सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका दुई वटा सामुदायिक वनबाट प्रहरीले ८ नाल भरुवा बन्दुक बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार २०८३ साल असोज १५ गते बिहान करिब ९:३० बजे खटिएको प्रहरी टोलीले बनगाड कुपिण्डे नगरपालिका–७ स्थित सल्लेरी सामुदायिक वनको ओडारबाट ४ नाल र वडा नम्बर १२ स्थित निगालचुला भदाले सामुदायिक वनको ओडारबाट थप ४ नाल भरुवा बन्दुक फेला पारी बरामद गरेको हो।
प्रहरीका अनुसार ती बन्दुकहरू सामुदायिक वनका ओडारमा लुकाइछिपाई राखिएको अवस्थामा फेला परेका थिए। बरामद भएका भरुवा बन्दुक कसले र कुन प्रयोजनका लागि लुकाएर राखेको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।