गुणस्तर तथा नापतौल विभागले कञ्चनपुरको महेन्द्रनगरस्थित एक पेट्रोल पम्पमा सिलबन्दी गरेको छ । आइतबार विभागले भीमदत्त नगरपालिका–४ गोबरैयामा रहेको महाकाली फिलिङ सेन्टरमा सिलबन्दी गरेको हो ।
कम तेल दिएर उपभोक्ता ठगी भइरहेकाले महाकाली पेट्रोल पम्पमा सिलबन्दी गरेको विभागले जनाएको छ । गुणस्तर तथा नापतौल विभाग धनगढीका प्रमुख दीपेन्द्र रोकायाले १० लिटरमा २ दशमलव ५० मिलिमिटर कम तौेल बिक्री वितरण भइरहेको पाइएकाले सिलबन्दी गरिएको बताए । ‘हामीले तीनपटक तेल नाप्यौँ, ‘उनले भने, ‘तीनैपटक १० लिटरमा २ दशमलव ५० मिलिलिटर कम तेल आयो, यो सरासर उपभोक्तामाथि अन्याय हो ।’
विभागले पेट्रोलको भित्र र बाहिर सटरमा ६ टाँचा लगाएको छ । कार्यालय प्रमुख रोकायाले उक्त पेट्रोल पम्पका सञ्चालकमाथि नापतौल ऐन ०२५ र नियम २६ अनुसार कारबाही प्रक्रिया अघि बढाइने बताए । ‘अहिले हामीले दुवै मेसिनमा सिलबन्दी गरेका छौँ, ‘उनले भने, ‘यो पेट्रोल पम्प अनुसन्धानको घेरामा छ ।’
महाकाली फिलिङ सेन्टरका सञ्चालक रणबहादुर चन्दले विविध कारणबाट मेसिनले कम तेल दिएको बताए । उनका अनुसार मेसिनको आन्तरिक समस्या, भोल्टेज र यस क्षेत्रमा रहेका विभिन्न वेल्डिङ सेन्टरका कारण समस्या भएको हो । उनले भने, ‘यो प्राविधिक समस्या भएको होला ।’ उपभोक्ताहरूले भने सत्यतथ्य छानबिन गरी अन्य पेट्रोल पम्पमा समेत अनुगमन गर्न सुझाब दिएका छन् ।