राष्ट्रिय सभा अध्यक्ष दाहालसँग गणतन्त्र कोरियाको संसदीय टोलीको शिष्टाचार भेट

मंगलबार, ४ बैशाख, २०८१
डिजिटल संस्करण

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेको गणतन्त्र कोरियाको संसदीय प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ।

सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्षको कार्यकक्षमा मंगलबार गणतन्त्र कोरियाको राष्ट्रिय सभाको संस्कृति, खेलकुद तथा पर्यटन समितिका अध्यक्ष एवं कोरिया–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष साङ–हेओन ली नेतृत्वको टोलीले शिष्टाचार भेट गरेको हो। भेटमा नेपाल–कोरिया कूटनीतिक सम्बन्ध, संसदीय अनुभव आदान–प्रदान र आपसी सहयोगका विषयमा छलफल भएको बताइएको छ।

सो अवसरमा अध्यक्ष दाहालले नेपाल–कोरिया कूटनीतिक सम्बन्धको ५० वर्ष पूरा भइसकेको चर्चा गर्दै अहिलेसम्मको सौहार्द र मैत्री सम्बन्धलाई अझै उचाइमा पुर्याउन आगामी दिनमा संसदीय अनुभव आदान–प्रदान, आपसी सहयोग र सहकार्य विस्तार गर्दै लैजानुपर्नेमा जोड दिए।

कोइकामार्फत कोरियन सरकारले नेपालको जलविद्युत्, कृषि, अटोमोबाइल्सलगायतका विभिन्न क्षेत्रमा लगानी गरेको चर्चा गर्दै दाहालले कृषि उत्पादनलाई वृद्धि गर्न रासायनिक मल उद्योग स्थापना, प्राविधिक शिक्षामा दक्ष जनशक्ति उत्पादन गर्न सकिने क्षेत्रमा लगानी गर्न पनि आग्रह गरे।

नेपालमा तेस्रो लगानी सम्मेलन हुन लागेको भन्दै अध्यक्ष दाहालले गणतन्त्र कोरिया सरकार र निजी क्षेत्रबाट समेत नेपालमा लगानी गर्न पनि उक्त प्रतिनिधिमण्डलमार्फत आग्रह गरे।

भेटका क्रममा कोरिया–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष लीले दुई देशको सम्बन्ध थप प्रगाढ बनाउन यो भेटघाटले मद्दत गरेको बताए। उनले नेपालको आर्थिक विकास र समृद्धिका लागि कोरिया सरकार सदैव तत्पर रहेको चर्चा गर्दै वैदेशिक लगानीलाई प्रोत्साहित गर्न र छिटोछरितो काम गर्ने वातावरण बनाउन सबैले पहल गर्नुपर्नेमा जोड दिए।

सुझावित समाचार