अरूको नागरिकता दुरूपयोग गरेर म्यानपावर खोली वैदेशिक रोजगारीको नाममा ८५ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
धादिङको नेत्रावती डबजोङ गाउँपालिका– ५ स्थायी ठेगाना भई काठमाडौँ तार्केश्वर नगरपालिका– ६ बस्ने ३१ वर्षीय हरि तिमल्सिना भन्ने ईश्वर खतिवडालाई प्रहरीले पक्राउ गरेको हो।
खतिवडाले स्लोभानिया र माल्दिभ्स पठाउने भन्दै ठगी गरेकामध्ये हालसम्म २५ जना सम्पर्कमा आएका प्रहरीले जनाएको छ। उनले ‘हरि तिमल्सिना’को नागरिकताको प्रमाणपत्र प्रयोग गरी आफू हरि तिमल्सिना हो भनी रकम उठाउने गरेका थिए। चाबहिलस्थित उनको ब्लु डायमन्ड एचआर सर्भिस प्रालिसमेत अनुमतिविना संचालनमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
खतिवडाले ६ जना कर्मचारी नियुक्त गरेर पीडितहरुबाट असुलेको रकम उनीहरुकै खातामा रकम जम्मा गर्न आफूले नगद बुझ्ने गरेका थिए। गत बिहीबार काठमाडौँ महानगरपालिका– २६ बाट पक्राउ परेका खतिवडालाई थप कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, पठाएको प्रहरीले जनाएको छ।