दुई दशकको व्यावसायिक यात्रा पूरा गरेको ग्लोबल आइएमई बैंकले ‘डिजिटल बैंकिङ’लाई व्यवसाय विस्तारको आधार बनाउने भएको छ । सरकारले डिजिटल नेपाल फ्रेमवर्कमार्फत डिजिटल प्रविधिको उपायेगबाट सेवाप्रवाह, उत्पादन र उत्पादकत्वमा अभिवृद्धि गरी अर्थतन्त्रका बृहत्तर आयामहरूको रूपान्तरण गरी आधुनिकीकरण गर्ने लक्ष्य लिएको छ । डिजिटल नेपालको अवधारणालाई आत्मसात् गर्दै ग्लोबल आइएमईले पनि ‘डिजिटल फर्स्ट बैंकिङ’ रणनीतिअनुसार व्यवसाय अघि बढाउने भएको हो ।
बैंकले ‘डिजिटल फर्स्ट बैंकिङ रणनीति’अनुसार डिजिटल प्रक्रियाको विस्तार, एआई तथा स्वचालनको प्रयोग वृद्धि, नयाँ पुस्ताका ग्राहकमा केन्द्रित व्यवसाय, डिजिटल उत्पादन तथा सेवाको विस्तार, साइबर सुरक्षा र अनुपालन सुदृढीकरण गर्ने भएको हो । डिजिटल सेवालाई कारोबारमा मात्रै सीमित नराखी ग्राहकको दैनिक वित्तीय आवश्यकतालाई एउटै डिजिटल प्लाटफर्ममार्फत सम्बोधन गर्ने प्रयास गरिएको बैंकले जनाएको छ । डिजिटल माध्यमबाट ग्राहकलाई थप सहज, छिटो र प्रभावकारी बैंकिङ सेवा उपलब्ध गराउँदै डिजिटल कारोबार विस्तार गर्ने योजना रहेको बैंकले उल्लेख गरेको छ ।
बैंकले म्यानुअल प्रक्रियालाई क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गर्दै आन्तरिक कार्यसम्पादन, सेवाप्रवाह र सञ्चालन दक्षता अभिवृद्धि गर्ने रणनीति लिइएको छ । त्यस्तै, एआई तथा स्वचालनको प्रयोग बढाएर ग्राहक सेवा तथा सुविधालाई प्रभावकारी बनाइने बैंकले जनाएको छ । ग्लोबल जिपिटी, डकुमेन्ट क्वारी सिस्टम (डक्युएस) तथा रोबोटिक प्रोसेस अटोमेसन (आरपिए)जस्ता प्रविधिको प्रयोग विस्तार गरी कर्मचारीको कार्यक्षमता, ग्राहक सेवा र निर्णय प्रक्रियालाई थप प्रभावकारी बनाउने लक्ष्य बैंकले लिएको छ ।
त्यसैगरी, बैंकले नयाँ पुस्ताका ग्राहकमा केन्द्रित व्यवसायसमेत गर्ने भएको छ । अनलाइनबाटै अकाउन्ट खोल्न सकिने, नेक्ट जेन अकाउन्ट, भिडियो केवाइसीजस्ता सेवामार्फत नयाँ पुस्ताका ग्राहकलाई बैंकसँग जोड्ने र दीर्घकालीन ग्राहक सम्बन्ध विकास गर्ने बैंकले रणनीति लिएको छ । त्यस्तै, कर्पोरेट तथा व्यावसायिक ग्राहकमा विस्तार गर्न ‘ग्लोबल बिजनेक्स’लगायत डिजिटल सेवा उपलब्ध गराइने भएको छ । ‘ग्लोबल बिजनेक्स’मार्फत व्यावसायिक तथा कर्पोरेट ग्राहकलाई थप प्रभावकारी सेवा प्रदान गर्दै व्यावसायिक बैंकिङको दायरा विस्तार गर्ने लक्ष्य राखिएको छ ।
त्यस्तै, डिजिटल उत्पादन तथा सेवाको विस्तारअन्तर्गत ग्लोबल स्मार्ट प्लसमा व्यक्तिगत रकम ट्रान्सफरका अतिरिक्त वित्त व्यवस्थापन (पर्सनल फाइनान्स म्यानेजमेन्ट)का साथै आइपिओ भर्न सकिने, पुँजीबजार सेवालगायत सुविधासमेत थपिने भएको छ । ‘नयाँ सेवा सुविधा विस्तार गर्दै ग्राहकको दैनिक वित्तीय आवश्यकतालाई एउटै डिजिटल प्लाटफर्ममार्फत सम्बोधन गर्ने प्रयासलाई निरन्तरता दिइनेछ,’ बैंकले उल्लेख गरेको छ ।
रेमिट्यान्स तथा अन्तर्राष्ट्रिय बैंकिङ विस्तारअन्तर्गत गैरआवासीय नेपाली तथा अन्तर्राष्ट्रिय बैंकिङ सेवाको सम्भावनालाई उपयोग गर्दै नयाँ व्यावसायिक क्षेत्र विस्तार गर्ने रणनीतिसमेत बैंकले लिएको छ । त्यस्तै, डिजिटल ऋण तथा शाखारहित सेवाको विस्तारअन्तर्गत केन्द्रीय बैंकको अवधारणाअनुरूप डिजिटल कर्जा तथा डिजिटल शाखाको विकास गरी बैंकिङ सेवाको पहुँच र कारोबार विस्तार गर्ने योजना रहेको उनले बताए । जोखिम व्यवस्थापनलाई व्यवसाय वृद्धिसँग जोड्न व्यवसाय विस्तारसँगै कर्जा तथा अन्य जोखिमलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्ने, साइबर सुरक्षा र अनुपालन सुदृढीकरण गर्दै सुरक्षित डिजिटल बैंकिङ वातावरण निर्माण गरिनेसमेत बैंकको रणनीति छ ।
दिगो व्यवसाय र प्रतिफलमा जोड
ग्लोबल आइएमई बैंकले स्थापनाको दुई दशक पूरा गर्दै २०औँ वार्षिक साधारणसभा यही १६ असोजमा आयोजना गर्दै छ । दुई दशकको व्यावसायिक यात्रामा बैंकले आफ्नो वित्तीय आकार, ग्राहक आधार, सेवा सञ्जाल, डिजिटल क्षमता तथा व्यावसायिक पहुँच विस्तार गर्दै आएको बैंकले जनाएको छ । बैंकले नाफा वृद्धि, व्यवसाय विस्तार, डिजिटल रूपान्तरण, गुणस्तरीय कर्जा, जोखिम व्यवस्थापन र दिगो वित्तलाई एकीकृत गर्दै सेयरधनीका लागि दिगो प्रतिफल तथा बैंकको दीर्घकालीन व्यावसायिक वृद्धि सुनिश्चित गर्ने रणनीति बैंकले अघि बढाएको हो ।
व्यवसायसँगै नाफा बढ्दो
बैंकको व्यवसायसँग नाफासमेत बढ्दै गएको छ । आर्थिक वर्ष ०८२/८३ को अन्त्यसम्म बैंकको कुल निक्षेप सात खर्ब ४४ करोड, कुल कर्जा चार खर्ब ७६ अर्ब ८४ करोड पुगेको छ । बैंकको चुक्ता पुँजी ३८ अर्ब एक करोड १६ लाख पुगेको छ । यस अवधिमा बैंकले ६ अर्ब तीन करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशतले बढी हो । त्यस्तै, निक्षेपमा २१.८० प्रतिशत तथा कर्जा लगानीमा ८.२२ प्रतिशत वृद्धि भएको छ । बैंकले सेयरधनीहरूलाई १० प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा लगेको छ । उक्त सभाबाट स्वीकृत भएपश्चात् सेयरधनीलाई लाभांश वितरण गर्नेछ ।
बैंकको हाल ३४१ शाखा, ३६६ एटिएम, १४१ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर र विदेशमा तीन प्रतिनिधि कार्यालयसहितको सेवा सञ्जाल रहेको छ । बैंकले देशभरका विभिन्न सेवा माध्यमद्वारा १,००० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।