१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
कप्तान ज्ञानेन्द्र मल्लसँग खुसी साट्दै ६ विकेट लिएका सन्दीप लामिछाने । तस्बिर : ज्ञानेन्द्र कार्की
२०७६ फाल्गुण १ बिहीबार ०६:४५:००
Read Time : > 2 मिनेट
खेलकुद

एकै दिन नेपालका दुई विश्वकीर्तिमान

Read Time : > 2 मिनेट
२०७६ फाल्गुण १ बिहीबार ०६:४५:००

कीर्तिमान १ : नेपालले अन्तर्राष्ट्रिय एकदिवसीयमा विपक्षीलाई अहिलेसम्मकै कम योगफलमा समेटेर विश्वकीर्तिमान बनाएको छ । नेपालले अमेरिकालाई १२ ओभरमा ३५ रनमै समेट्यो । समान कीर्तिमान श्रीलंकाको नाममा पनि छ । 

कीर्तिमान २ : थोरै ओभरको इनिङ्स खेल्ने टोलीको इतिहास अमेरिकाको नाममा लेखाएर नेपालले अर्को विश्वकीर्तिमान बनाएको छ । यसअघि जिम्बाबेलाई १३.५ ओभरमा अलआउट गर्दै अफगानिस्तानले यो विश्वकीर्तिमान बनाएकोमा नेपालले अमेरिकालाई १२ ओभरमा समेटेर तोडेको हो ।

नेपालले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा दुई विश्वकीर्तिमान बनाएको छ । आइसिसी विश्वकप लिग–२ शृंखलाअन्तर्गत बुधबार अमेरिकाविरुद्धको खेलमा जितसँगै नेपालले दुई विश्वकीर्तिमान बनाएको हो । 

नेपालले अन्तर्राष्ट्रिय एकदिवसीयमा विपक्षीलाई अहिलेसम्मकै कम योगफलमा समेटेर विश्वकीर्तिमान बनाएको छ । त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरेको अमेरिका १२ ओभरमा ३५ रनमै समेटियो । जवाफमा नेपालले ५.२ ओभर (२६८ बल बाँकी छँदै)मा आठ विकेटले पराजित गरेको हो । सन् २००४ मा श्रीलंकाले जिम्बावेलाई ३५ रनमा समेटेर कम योगफलको कीर्तिमान बनाएको थियो । अब यो विश्वकीर्तिमान नेपाल र श्रीलंकाको नाममा संयुक्त रूपमा रहनेछ । 

त्यस्तै, अमेरिकालाई एक घन्टा ३९ मिनेटमै १२ ओभरले पराजित गर्दा नेपालले अर्को विश्वकीर्तिमान बनायो । योसँगै अन्तर्राष्ट्रिय एकदिवसीयमा थोरै ओभरको इनिङ्स्स खेल्ने टोलीको कीर्तिमान पनि नेपालले अमेरिकाको नाममा जोडिदिएको छ । यसअघि सन् २०१७ मा जिम्बाबेलाई १३.५ ओभरमा अलआउट गर्दै अफगानिस्तानले यो कीर्तिमान बनाएको थियो । 

अमेरिकाविरुद्धको एकदिवसीय खेलमा नेपालले सर्वाधिक कम बलमा जित निकालेर आफ्नै कीर्तिमान पनि कायम गरेको छ । ३२ बलमै नेपालले निकालेको जित विश्व क्रिकेटमा भने तेस्रो स्थानमा छ । यसअघि श्रीलंका र इंग्ल्यान्डले योभन्दा कम बलमा जित निकालिसकेका छन् । इंग्ल्यान्डले सन् १९७९ मा क्यानडाविरुद्ध २७७ बल बाँकी छँदै जित हात पारेको थियो भने श्रीलंकाले सन् २००१ मा जिम्बाबेलाई २७४ बल बाँकी रहँदै पराजित गरेको थियो । सन् २००३ मा श्रीलंकाले क्यानडालाई पनि २७२ बल बाँकी छँदै हराएको थियो ।

आइसिसीबाट एकदिवसीय खेलको मान्यता नपाएको ५० ओभरको क्रिकेटमा भने सर्वाधिक कम बलमा प्राप्त जितको कीर्तिमान नेपालकै नाममा छ । सन् २००६ को एसिसी कपमा नेपालले ओमनविरुद्ध २ बलमै जित हात पारेको थियो । यद्यपि, यो प्रतिस्पर्धाले एकदिवसीय खेलको मान्यता नपाएकाले कीर्तिमान ‘लिस्ट’मा समेटिएको छैन ।

अमेरिकी खेलाडी नेपाली स्पिनरसामु निरीह हुँदा नेपालले तीन कीर्तिमान बनाएको हो । अमेरिकाले आफ्नो सबै विकेट नेपाली स्पिन बलिङमा गुमाएको थियो । त्यसमा लेग स्पिनर सन्दीप लामिछानेले ६ विकेट लिए । बाँकी चार विकेट अर्का स्पिनर सुसन भारीको नाममा रह्यो । 

सुरुवाती दुईबाहेक प्रायः सबै खेलाडी नेपाली स्पिन बलिङमा ‘डिफेन्स’ गर्ने प्रयास गर्दा आउट हुन पुगे । सन्दीपले ६ ओभरमा एक मेडनसहित १६ रन खर्चिए । उनको यो प्रदर्शन अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा व्यक्तिगततर्फ अहिलेसम्मकै उत्कृष्ट रह्यो । समग्रमा एकदिवसीय क्रिकेटमा एसोसिएट देशका खेलाडीले गरेको यो दोस्रो उत्कृष्ट प्रदर्शन हो । यसअघि अफगानिस्तान (टेस्ट टोलीको मान्यता प्राप्त गर्नुअघि)का रासिद खानले वेस्टइन्डिजविरुद्ध ८.४ ओभरमा एक मेडनसहित १८ रन खर्चिएर सात विकेट लिएका थिए । 

यो कीर्तिमानी प्रदर्शनमा नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले खुसी व्यक्त गरे । ‘जितका साथ यो शृंखलाको अन्तिम खेल टुंग्याउन चाहन्थ्यौँ । त्यही मानसिकताले मैदान प्रवेश गरेका थियौँ,’ कप्तान ज्ञानेन्द्रले भने, ‘तर, यो तरिकाले खेल जितिन्छ भन्नेचाहिँ सोचेको थिइनँ । सन्दीप र सुसन भारीले जसरी बलिङ गरे, त्यसले नै यो जित सम्भव बन्यो ।’

अमेरिकी टोलीका कप्तान सौरभ नेत्राभल्करले पनि नेपाली खेलाडीको प्रशंसा गरे । ‘खेलमा हामीले आफ्नो क्षमताअनुसारको प्रदर्शन गर्न सकेनौँ । यसमा कुनै बहाना बनाउन पनि चाहन्नँ,’ कप्तान नेत्राभल्करले भने, ‘नेपालले जसरी खेल्यो, त्यसको श्रेय उनीहरूलाई दिनैपर्छ । विशेषगरी दुई स्पिनरको प्रदर्शन प्रशंसनीय रह्यो ।’