१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २१ आइतबार १४:२६:००
Read Time : < 1 मिनेट
समाचार

‘स्वतन्त्र प्रेस’को सिद्धान्तलाई सम्मान गर्न माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २१ आइतबार १४:२६:००

‘मिडिया एक्सन’ नेपालले राज्यका निकाय र सरोकारवालाहरूलाई स्वतन्त्र प्रेसका सिद्धान्तको सम्मान गर्न आह्वान गरेको छ ।

नेपालले विश्व प्रेस स्वतन्त्रता दिवसलाई विश्वव्यापी महामारी कोरोनाका तथ्य उजागर गर्ने चुनौतीबीच पत्रकारहरूका लागि थप जिम्मेवारीबोध गर्ने र साहस देखाउने दिवसका रूपमा स्मरणसमेत गर्न आह्वान गरेको छ ।

दिवसका सन्दर्भमा मिडिया एक्सन नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भय र पक्षपातरहित पत्रकारिताको नारा दिइएको यस वर्षको प्रेस स्वतन्त्रता दिवसको अन्तर्य पत्रकारले निर्भयपूर्वक सत्य र तथ्यपरक सूचना उत्पादन र सम्प्रेषण गरी भ्रामक र गलत सूचनाको रोकथाम तथा विश्वसनीय पत्रकारिताको प्रवर्द्धनमा योगदान पुर्‍याउन सके मात्र पूरा हुनेछ ।’

विज्ञप्तिमा पछिल्लो समय कोरोना नियन्त्रणसम्बन्धी सामग्री खरिदमा भएको अनियमिततामा मिडियाले उजागर गरेका घटनामा पत्रकारहरूलाई हतोत्साही गरिनु र एक अनलाइनको समाचार ह्याक गरी स्वतन्त्र प्रेसमाथि सकारका विज्ञबाट नै अवरोध सिर्जना गर्नुजस्ता घटनाहरू स्वतन्त्र प्रेसका सन्दर्भमा सरकारको प्रतिबद्धता, मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र, १९४८ र नेपालको संविधान, २०७२ ले प्रत्याभूत गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रता र सञ्चारको हकविरुद्ध भएको भनिएको छ । 

त्यसैगरी चितवनमा कोरोनासम्बन्धी रिपाेर्टिङका क्रममा पत्रकारहरू प्रमिता ढकाल, विनोद रिजाल र अर्जुन अधिकारीलाई दुर्व्यवहारसहित पक्राउ गरिनु, स्थानीय सरकारका प्रतिनिधिहरूबाट विभिन्न ठाउँमा समाचारको विषयमा पत्रकारहरूलाई त्रास र धम्की दिइनु, रेडियो नेपालका कार्यकारी निर्देशक तथा समाचार प्रमुखलाई समाचारको विषयलाई लिएर सञ्चार मन्त्रालयबाट स्पष्टीकरणसहित कारबाही गरिनुजस्ता घटना निन्दनीय भएको ठहर गरिएको छ । 

‘सरकार र राज्यका निकायको गलत काममा निगरानी गर्ने वातावरण सिर्जनाले लोकतन्त्र बलियो हुने र सत्य तथा तथ्यपरक सूचनाले मात्रै नागरिक स्वतन्त्रताको संरक्षणमा सहयोग पुग्ने भएकाले विचार, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताका आफ्ना प्रतिबद्धता पूरा गर्न मिडिया एक्सन नेपाल सरकारलाई आह्वान गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।