१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
डा. टीकाराम गौतम
२०७७ बैशाख १४ आइतबार ०८:२३:००
Read Time : > 5 मिनेट
दृष्टिकोण

लकडाउन यथावत् राख्ने कि खुकुलो पार्ने ?

व्यक्ति र घरपरिवार हेरेर होइन, चुलो निभे या नभिनेको पहिचान गरेर मात्र राहत वितरण गर्नुपर्छ

Read Time : > 5 मिनेट
डा. टीकाराम गौतम
२०७७ बैशाख १४ आइतबार ०८:२३:००

कोभिड–१९ को महामारीबाट नेपाललगायत सिंगो विश्व नै बिस्तारै त्रासपूर्ण बन्दै गएको छ । एकातिर कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ भने अर्कोतिर लकडाउनको अवधि लम्बिँदै गएको छ । यस्तो अवस्थामा यो महामारी नियन्त्रण भएपछि भविष्यमा के–कस्तो सम्भावना जन्मेलान् भन्ने विषयभन्दा वर्तमानमा बाँच्ने र जीविका चलाउने कुरा सबैभन्दा महत्वपूर्ण हो ।

संसारको इतिहासमा विगतमा आएका विभिन्न किसिमका महामारीको समयमा आमनागरिकले भोगेका समस्याका आधारमा नेपालमा पनि संक्रमण र लकडाउन भइरहेको छ । यसले भविष्यको कल्पना होइन, वर्तमानको जीवन नै संकटपूर्ण भइरहेको कुरामा कुनै शंका छैन । यस्तो अवस्थामा हामीले कोरोनापछिको नेपाली समाजको भन्दा कोरानासहितको नेपाली समाजले भोगिरहेको समस्या, देखिएका चुनौती र तत्काल सरकार र आमनेपालीको ध्यान जानुपर्ने विषयमा चर्चा गर्नु आवश्यक छ । 

चीनको वुहानबाट २०१९ को डिसेम्बरमा देखा परेको कोरोना भाइरस अहिले विश्वका २१० देशमा फैलिसकेको छ । यो लेख तयार पार्ने वेलासम्म संसारभरका २१० देशमा २८ लाख ४५ हजार ८६७ संक्रमित, १ लाख ९७ हजार ८४६ को मृत्यु र ८ लाख ११ हजार ६८७ निको भएको तथ्यांक छ । यो संख्या हरेक दिन तीव्र गतिमा बढिरहेको छ । 

अहिलेको तथ्यांकअनुसार संक्रमित बिरामीमध्ये ९७ प्रतिशत माइल्ड र ३ प्रतिशत गम्भीर र संकटपूर्ण अवस्थामा हुने गरेको देखिन्छ । सो ३ प्रतिशत गम्भीर बिरामीमध्ये ८० प्रतिशत निको भएको वा डिस्चार्ज भएको र २० प्रतिशतको मृत्यु भएको तथ्यांकले बताउँछ । यसले नेपालमा बढिरहेको संक्रमितको संख्याले हामी क्रमशः संकटपूर्ण अवस्थामा जान सक्ने जोखिम धेरै रहेको छ भन्ने विभिन्न क्षेत्रको आकलन छ । यस अवस्थामा यसका मुख्य चुनौती र तत्काल राज्यले ध्यान दिनुपर्ने प्राथमिकताका कार्य निम्नानुसार छन् :

मुख्य चुनौती र तात्कालिक आवश्यकता व्यापक परीक्षण 

कोरोना भाइरसको संक्रमण दुई किसिमको परीक्षणबाट पहिचान गरेको देखिन्छ । एउटा पिसिआर र अर्को ¥यापिड टेस्ट किट । यी दुवै तरिकामध्ये पहिलो प्रयोगशालामा गरिने परीक्षण पिसिआरको दायरा निकै कम छ भने तत्काल व्यापक मात्रामा गर्नुपर्ने परीक्षण ¥यापिड टेस्ट किट परीक्षण पनि तुलनात्मक रूपमा कमै भइरहेको देखिन्छ ।

जबसम्म परीक्षणको दायरा फराकिलो बनाइँदैन, तबसम्म संक्रमणको यथार्थ स्थिति थाहा हुँदैन । यसले राज्यले गर्नुपर्ने तयारी र जनताले अपनाउनुपर्ने सजगतालाई चुनौतीपूर्ण बनाउँछ । यसकारण तत्काल यो -यापिड डाएग्नोस्टिक टेस्टको दायरा फराकिलो बनाई सकेसम्म विदेशबाट आएका र क्वारेन्टाइनमा रहेका सबैको तत्काल परीक्षण गर्नु आवश्यक छ । 

संक्रमितमा देखिने लक्षण र अध्ययन अनुसन्धान

कोरोना भाइरसको संक्रमणपछि संक्रमितमा देखिने लक्षण समान भए पनि लक्षण देखिन लाग्ने समय फरक–फरक हुनु स्वाभाविक हो । तर, नेपालको सन्दर्भमा विश्वभर फैलिएको यो महामारीको लक्षण देखिने समयावधि सामान्यतया ० देखि १४ दिनसम्म भएको बताइरहेको अवस्थामा नेपालमा देखिने संक्रमितमा सो अवधिभन्दा भिन्न प्रकृति देखिएको र कतिपय संक्रमितमा सम्भावित अवधिमा त्यस्तो लक्षण नदेखिनुले क्वारेन्टाइनको अवधि कति राख्ने भन्ने कुरामा द्विविधा देखिन्छ ।

यसकारण स्वास्थ्यसँग सम्बन्धित विज्ञ र सो विषयका विश्वविद्यालय र अन्य क्षेत्रका अनुसन्धानकर्ताबाट हाल संक्रमित व्यक्तिमा भएको कोरोना भाइरसको नेपालको सन्दर्भमा देखिएका विशेषता, त्यसले संक्रमितमा पारेको असर, लक्षण देखिने समयावधि, लक्षण र तिनीहरूमा भएका समानता र भिन्नता, निको हुन लाग्ने समय, प्रभावकारी हुने औषधि, आदिजस्ता महत्वपूर्ण पक्षको तत्काल अध्ययन अनुसन्धान गरी उपयुक्त तथ्य आमनागरिकलाई जानकारी गराउनुपर्ने हुन्छ । 

क्वारेन्टाइनको व्यवस्थापन र सञ्चालन

कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न केन्द्रदेखि स्थानीय तहसम्म आवश्यक पर्ने संख्याका क्वारेन्टाइन बनाइएको भन्ने थुप्रै समाचार आइरहेका छन् । यी क्वारेन्टाइन आमनागरिक सजिलै बस्न सक्ने खालको हुनु जरुरी हुन्छ । अधिकांश क्वारेन्टाइनमा खाने, बस्ने, लत्ताकपडा, स्वास्थ्य जाँच, र सुरक्षाजस्ता विश्व स्वास्थ्य संगठनले तोकेका न्यूनतम मापदण्ड पूरा नहुँदा मानिस बस्न नखोज्ने, भागेर हिँड्ने, बिरामी हुने जस्ता समस्या देखिएका छन् ।

परीक्षणको दायरा फराकिलो नबनाएसम्म संक्रमणको यथार्थ स्थिति थाहा हुँदैन र यसले राज्यले गर्नुपर्ने तयारी र जनताले अपनाउनुपर्ने सजगतालाई चुनौतीपूर्ण बनाउँछ ।

यसकारण निर्माण गरिएका क्वारेन्टाइन मापदण्डअनुसार भएको–नभएको तत्काल अनुगमन गरी नभएमा तत्काल आवश्यक सुधार गरेर सबै व्यक्ति विनाहिचकिचाहट उक्त क्वारेन्टाइनमा बस्ने अवस्था निर्माण गर्नुपर्ने हुन्छ ।

लकडाउन र यसको पालना

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सरकारले गरेको लकडाउन जोखिम न्यूनीकरण गर्ने सबैभन्दा महत्वपूर्ण कदम हो । यो प्रभावकारी भएमा जोखिम धेरै न्यून हुन जान्छ । तर, यसको महत्व आमनागरिकले नबुझ्दा वा बुझी–बुझी उल्लंघन गर्दा लकडाउन खुकुलो हुने र संक्रमण फैलिने सम्भावना हुन्छ । अहिले लकडाउनको महत्व नबुझ्नेदेखि, धेरै बुझ्ने र जबर्जस्ती गरेर उल्लंघन गर्नेलाई सचेत बनाउन सरकारी संयन्त्र, सञ्चार माध्यम, र आम सचेत नागरिक संलग्न हुनु आवश्यक छ ।

साथै लकडाउनलाई बिस्तारै खुकुलो बनाउँदै लैजानु पनि आवश्यक छ । यसो गर्दा जिल्ला, खास सहर, स्थानीय तहको सीमाभित्रबाट सुरुवात गर्दै बिस्तारै लकडाउन हटाउनुपर्ने हुन्छ । तर, लकडाउन हटेसँगै संक्रमणको लक्षण देखिएकालाई परीक्षण गर्दै संक्रमितलाई कोरोना विशेष अस्पतालमा उपचार गर्ने यथेष्ट र उपयुक्त व्यवस्था मिलाउनुपर्छ ।  

खाद्यवस्तुको आपूर्ति र वितरण 

लकडाउनको अवधि लम्बिँदै जाँदा एकातिर बजारमा खाद्यवस्तु, फलफूल, तरकारी आदि नपाउने र पाइयो भने पनि पहिलेभन्दा ४–५ गुणा महँगो तिर्नुपर्ने अवस्था सिर्जना हुँदै गएको छ । यससँगै न्यून आय भएका घरपरिवार र आफ्नो घरभन्दा बाहिर भएका व्यक्ति र घरपरिवारको चुलो निभ्ने समस्या देखिएको छ । उनीहरूलाई तत्काल खाद्यवस्तु उपलब्ध गराउन नसके यसले ठूलो समस्या सिर्जना गर्छ ।

यसकारण राहत वितरण कार्यलाई तत्काल तीव्रता दिनुपर्ने देखिन्छ । यसरी राहत वितरण गर्दा सकेसम्म स्थानीय निकाय र प्रतिनिधि एवं आफूलाई समाजसेवी भन्ने राजनीतिकर्मीहरू यो समय क्रियाशील रहनुपर्छ भने वितरण गर्दा व्यक्ति र घरपरिवारको पहिचान गरेर होइन, चुलो निभे–नभिनेको पहिचानका आधारमा राहत वितरण गर्नुपर्छ । यसका लागि सरकार र स्थानीय निकाय इमानदारीसाथ क्रियाशील हुनु आवश्यक छ । यसका साथै छिमेकी, नातेदार, आफन्त र साथीभाइ पनि यस अवस्थामा एकअर्कोलाई मद्दत गर्न तत्पर हुनुपर्छ । 

भारत या अन्य देशबाट आउने नागरिकको व्यवस्थापन

अन्य मुलुक गएका नेपाली नागरिक संकटको समयमा आफ्नो देश आउन खोज्नु उनीहरूको अधिकार हो र उनीहरू अहिले आउन खोजिरहेका छन् । खासगरी भारतबाट आउने ठूलो संख्याका नेपालीले सिमानामा अत्यन्तै दुःख पाएको कुरा सञ्चार–माध्यममा आइरहेको छ । लामो समयसम्म ठूलो संख्याका नेपालीले सिमानामा दुःखपूर्ण जीवन व्यतीत गर्नु लकडाउनको निरन्तरता र क्वारेन्टाइनका लागि अत्यन्त चूनौतीपूर्ण छ । तर, उनीहरूसँगै नेपाल भित्रिन सक्ने कोरोना भाइरसलाई नियन्त्रण गर्न ती नागरिक पनि इमानदार भएर क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ ।

नेपालका भारतका सिमानामा रहेका सम्पूर्ण स्थानीय निकायले सीमाबाट आउने नेपालीलाई नेपालकै भूमिमा क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नु नगरपालिका, गाउँपालिका र वडाका प्रतिनिधिको दायित्व हो । सो कार्य गर्ने क्षमता स्थानीय तहको छ र हुनुपर्छ । यस संकटको अवस्थामा ती स्थानीय तहका जनप्रतिनिधिले आफ्नो क्षमता, इमानदारी र सेवाभाव देखाउनुपर्ने अनिवार्य आवश्यकता छ । 

अस्पतालको स्वास्थ्य–सेवाको निरन्तरता 

कोरोना भाइरको त्रासका कारण देशका विभिन्न स्थानमा रहेका सरकारी र निजी दुवै प्रकारका अस्पतालले कोरोनाबाहेकका बिरामीलाई सेवा दिन नसकेका कारण सामान्य रोगको समेत उपचार नपाएर मानिसको ज्यान गइरहेको अवस्था छ । यस अवस्थामा कोरोनाका बिरामीभन्दा अन्य बिरामीले धेरै समस्या भोग्नुपरिरहेको छ ।

लकडाउनको अवधि लम्बिँदै जाँदा यसले पार्ने बहुपक्षीय प्रभाव हेरेर यसलाई बिस्तारै खुकुलो बनाउँदै लैजानु आवश्यक छ । यसो गर्दा जिल्ला, खास सहर, स्थानीय तहको सीमाभित्रबाट सुरुवात गर्दै बिस्तारै लकडाउन हटाउनुपर्ने हुन्छ।

परिणामतः कतिपयको मृत्युसमेत भएको अवस्था छ । यसलाई व्यवस्थित गर्न कोरोना विशेष अस्पतालको सेवा प्रभावकारी बनाउने र अन्य अस्पतालबाट कोरोनाबाहेकका बिरामीलाई पूर्ववत् उपचार गर्ने व्यवस्था गर्नुपर्छ । आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्नुका साथै चिकित्सक, नर्स र अन्य जनस्वास्थ्यसँग सम्बन्धित व्यक्तिको टिमलाई पिपिईलगायत सामग्री उपलब्ध गराई सुरक्षित र उच्च मनोबलका साथ काम गर्ने वातावरण निर्माण गर्नु जरुरी छ । 

स्थगित पठनपाठन र परीक्षा सञ्चालन

विद्यालय र विश्वविद्यालय तहको सम्पूर्ण पठनपाठन र परीक्षा अनिश्चितकालीन बन्द छ । यसको व्यवस्थापन सञ्चालन चूनौतीपूर्ण छ । यसका लागि अनलाइन, टेलिभिजन र रेडियोमार्फत पठनपाठन सञ्चालनको तयारी गरी सुरुवात गर्नुपर्ने देखिन्छ । साथै, स्थगित परीक्षालाई अनलाइन पद्धतिबाट दिन मिल्ने बनाउनेतर्फ सोची आवश्यक तयारीको प्रक्रिया अगाडि बढाउनुपर्ने देखिन्छ । 

उत्पादन र सेवामूलक कार्यको निरन्तरता

देशका सम्पूर्ण उत्पादन र सेवामूलक कार्य ठप्प छ । यसले राज्यको उत्पादन र सेवाक्षेत्र अत्यन्तै प्रभावित छ र लामो समयसम्म यो ठप्प हुँदा भोलि थेग्न नसक्ने अवस्थामा पुग्न सक्छ । यसको निरन्तरताका लागि सरकारले उद्योगमा व्यवस्था गरेजस्तो आवासीय कार्यलाई अगाडि बढाउँदै सम्भव भएका सेवाक्षेत्रमा घरमै बसी सेवा दिने र अन्य सेवालाई पनि घरमै बसी अनलाइन पद्धतिबाट सेवा दिने व्यवस्था अगाडि बढाउनुपर्ने हुन्छ । 

पारस्परिक परामर्श र आपसी सहयोग

विश्वभर फैलिएको महामारी र लकडाउनका कारण मानिसको मानसिक स्वास्थ्यमा असर पर्न थालेको पुष्टि हुँदै गएको छ । भौतिक आवश्यकतादेखि मनोसामाजिक असर पर्ने यस अवस्थामा पारिवारिक झैझगडा, हिंसा, हत्या, आत्महत्यासम्मका घटना घटिरहेका छन् । यस अवस्थामा अस्पताल र व्यावसायिक व्यक्ति मात्र होइन कि समाजका रहेका बुद्धिजीवी, समाजसेवी, राजनीतिज्ञ, जानकार व्यक्तिहरू, आमसञ्चार–माध्यम र सञ्चारकर्मी आआफ्नो घरपरिवार र छरछिमेकमा परामर्श र सहयोगमा जुट्नु आवश्यक छ । 

वर्तमानको शिक्षाबाट भविष्यको तयारी 

अहिले विश्वव्यापी फैलिरहेको कोभिड–१९ को महामारीको सामना गरिरहँदा महामारीबाट मुक्ति पाउन के–के गर्नु पर्दो रहेछ भन्ने सिकाइ भइरहेको छ । महामारीविरुद्ध लड्ने तयारी गरेका मुलुकले पनि यस किसिमको महामारीको सहज सामना गर्न सकिरहेका छैनन् । तथापि भविष्यमा हुन सक्ने यस्ता महामारीबाट मुक्ति पाउनका लागि आवश्यक पर्ने माथि उल्लिखित पक्षहरूमा राज्यले ध्यान दिँदै इमानदार भई तयारी गर्नु आवश्यक छ ।   

(डा. गौतम समाजशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयका प्रमुख हुन्)