१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७६ कार्तिक १४ बिहीबार ०६:५५:००
Read Time : > 3 मिनेट
मुख्य समाचार

३६ वर्षे निर्मल पुर्जाको ऐतिहासिक रेकर्ड : ६ महिनामै आठ हजार  मिटरमाथिका १४ हिमाल आरोहण

Read Time : > 3 मिनेट
२०७६ कार्तिक १४ बिहीबार ०६:५५:००

अन्तर्राष्ट्रिय मिडियामा छाए पुर्जा 

३६ वर्षीय नेपाली युवा निर्मल पुर्जाले ६ महिनामा विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल आरोहण गरी अविश्वसनीय रेकर्ड कायम गरेका छन् । पुर्जाले मंगलबार बिहान ८ बजेर ५८ मिनेटमा चीनको तिब्बतमा रहेको सिसापाङ्मा हिमाल आरोहण गरी सो रेकर्ड कायम गरेका हुन् । गोसाइँथान पनि भनिने विश्वको १४औँ अग्लो सिसापाङ्मा हिमाल (८०२७ मिटर) जुगल हिमशृंखलामा पर्छ ।

‘प्रोजेक्ट पोसिबल’ शीर्षकमा सात महिनामा विश्वका सबैभन्दा अग्ला १४ हिमाल आरोहण गर्ने लक्ष्यसहित आरोहण सुरु गरेका पुर्जाले ६ महिना ६ दिनमा मिसन सम्पन्न गरेका हुन् । यसअघि सबैभन्दा छोटो समयमा यो रेकर्ड दक्षिण कोरियाका आरोही किम चाङ–होको नाममा थियो । उनले सात वर्ष ११ महिना १४ दिनमा आठ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहणको रेकर्ड बनाएका थिए । 

हिमाल आरोहण सम्पन्न गरी पुर्जा काठमाडौं आइपुगेको उनको आरोहणको व्यवस्थापन गर्ने सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिए । सिसापाङ्मा हिमाल आरोहणका क्रममा पुर्जाको टोलीमा मिङ्मा डेभिड शेर्पा, ग्याल्जेन शेर्पा, जेसमान तामाङ, लाक्पा देन्डी शेर्पा, हालुङ दोर्जी शेर्पा पनि थिए । मिङ्मा डेभिड शेर्पाले पनि विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल आरोहण सम्पन्न गरेका छन् । 

सिसापाङ्मा हिमाल आरोहण गरेसँगै उनले चुचुरोबाटै ‘मिसन सफल’ भन्ने सन्देश पठाएका थिए । ‘दृढ र सकारात्मक सोचले अघि बढ्दा मात्रै जीवनमा सबै कुरा सम्भव छ,’ पुर्जाले भने । आफ्नो टिमको दृढताकै कारण मिसन सफल भएको उनले ट्विटरमार्फत जनाएका छन् । ‘हामीले टिमका रूपमा मात्रै होइन, दाजुभाइका रूपमा आरोहण गर्‍यौँ, असम्भवलाई सम्भव बनाउनु र मानवको सीमिततालाई अर्को तहमा पुर्‍याउनु नै हाम्रो एक मात्र लक्ष्य थियो,’ पुर्जाले आफ्नो ट्विटरमार्फत भनेका छन् । 

म्याग्दीको तातोपानीमा जन्मेका पुर्जा ब्रिटिस गोर्खा सेनाबाट अवकाश लिई पूर्णकालीन आरोहणमा लागेका थिए । गत मेमा सगरमाथामा पर्वतारोहीको ट्राफिक जाम भएको तस्बिर उनले खिचेका थिए, जुन संसारभर चर्चित बनेको थियो । त्यसपछि उनको चर्चा संसारभर चुलिएको थियो । यही वर्ष ४८ घन्टाभित्र उनले सगरमाथा, ल्होत्से र मकालु हिमाल आरोहण गरेका थिए । 

आरोहणको क्षेत्रको ठूलो उपलब्धि : आरोहीहरू 
पुर्जाले हासिल गरेको रेकर्ड विश्वकै पर्वतारोहणको क्षेत्रमा ठूलो उपलब्धि भएको आरोहीहरूले बताएका छन् । नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले यो रेकर्ड आरोहणका क्षेत्रमा अहिलेसम्मकै उल्लेख्य भएको बताए । ‘निर्मलको यो उपलब्धि उनको मात्र होइन, हामी सबै नेपाली र पर्वतारोहणमा लागेकाका लागि निकै महत्वपूर्ण र गौरवको कुरा हो,’ उनले भने । 

त्यस्तै, आठ हजार मिटरमाथिका सबै हिमाल आरोहण गर्ने पहिलो नेपाली मिङ्मा शेर्पाले पुर्जाको कामले सम्पूर्ण नेपालीमा मात्रै नभई पर्वतारोहणमा लागेका सबैलाई उत्साह प्रदान गरेको बताए । ‘यो सानोतिनो रेकर्ड होइन, तर इच्छाशक्ति भयो भने जस्तोसुकै उपलब्धि पनि हासिल गर्न सकिन्छ भनेर अन्य आरोहीलाई यसले सन्देश दिएको छ,’ उनले भने । 

अहिलेसम्म पनि हिमाल आरोहणको सीप युरोपेलीले जानेका हुन्छन्, उनीहरूबाटै सिक्ने हो भन्ने बुझाइ पर्वतारोहीमा छ । ‘नेपालमा सात हजार मिटरभन्दा अग्ला त हजारौँ हिमाल छन्, हिमाल आरोहण गर्ने सीपमा पनि नेपाली नै अब्बल छन्, उनीहरूबाटै हिमाल आरोहण सिक्नुपर्छ भन्ने सन्देश विश्वभर गएको छ,’ शेर्पाले भने । आठ हजार मिटरभन्दा उच्च सबै हिमाल आरोहण गर्ने ४४ जनामध्ये पाँच नेपाली हुनुले पनि यो विषयलाई पुष्टि गर्ने उनले बताए । 

यसअघिको रेकर्ड आठ वर्ष, अब ६ महिना 
संसारका सबैभन्दा उच्च सबै हिमाल आरोहण गर्ने हरेक पर्वतारोहीको सपना हुन्छ । सबैभन्दा पहिला विश्वका आठ हजार मिटर अग्ला १४ वटै हिमाल आरोहण गर्ने रेकर्ड रेनहोल्ड मेसनरको नाममा छ । उनले सन् १९८६ मा थप अक्सिजन प्रयोग नगरीकनै आठ हजार मिटरभन्दा अग्ला सबै हिमाल आरोहण गरेका थिए । त्यस्तै, सन् २०१० मा इडुर्न पासाबान ती हिमाल आरोहण गर्ने पहिलो महिला बनेकी थिइन् । 

तर, सबैभन्दा छोटो समयमा यी सबै हिमाल आरोहणको रेकर्ड भने दक्षिण कोरियाका आरोही किम चाङ–होको नाममा थियो । उनले सात वर्ष ११ महिना १४ दिनमा ती सबै हिमाल आरोहण गरी सो रेकर्ड कायम गरेका थिए ।

यी सबै हिमाल आरोहण गर्ने पहिलो नेपाली भने मिङ्मा शेर्पा हुन् । उनैले सञ्चालन गरेको सेभेन समिट ट्रेक्सले पुर्जाको आरोहणको व्यवस्थापन गरेको हो । उनले सन् २०११ मा कञ्चनजंगा हिमाल आरोहण गरी यस्तो रेकर्ड बनाएका थिए । उनका भाइ छाङदावा शेर्पाले उनीपछि १४ वटै हिमाल आरोहण गरेपछि विश्वमा पहिलोपटक यी हिमाल आरोहण गर्ने दाजुभाइको रेकर्ड यिनीहरूको नाममा लेखिएको छ । त्यस्तै, सानु शेर्पा, निर्मल पुर्जा र मिङ्मा डेभिड शेर्पासहित पाँचजना नेपालीले १४ वटै उच्च हिमाल आरोहण गरेका छन् । 

विश्वमै हलचल ल्याउने रेकर्ड : आङछिरिङ शेर्पा
पूर्वअध्यक्ष, नेपाल पर्वतारोहण संघ

निर्मल पुर्जा राम्रो आरोही हुन् । राम्रो आरोही नभईकन यस्तो उल्लेख्य रेकर्ड राख्न सम्भव हुने थिएन । यो उपलब्धि उनको मात्र होइन, हामी सबै नेपाली र पर्वतारोहणमा लागेकाहरूका लागि निकै महत्वपूर्ण र गौरवको कुरा हो । यो अहिलेसम्मकै उल्लेख्य रेकर्ड हो । यसबारे विश्वभर हलचल हुनेछ, चर्चा हुनेछ । यसले नेपालको पर्वतारोहण र पर्यटनलाई विश्वभर व्यापक बनाउन ठूलो भूमिका खेल्नेछ । त्यति मात्र होइन रकेर्डधारी निर्मलको आगामी दिनको सक्रियताले पनि नेपालको पर्वतारोहण क्षेत्रको प्रचारप्रसारमा मद्दत पुग्न सक्छ । उनले अन्तर्राष्ट्रियस्तरमा पुगेर अनुभव बाँड्नुपर्छ, विभिन्न फोरममा पुगेर आफना कुरा राख्नुपर्छ । यस्तो हुन सक्यो भने नेपालको पर्वतारोहण पर्यटनबारे विश्वभर निकै राम्रो सन्देश जान्छ । 

यस्तो रेकर्ड राख्ने व्यक्तिलाई सरकारी स्तरबाट पनि प्रवद्र्धन गर्नुपर्छ । जुन कुरा नेपालको हकमा निकै कमजोर देखिएको छ । पर्वतारोहीले विभिन्न रेकर्ड राखेर स्वदेश फर्कन्छ, तर सरकारी निकायबाट एउटा सुब्बासमेत स्वागतका लागि विमानस्थल पुग्दैनन् । पछि पनि उसको व्यक्तित्वलाई देशको पर्यटनमा कसरी लगाउने भन्नेमा सरकारी निकायको कुनै चासो देखिँदैन । योचाहिँ निकै दुःखद पक्ष हो ।