मुख्य राजमार्गका होटेल तथा रेस्टुरेन्टहरूले मनोमानी ढंगले मूल्यसूची राख्ने गरेको भन्दै सांसदले अनुगमनका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद भरत गिरीले चाडपर्वको समयमा राजमार्गका होटेलहरूले अस्वस्थ खुवाउने र मनलाग्दी तरिकाले रकम असुल्ने गरेको भन्दै अनुगमनमा कडाइ गर्न माग गरेका हुन्।
‘राजमार्गका होटेलमा खानाको मूल्यसूची कसले र कसरी निर्धारण गर्छन् ? लामो यात्रामा होटेलमा रोकिनु यात्रुको रहर होइन, बाध्यता हो। यही बाध्यताको फाइदा उठाएर मनपरी मूल्य असुल्ने, मूल्यसूची नराख्ने, बासी तथा अस्वस्थ खाना खुवाउने प्रवृत्ति जनस्वास्थ्यमाथिको खेलबाड हो। त्यसैले प्रमुख राजमार्गका होटेल तथा रेस्टुरेन्टमा विशेष अनुगमन टोली खटाएर यात्रुको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गर्न सरकारसँग अनुरोध गर्दछु,’ उनले भने।