दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी चीनबाट नेपालतर्फ ल्याइँदै गरेका करिब पाँच सयदेखि सात सय कन्टेनर सामान कोरोला नाकामै रोकिएका छन्। नेपाल हिमालयन सीमापार व्यापार संघका अध्यक्ष रामहरि कार्कीका अनुसार ती कन्टेनर नेपाल प्रवेशको पर्खाइमा छन्।
कार्कीका अनुसार कोरोला नाका अझै १०–१२ दिन सञ्चालनमा नआउने जानकारी व्यवसायीले पाएका छन्। नाका सञ्चालनमा ढिलाइ हुँदा चाडपर्वका लागि ल्याइएका सामग्री समयमै नेपाल आइपुग्नेमा व्यवसायीले आशंका व्यक्त गरेका छन्।
‘कोरोला नाका अझै १०–१२ दिन चल्न सक्दैन भन्ने जानकारी दिइएको छ,’ कार्कीले भने, ‘त्यसकारण चाडपर्वलक्षित सामग्री आयातका लागि तत्काल कूटनीतिक पहल गरेर तातोपानी नाका खुलाउनुपर्छ।’
यसैबिच, सरकारले तातोपानी नाका पुनः सञ्चालनका लागि कूटनीतिक पहल थालेको जनाएको छ। एक उच्च सरकारी अधिकारीका अनुसार परराष्ट्र मन्त्रालयमार्फत चीनसँग नाका सञ्चालनका विषयमा पहल भइरहेको छ।
ती अधिकारीका अनुसार तातोपानी नाका किन बन्द भएको हो भन्नेबारे स्पष्ट जानकारी प्राप्त भएको छैन। नाका औपचारिक घोषणा गरेर बन्द गरिएको अवस्था पनि नरहेको उनको भनाइ छ।
‘अहिलेको विषम परिस्थितिमा तातोपानी नाका खुलाउनुपर्छ भनेर सरकारले कूटनीतिक पहल गरिरहेको छ,’ ती अधिकारीले भने।
व्यवसायीहरूले भने चाडपर्वको मुख्य सिजन नजिकिँदै गर्दा आयातका लागि वैकल्पिक नाका तत्काल सञ्चालनमा ल्याउनुपर्ने माग गरेका छन्।