१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o८:४३:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा नेपालको नाममा तीन विश्वकीर्तिमान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o८:४३:oo

नेपालले अन्तर्राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा एकै दिन तीनवटा विश्वकीर्तिमान बनाएको छ । चीनको हाङझाउमा चलिरहेको १९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)मा नेपालले डेब्यु गरेको राष्ट्र मंगोलियाविरुद्ध ब्याटिङ गर्दै तीनवटा विश्वकीर्तिमान राखेको हो । 

बायाँहाते ब्याट्सम्यान कुशल मल्लले कम बलमा शतक र दीपेन्द्रसिंह ऐरीले पनि कम बलमा अन्तर्राष्ट्रिय टी–२० मा अर्धसतकीय इनिङ्स खेल्दै विश्वकीर्तिमान राखेका छन् । यसैगरी नेपालले विपक्षी टोलीविरुद्ध अहिलेसम्मकै सर्वाधिक ठूलो योगफल खडा गरेको छ । पहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा तीन विकेटको नोक्सानीमा तीन सय १४ रनको विश्वकीर्तिमान योगफल खडा गर्‍यो । 

यसअघि सन् २०१९ को २३ फेब्रुअरीमा अफगानिस्तानले आयरल्यान्डविरुद्ध २७८/३ को रेकर्ड राखेको थियो । सन् २०१९ मै चेक रिपब्लिकले टर्कीविरुद्ध २७८/४ को रेकर्ड राखेको थियो । नेपालले मंगोलियाविरुद्ध मंगलबार चेक र अफगानिस्तानको विश्वकीर्तिमान तोडेको छ । अस्ट्रेलियाले २०१६ मा श्रीलंकाविरुद्ध २६३/३ को ब्याटिङ गरेको थियो । 

कुशलले ठोके ३४ बलमै सय रन
कुशल मल्लले अन्तर्राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा विश्वकीर्तिमान बनाएका छन् । मल्ल अन्तर्राष्ट्रिय टी–२० फर्म्याटमा कम बलमा शतक प्रहार गर्ने ब्याट्सम्यान बनेका छन् । उनले यो उपलब्धि चीनको हाङझाउमा चलिरहेको १९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत क्रिकेटमा मंगोलियाविरुद्ध बनाएका हुन् । 

मंगोलियाले नेपाललाई पहिलो ब्याटिङ गर्न निम्तो दिएको थियो । पहिलो ब्याटिङ अवसर पाएको नेपालका मल्लले ३४ बलमा दुर्लभ विश्वकीर्तिमान बनाए । यसअघि अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा भारतका कप्तान रोहित शर्मा, दक्षिण अफ्रिकाका डेभिड भिलर र चेक रिपब्लिकनका सुदेश विक्रम सेखरले समान ३५ बलमा शतक बनाएका थिए । टी–२० फर्म्याटमा वेस्टइन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेलको नाममा कम बलमा शतक रहेको छ । उनले सन् २०१३ मा इन्डियन प्रिमियर लिगमा बेंग्लोरबाट प्रतिनिधित्व गर्दै पूणेविरुद्ध ३० बलमा शतक बनाएका थिए । 

दीपेन्द्रले जोडे नाै बलमा ५० रन
नेपालका मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंहले पनि मंगोलियाविरुद्ध आक्रामक ब्याटिङ गर्दै विश्वकीर्तिमान बनाउने क्रममा नाै बलमै अर्धशतकीय इनिङ्स खेलेका छन् । उनले १० बलमा आठ छक्काको सहयोगमा ५२ रन बनाए । यसअघि अन्तर्राष्ट्रिय टी–२० मा भारतका युवराज सिंहले इंग्ल्यान्डविरुद्ध १२ बलमा ५० रन बनाएका थिए । यसैगरी अस्ट्रियाका मिर्जा अहसनले १३ बलमा ५० रन जोडेका थिए । 

साझेदरीमा पनि रेकर्ड
नेपाली ब्याट्सम्यानले मंगोलियाको कमजोर बलिङको फाइदा भरपूर उठाएको छ । ओपनर कुशल भुर्तेल र आसिफ सेखले पहिलो विकेटका लागि ४.५ ओभरमा ४२ रन जोडे । भुर्तेलले २३ बलमा १९ रन र सेखले १७ बलमा १६ रन बनाए । त्यसछि कुशल मल्ल र कप्तान रोहितकुमार पौडेलले तेस्रो विकेटका लागि एक सय ९३ रनको साझेदारी गरे । यो नेपाली टोलीका लागि कुनै पनि विकेटका लागि भएको अहिलेसम्मकै सर्वाधिक साझेदारी हो । कुशलले अन्तिमसम्म नटआउट रहँदै ५० बलमा आठ चौका र १२ छक्का प्रहार गरी सर्वाधिक एक सय ३७ रन बनाए । रोहितले २७ बलमा ६ छक्का र दुई चौकाको मद्दतमा ६१ रन बनाए । मंगोलियाले नेपाललाई २९ अतिरिक्त रन दिएको थियो । 
 

ad
ad