युवालाई व्यावहारिक सीप प्रदान गर्दै रोजगारका अवसरसँग जोड्ने उद्देश्यले सुनसरीको इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु भएको छ।
चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा घोषित ‘रोजगार प्रवर्द्धन दशक (२०८३–२०९२)’ लाई व्यवहारमा कार्यान्वयन गर्ने उद्देश्यले युवा, श्रम तथा रोजगार मन्त्रालयले मेला आयोजना गरेको हो। मेला असोज २० गतेसम्म सञ्चालन हुनेछ।
मेलामा युवाको सीप पहिचान गरी रोजगारदाता तथा तालिम प्रदायक संस्थासँग प्रत्यक्ष रूपमा जोड्ने व्यवस्था गरिएको छ। साथै, युवालाई उद्यमशीलताप्रति आकर्षित गर्ने उद्देश्यले ‘आजको युवा, भोलिको उद्यमी : सार्क संवाद’ शीर्षकमा विशेष प्यानल छलफलसमेत आयोजना गरिनेछ।
मेला अवधिभर तालिमका सहभागी छनोट, प्रशिक्षार्थीको समूह विभाजन, रोजगार मिलानका लागि सीप परीक्षण तथा सीप प्रोफाइलिङ, रोजगारदाता र तालिम प्रदायक संस्थाको परिचयात्मक कार्यक्रम सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।
त्यसैगरी, सहभागीलाई एकीकृत सूचना तथा परामर्श सेवा पनि उपलब्ध गराइनेछ। चालू आर्थिक वर्षमा कोशी प्रदेशको इटहरीबाट सुरु गरिएको मेलालाई क्रमशः अन्य प्रदेशमा समेत विस्तार गरिने मन्त्रालयले जनाएको छ।