१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
कांग्रेस सांसद दीपक खड्काले लैनचौरस्थित हडपेको नेपाल स्काउट केन्द्रीय कार्यालयको जग्गा र भवन बिहीबार राति सिल गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयका कर्मचारी । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
सुवास भट्ट काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o८:१४:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

स्काउटको जग्गा हडपेर सांसद खड्काले बनाएको संरचनामा प्रशासनको ताला 

तेस्रो पक्षलाई भाडा लगाएर मासिक ५० लाख उठाउने खड्काले स्काउटलाई ६ करोड ६२ लाख तिर्न बाँकी

Read Time : > 2 मिनेट
सुवास भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:१४:oo

सत्ता र शक्तिको बलमा कांग्रेस सांसद दीपक खड्काले स्काउटको जग्गा हडपेर भाडामा लगाएको संरचनामा काठमाडौं जिल्ला प्रशासनले ताला लगाएको छ । बिहीबार राति काठमाडौं जिल्ला प्रशासनले प्रहरीको सहयोग लिएर वडा कार्यालयसमेतको रोहवरमा रेस्टुरेन्ट र पार्टी प्यालेसमा सिल गरेको छ । खड्काल्यान्डबाट १५ वर्षदेखि भाडामा लिएर सञ्चालनमा रहेको लैनचौर बैंक्वेट र सँगै जोडिएको माई च्वाइस रेस्टुरेन्टमा ताला लगाइएको छ । 

परिषद्को सोमबारको राष्ट्रिय कार्यकारी समिति बैठकले प्रशासनको सहयोग लिएर सिल गर्ने निर्णय गरेको हो । यसबीचमा गृह मन्त्रालयले पनि स्काउटको जग्गा खाली गराउन प्रशासनलाई आदेश दिएको थियो । स्काउट कार्यकारी समिति बैठकको निर्णय बिहीबार बिहान पाएपछि साँझदेखि जिल्ला प्रशासन कार्यालय, काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माको नेतृत्वमा टोली बैंक्वेट र रेस्टुरेन्ट सिल गर्न खटिएको थियो । टोलीमा महानगरीय प्रहरी वृत्तका डिएसपी सत्यनारायण मण्डल र काठमाडौं महानगरपालिका– २६ का वडाध्यक्ष ख्यामराज तिवारी पनि थिए । टोलीले बैंक्वेट र रेस्टुरेन्टको मूल गेटसहित चारवटा ढोकामा सिल गरेको छ । 

हरिप्रसाद शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी, काठमाडौं 
उहाँहरूलाई विगतमा पनि पटक–पटक ठाउँ खाली गर्न आग्रह गरिएको रहेछ, तर मान्नुभएको रहेनछ । पटक–पटक पूर्वजानकारी पाएर पनि ठाउँ खाली नगरिएको अवस्थामा स्काउटको निर्णयसहितको आग्रहपछि प्रशासनले सिल गरेको हो ।

काठमाडौं जिल्ला प्रशासनको टोली सिल गर्न जाँदा बैंक्वेटमा वैवाहिक कार्यक्रम चलिरहेको थियो । पार्टी चलिरहेकाले केही समय कुरेर साढे १० बजेतिर बैंक्वेट नै सिल गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी शर्माले स्काउटको कार्यकारी समिति बैठकको निर्णयसहितको अनुरोध प्राप्त भएपछि बैंक्वेट र रेस्टुरेन्ट सिल गरिएको जानकारी दिए । ‘उहाँहरूलाई विगतमा पनि पटक–पटक ठाउँ खाली गर्न आग्रह गरिएको रहेछ, तर मान्नुभएको रहेनछ,’ उनले नयाँ पत्रिकासँग भने, ‘पटकपटक पूर्वजानकारी पाएर पनि ठाउँ खाली नगरिएको अवस्थामा स्काउटको निर्णयसहितको आग्रहपछि प्रशासनले सिल गरेको हो ।’ सिल गरेसँगै रेस्टुरेन्ट र बैंक्वेटमा अब प्रशासनको निगरानी रहने उनले बताए । यद्यपि, शुक्रबारका लागि बुक भइसकेको विवाह पार्टी भने निगरानीमा चल्न दिने उनले बताए । 

पूर्वराज्यमन्त्रीसमेत रहेका खड्काले स्काउटको तीन रोपनी मात्र जग्गा भाडामा लिएका छन् । खड्काको कम्पनी ‘खड्काल्यान्ड एन्ड डेभलपमेन्ट प्रालि’ले जग्गा भाडामा लिएको हो । तर, सत्ता र शक्तिको बलमा आसपासको १२ रोपनीमा कब्जा जमाएका छन् । ०६५ देखि भाडामा लिएका जग्गा बीचमा नवीकरणसमेत गर्दा ०७५ मा सम्झौताको अवधि सकिसकेको छ । तर, अदालतबाट आदेश लिएर उनले ती जग्गामा हालसम्म पनि कब्जा जमाइरहेका छन् । 

जग्गा खाली गर्न स्काउटले पटक–पटक आग्रह गर्दा पनि उनले अटेरी गर्दै आएका छन् । स्काउटका प्रमुख कार्यकारी रामप्रसाद भट्टराईका अनुसार खड्काल्यान्डले स्काउटलाई तिर्नुपर्ने बक्यौता नै गत चैत मसान्तसम्ममा ६ करोड ६२ लाख रुपैयाँ पुगिसकेको छ । यो ०७५ देखिको हो । ‘आठ महिनादेखि त एक रुपैयाँ पनि रकम स्काउटलाई बुझाएको छैन,’ उनले भने, ‘जति गर्दा पनि नछाडेपछि सिल गर्ने निर्णय गर्न स्काउट बाध्य भएको हो ।’ स्काउटबाट सम्झौता गरेर लिएको र अवैध कब्जा गरेसमेतका संरचना खड्काल्यान्डले तेस्रो पक्षलाई भाडामा लगाएको छ । त्यसबापत मासिक ५० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्छ । तर, स्काउटलाई मासिक बुझाउनुपर्ने २२ लाख बुझाउन भने आनाकानी गर्दै आएको छ । 

सम्झौता अवधि सकिएको, लामो समयदेखि बक्यौता पनि नतिर्ने, उल्टै धाकधम्की र भौतिक आक्रमणमै उत्रिएपछि स्काउटले ठाउँ खाली गर्ने विकल्पमा गएको थियो । यसका लागि गत वर्ष नै रेस्टुरेन्ट र बैंक्वेट खाली गरिदिन सार्वजनिक सूचना निकालेको थियो । काठमाडौं जिल्ला प्रशासनले सिल गरेपछि अब खड्काल्यान्डबाट बक्यौता उठाउने कुरा नै प्रमुख भएको स्काउटका कार्यकारी प्रमुख भट्टराईले बताए ।  

खड्काल्यान्ड हटाएर पोखरी बनाउने महानगरको योजना
काठमाडौं महानगरपालिका पनि उक्त ठाउँ खाली गराउने योजनामा थियो । हाल बैंक्वेट रहेको स्थानमा विगतमा पोखरी रहेको र पुर्जामा पनि पोखरी नै देखिएको वडाध्यक्ष तिवारीले बताए । ‘सानोमा हामीले देख्दा पनि त्यहाँ पोखरी थियो । पुर्जामा पनि पोखरी नै छ । यो विषय महानगरमा पनि उठेको छ,’ उनले भने, ‘यहाँ पोखरी नै बनाउने हाम्रो योजना छ । यो जानकारी स्काउटलाई पनि गराएका छौँ ।’ रेस्टुरेन्ट र बैंक्वेटका प्रबन्ध निर्देशक वीरेन्द्रकुमार श्रेष्ठले भने जिल्ला प्रशासनले विनाजानकारी हठात् सिल लगाएको र यसले आफ्नो व्यवसायमा ठूलो क्षति पुर्‍याएको बताए । ‘खड्काल्यान्डबाट भाडामा लिएर यहाँ व्यवसाय चलाएका हौँ,’ उनले भने, ‘खड्काल्यान्ड र स्काउटको कुरा हामीलाई थाहा भएन । प्रशासनले चलिरहेको पार्टी प्यालेसमा सिल लगाउँदा ठूलो क्षति पुगेको छ ।’ २८ वैशाखसम्म मात्र बैंक्वेटको १३ वटा बुकिङ रहेको र त्यसको एडभान्स पनि लिइसकेको उनले बताए ।

ad
ad