अर्जेन्टिनाका कप्तान लियोनल मेसीले दोस्रोपटक अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । अर्जेन्टिनालाई फिफा विश्वकप र दुई कोपा अमेरिका उपाधि दिलाएका ३९ वर्षीय मेसीले आफ्नो राष्ट्रिय टोलीसँगको यात्रा समाप्त भएको बताएका छन् । ‘यो निर्णय घोषणा गरिरहँदा पीडा महसुस भइरहेको छ, तर समय आएको छ । मैले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको छु,’ मेसीले भनेका छन् । सन् २०१४ देखि ०१५ सम्म अर्जेन्टिना विश्वकप र कोपा अमेरिकाको फाइनल पराजित भएपछि मेसीले पहिलोपटक सन्न्यास लिएका थिए ।
अर्जेन्टिनी जनताको आग्रहमा उनले सन्न्यास फिर्ता लिँदै अन्तर्राष्ट्रिय खेलमा फर्किएका थिए । सन्न्यास फिर्ता लिएपछि मेसीले अर्जेन्टिनालाई एकपटक फिफा विश्वकप कोपा अमेरिका उपाधि दिलाउन सफल भए । उनकै कप्तानीमा अर्जेन्टिना लगातार दुईपटक विश्वकपको फाइनलमा पुगेको थियो । २०२१ मा उनकै कप्तानीमा अर्जेन्टिनाले २८ वर्षको उपाधि खडेरी तोड्दै कोपा अमेरिका जितेको थियो । त्यसको अर्को वर्ष कतारले आयोजना गरेको विश्वकपको फाइनलमा फ्रान्सलाई टाइब्रेकरमा अर्जेन्टिनाले हराउँदै तेस्रोपटक विश्वकप जित्दा मेसी नै कप्तान थिए ।
दुई दशकको अन्तर्राष्ट्रिय करिअरमा मेसी अर्जेन्टिनाका लागि सर्वाधिक खेल र सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले राष्ट्रिय टोलीबाट २१० खेलमा १२५ गोल गरेका छन् । उनकै कप्तानीमा अर्जेन्टिनाले फिफा विश्वकप, २०२१ र २०२४ को कोपा अमेरिका तथा फिनालिसीमा उपाधि जितेको थियो ।
कीर्तिमानी रूपमा आठपटकका बालोन डिअर विजेता मेसी अहिले अमेरिकन क्लब इन्टर मियामीबाट क्लब फुटबल खेलिरहेका छन् । उनको सन्न्याससँगै अर्जेन्टिनाले आफ्नो स्वर्णिम पुस्ताका अन्तिम महान् कप्तानलाई बिदाइ गरेको छ । सामाजिक सञ्जालमा मेसीले आफ्नो निर्णय आफ्नो आत्माका लागि सबैभन्दा पीडादायी भएको जनाए । ‘विश्वकपको फाइनलपछि धेरै समय सोचेँ, अब राष्ट्रिय टोलीबाट सन्न्यास लिने निर्णय गरेको छु,’ उनले सोसल मिडियामा भनेका छन्, ‘यो निर्णयले मेरो मन दुखाएको छ र अझै पनि दुखाइरहनेछ, तर म बुझ्छु, यही समय हो ।’ उनले अर्जेन्टिनाको जर्सीका लागि सधैँ आफ्नो सम्पूर्ण शक्ति दिएको बताउँदै समर्थकलाई गर्व गराउने प्रयास कहिल्यै नछोडेको उल्लेख गरेका छन् ।
मैदानबाहिर समर्थन गरिरहने वाचा
मेसीले भावुक हुँदै सन्न्यास घोषणा गर्दा आफू कहिले पनि अर्जेन्टिनी राष्ट्रिय टोलीलाई बिर्सन नसक्ने र सधैँ माया रहने उल्लेख गरेका छन् । ‘अर्जेन्टिनी जर्सीमा मैले २० वर्ष लामो अन्तर्राष्ट्रिय यात्रा गरेँ, राष्ट्रिय टोलीप्रतिको आफ्नो प्रेम कहिल्यै समाप्त हुनेछैन,’ उनले भनेका छन्, ‘म राष्ट्रिय टोलीलाई माया गर्थेँ, गर्छु र सधैँ गर्नेछु । अब म मैदानभित्र होइन, बाहिरबाट तपाईँहरूसँगै अर्जेन्टिनालाई समर्थन गर्नेछु ।’ मेसीले परिवार, प्रशिक्षक, टोलीका सहकर्मी र सम्पूर्ण समर्थकप्रति आभार व्यक्त गरेका छन् ।
उनले जीवनको सबैभन्दा खुसीका रूपमा विश्वकप ट्रफी उचालेको क्षणलाई लिन्छन् । ‘मेरो दुई दशकको यात्रामा सबैभन्दा खुसी र अविस्मरणीय क्षण भनेको कतारमा हामीले विश्वकप जितेको क्षण नै हो,’ उनले भने, ‘त्यो जितेको क्षणलाई जीवनकै सबैभन्दा अविस्मरणीय सम्झनाका रूपमा रहनेछ ।’ उनले आफ्नो यात्राको क्रममा भगवान्लाई धन्यवाद दिएका छन् । ‘भगवान्, मलाई अर्जेन्टिनी बनाइदिनुभएकोमा धन्यवाद । अर्जेन्टिना, सधैँ अगाडि बढ,’ उनी भन्छन्, ‘मैले सधैँ सबैथोक दिएँ । पछिल्ला सफल वर्षहरूमा मात्र होइन, सुरुदेखि नै यो जर्सीका लागि लडेँ ।’
उनले अर्जेन्टिनी टोलीमा युवा पुस्ताको आवश्यकता भएको जनाए । युवा पुस्ताले अर्जेन्टिनाको फुटबल इतिहास कोर्ने उनको विश्वास छ । ‘अब मसँग दिन बाँकी केही छैन । नयाँ पुस्ताका उत्कृष्ट खेलाडीहरू आउँदै छन्, उनीहरू नै यो स्थानका हकदार हुन्,’ उनले लेखेका छन्, ‘नयाँ पुस्ताका खेलाडीलाई मौका दिनुपर्छ, मेरो समय सकिँदै छ, अध्याय बन्द हुँदै छन् ।’