ताबेजलाई पूरा गर्न माग गरे । 

उनले भने, ‘दुईवटा अध्यादेश आए अनि चार दिनपछि फिर्ता लिइयो । के त्यो लोकतन्त्रअनुकूलका हुन् ? लोकतन्त्रलाई बलियो बनाउन ल्याएको हो ?’

उनले सरकारले समानुपातिक समावेशी सिद्धान्तलाई अनुशरण गर्न नसकेको, राजनीतिक विचलनमा सरकार खरो उत्रन नसकेको, कोभिड– १९ संक्रमणको अवस्था आकलन गर्न नसकेको, भेन्टिलेटरलगायतका स्वास्थ्य उपकरणा तयारी गर्न नसकेको आरोप लगाए ।