बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्यायिक आन्दोलनमा होमिएको नागरिक संघर्ष समितिले वास्तविक हत्यारालाई सार्वजनिक गर्न माग अघि सारेको छ । आइतबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी शुशिल कुमार वैद्यमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै हत्यारा सार्वजनिकको माग अघि सारेको हो । मिना भण्डारी नेतृत्वको सघर्ष समितिले घटना भएको १६ महिनापछि पनि वास्तविक हत्यारालाई कानुनको कठघरामा उभ्याउन नसकेको भन्दै जनतालाई जिस्काउने काम भएको टिप्पणी गरिएको छ ।
अधिकार कर्मीसमेत रहेकी नागरिक संघर्ष समितिकी सदस्य शारदा चन्दले घाइतेको उपचार माग अघि सारेको बताइन । बलात्कारपछि हत्यामा संलग्न वास्तविक अपराधि उम्काउन, आदालतमा विचारधीन मुद्दा कमजोर बनाउन षड्यन्त्र भइरहेको दावी गरिएको छ । निर्मलाकी आमाले अनर्गल विषय बोलेको भन्दै यस्ता गतिविधि बन्द गर्न माग गरिएको छ ।
अधिकारकर्मी चन्दका अनुसार प्रधानमन्त्रीसहित, राष्ट्रिय मानव अधिकार आयोग, दुई एनजिओ, नेपाल मानव अधिकार संगठनलगायतलाई ज्ञापन पत्र बुझाएको बताइन् । उनले आफूहरु निर्मलाको न्यायका लागि लडिरहने जिकिर गरिन् । ज्ञापन पत्र बुझ्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी वैद्यले निर्मला हत्याकाण्डको अनुसन्धानमा सरकारी निकाय गम्भिर भएर लागेको र अनुसन्धान जारी रहेको बताउँदै ज्ञापन पत्र माथिल्लो निकायमा पेश गरिदिने बताए ।
२ मंसिर (सोमबार) निर्मलाकी आमा दुर्गादेवि पन्तले निर्मलाका हत्यारा दिलिप विष्ट भएकाले उनीमाथि प्रहरीले वेवास्ता राखेको भन्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएकी थिइन । त्यसको दुई हप्तापछि संघर्ष समितिले वास्तविक हत्यारा सार्वजनिकको माग राख्दै वास्तविक हत्यारा सार्वजनिक गर्न दवाव दिएको हो ।