
आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश
नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको बलात्कारको मुद्दामाथिको सुनुवाइ फेरि पर सरेको छ । सर्वोच्च अदालतले यसअघि फागुनमध्यमा सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै धरौटीमा छाडेको थियो भने फास्ट ट्रयाकबाट यस मुद्दाको सुनुवाइ गर्न आदेश दिएको थियो ।
तर, उक्त आदेशको ६ महिना बित्दा पनि मूल मुद्दामाथिको बहस सकिएको छैन । हालसम्म प्रमाणहरू नै बाझिएका र विवादास्पद देखिएका छन् । यसै क्रममा बिहीबार सुनुवाइका लागि पेसी चढे पनि जिल्ला अदालत काठमाडौंले पीडित किशोरीको आमाको उमेर यकिन गर्न आदेश गरेको हो ।
पीडित गौशाला २६ को जन्ममिति सम्बन्धमा पक्ष र विपक्षीका कानुन व्यवसायीको फरक–फरक दाबी रहेकै वेला आमाको उमेरमा समेत भिन्न–भिन्न दाबी देखिएपछि अदालतले प्रमाणीकरण गर्न आदेश दिएको हो । न्यायाधीश राजुकुमार खतिवडाको इजलासले दुईवटा जन्ममिति र दुवैबीच २० वर्षको अन्तर देखिएपछि प्रमाणीकरण गर्न आदेश दिइएको अदालतले जनाएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले १७ वर्षीया गौशाला २६ लाई बलात्कार गरेको भन्दै मुद्दा दायर गरेको छ । उनलाई १० देखि १२ वर्ष कैद सजाय हुनुपर्ने माग गर्दै मुद्दा दायर भएको हो । १४ कात्तिक ०७९ मा मुद्दा दायर भएको थियो ।