Skip This
कोशीको बाढीले चार सय घर डुबानमा, विस्थापितका लागि सामूहिक मेस सञ्चालन
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १२ सोमबार
  • Monday, 28 September, 2026
सौरभ यादव राजविराज
२o८३ असोज १२ सोमबार १५:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोशीको बाढीले चार सय घर डुबानमा, विस्थापितका लागि सामूहिक मेस सञ्चालन

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८३ असोज १२ सोमबार १५:५१:oo

कोशी नदीमा पानीको बहाब बढेसँगै आएको बाढीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका चार सयभन्दा बढी घर डुबानमा परेका छन्। बाढीबाट विस्थापित बालबालिकासहित करिब एक हजारजनाका लागि नगरपालिकाले सामूहिक मेस सञ्चालन गरेको छ।

कोशी पश्चिमी तटबन्धभित्रका बस्तीमा शुक्रबार साँझदेखि बाढी पसेको हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर वीरेन्द्र माझीले जानकारी दिए। उनका अनुसार नगरपालिका– ५, ७, १२ र १३ का करिब चार सय घर डुबानमा परेका छन्।

‘बस्तीमा चारदेखि पाँच फिटसम्म पानी जमेकाले घरमा बस्न सक्ने अवस्था छैन,’ मेयर माझीले भने। बाढीका कारण घरमा बस्न नसक्ने अवस्था भएपछि प्रभावित परिवारहरू कोशी नदीको बाँध तथा सुरक्षित स्थानमा आश्रय लिन बाध्य भएका छन्। हनुमाननगर कंकालिनी– ७ का शिवु सदाको परिवार पनि अहिले कोशी नदीको बाँध किनारमा त्रिपाल टाँगेर बसिरहेको छ।

शुक्रबार राति अचानक घरमा बाढी पसेपछि अन्नपात र लत्ताकपडासमेत जोगाउन नसकेको शिवुले बताए। ‘प्रत्येक वर्ष यस्तै समस्या हुन्छ। हामी कहाँ जाऔँ ? हाम्रो नाममा एक धुर जग्गा पनि छैन, हामी सुकुमवासी हौँ,’ उनले भने, ‘प्रत्येक वर्ष बाढी आउँछ, घर डुबाउँछ। पानी घटेपछि फेरि त्यहीँ गएर जिन्दगी बिताउनुपर्छ।’

तत्कालका लागि नगरपालिकाले सञ्चालन गरेको सामूहिक मेसबाट खाना खाएर प्रभावित परिवारले छाक टारिरहेका छन्। नगरपालिकाले दुई दिनदेखि विस्थापितहरूका लागि सामूहिक मेस सञ्चालन गरिरहेको जनाएको छ।

मेयर माझीका अनुसार घरभित्र रहेका अन्नपात बाढीले नष्ट गरेपछि प्रभावितलाई तत्काल राहतस्वरूप दुई–तीन दिनसम्म सामूहिक रूपमा खाना खुवाउने व्यवस्था गरिएको हो। पानीको सतह घटेपछि प्रभावित परिवारलाई आवश्यक राहत उपलब्ध गराउनुका साथै पुनर्स्थापनाको प्रक्रिया अघि बढाइने उनले बताए।
 

↑