मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष १९ सोमबार ०७:०१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

निर्मला पन्त हत्या प्रकरण : डिएनएबाटै अभियुक्त पत्ता लाग्ने प्रहरीको आशा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष १९ सोमबार ०७:०१:००

कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक शंकास्पद युवकलाई पक्राउ गरी डिएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ती युवकमाथि अनुसन्धानकेन्द्रित गरी डिएनए परीक्षण गरेको हो । जिप्रका कञ्चनपुरका एसपी उमाप्रसाद चतुर्वेदीले डिएनए अनुसन्धानको क्रममा शंकास्पद व्यक्तिहरूको परीक्षणको काम भइरहेको बताए । तर, प्रहरीले सो आरोपमा कसैलाई पनि पक्राउ नगरेको उनको भनाइ छ । 

डिएनए परीक्षणका लागि नमुना संकलनमै त्रुटि भएको भन्दै त्यस विधिबाट अभियुक्त पत्ता नलाग्ने निष्कर्ष यसअघि निकालिएको थियो । डिएनए परीक्षणको विषयमा दुईवटा छानबिन समितिले यसमा त्रुटि भएको औँल्याएको थियो । राष्ट्रिय मानवअधिकार आयोग र डिएनए विशेषज्ञ जीवन रिजालको नेतृत्वको विज्ञ टोलीले यसबारे छुट्टाछुट्टै छानबिन गरेको थियो । दुवै टोलीले डिएनए परीक्षण प्रक्रियामै कमजोरी भएको तथ्य औँल्यायो । जसअनुसार अब डिएनए प्रविधिबाट अभियुक्त पत्ता लाग्न सक्दैन भन्ने दुवै प्रतिवेदनको निष्कर्ष थियो । तर, पनि प्रहरीले डिएनए विधिलाई नै अनुसन्धानको मुख्य आधार बनाएको छ । 

‘छानबिन टोलीले जे भने पनि डिएनएबाटै अभियुक्त पत्ता लाग्छ भन्ने हाम्रो विश्वास छ,’ एक उच्च प्रहरी अधिकारीले भने, ‘सोही आधारमा शंकित व्यक्तिहरूमाथि अनुसन्धान चलिरहेको छ ।’ यसअघि नै प्रहरीले यो घटनामा एक सयभन्दा धेरै व्यक्तिको डिएनए परीक्षण गरिसकेको छ । यसअघिका छानबिनमा भने डिएनएको नमुनामै मिसावट भएको उल्लेख छ । राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनमा भनिएको छ, ‘डिएनए परीक्षणका लागि भजाइनल स्वाबलगायतका नमुना संकलन गर्दा सिन्कोमा बेरिएको कपासबाट गरिएको यस्तो संकलन प्रक्रिया पूर्णतः दोषमुक्त छ भन्न सकिने अवस्था छैन । यसरी संकलन गरी टेस्टट्युबमा राख्दा पर्याप्त मात्रामा डिएनए संकलन नहुने र डिएनए ह्रास हुँदै जाने, नष्ट हुन सक्ने, परिणाम सही आउन नसक्नेजस्ता समस्या रहेको पाइयो । मूलतः नमुना संकलन प्रक्रिया नै त्रुटिपूर्ण रहेको पाइयो ।’ आयोगले पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्र पाठकको संयोजकत्वमा पूर्वएआइजी विज्ञानराज शर्मा, फरेन्सिकविज्ञ डा. हरिहर वस्ती, डिएनए विशेषज्ञ दिनेश झा र आयोगका अनुसन्धान अधिकृत रहेको समिति गठन गरेको थियो । 

पछि गृह मन्त्रालयले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वकार्यकारी निर्देशक रिजालको नेतृत्वमा विज्ञ समिति गठन गरेको थियो । सो समितिले पनि अब अनुसन्धानमा डिएनए प्रविधि प्रभावकारी नहुने निष्कर्ष निकालेको थियो । मृतकको शरीरबाट संकलन गरिएको नमुनामै मिसावट भइसकेकाले अब डिएनए प्रविधिबाट अभियुक्त पत्ता लगाउन धेरै गाह्रो हुने रिजाल बताउँछन् । ‘यो घटनामा अब डिएनए परीक्षणको रिजल्ट सही आउने सम्भावना कम छ,’ उनले भने, ‘सुरुमा स्याम्पल नै कन्टामिनेट भइसकेको छ ।’ निर्मलाको भजाइनल स्वाबबाट निकालिएको नमुनाबाट डिएनए परीक्षण गरी अभियुक्त पत्ता लगाउन असम्भव रहेको विज्ञहरूले बताइसकेका छन् । प्रहरीले वाई–एसटिआई विधिबाट डिएनए परीक्षण गरेको थियो, जुन विधि वंश पत्ता लगाउन प्रयोग गरिन्छ । सामान्यतया, अभियुक्त पहिचान गर्न अटोसोमल प्रविधिबाट परीक्षण गरिन्छ । 

निर्मलाको बलात्कारपछि हत्या भएको ४१ महिना भइसकेको छ । १० साउन ०७५ मा महेन्द्रनगर, उल्टाखामकी निर्मलाको बलात्कारपछि हत्या भएको थियो । भोलिपल्ट अर्धनग्न अवस्थामा उखुबारीमा उनको शव भेटियो । बलात्कारपछि घाँटी थिचेर उनको हत्या भएको पोस्टमार्टम रिपोर्टबाट पुष्टि भइसकेको छ ।