भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा अवलोकनकर्ताको सहभागिता उल्लेख्य देखिएको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले मंगलबारदेखि आयोजना गरेको एक्स्पोको तेस्रो दिन भारी वर्षाका बाबजुद पनि २२ हजारले एक्स्पो अवलोकन गरेको आयोजकले जनाएको छ । पहिलो दिन २९ हजार र दोस्रो दिन २६ गरी हालसम्म ७७ हजारभन्दा बढीले अवलोकन गरेका छन् ।
आयोजकका अनुसार दुईपांग्रेसहित विशेषगरी महँगा ब्रान्डमा युवाको आकर्षण देखिएको छ । खासगरी उनीहरूले ब्याट्री क्षमता, मोटर, रेन्ज, आफ्टर सेल्स सर्भिस, ब्याट्रीको वारेन्टी–ग्यारेन्टी, रिसेल भ्यालुलगायतका विषयमा चासो राखेका छन् । सस्तोदेखि महँगोसम्म विकल्प भएकाले अवलोकनकर्तालाई सवारीसाधन छान्न सहज भएको बताइएको छ । मेलामा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनीमा राखिएका छन् । नयाँ–नयाँ मोडेलका सवारीसाधन सार्वजनिक गरेर वितरक कम्पनीहरूले अवलोकनकर्तालाई आफ्नो स्टलमा आकर्षित गरिरहेका छन् ।
कम्पनीले पनि ग्राहक आकर्षित गर्न विभिन्न सुविधा उपलब्ध गराएका छन् । उनीहरूले मूल्यमा छुट, एक वर्षको बिमा, एक वर्षको सवारी कर, फ्री सर्भिसिङ, न्यून दरमा कर्जाजस्ता सुविधा दिएका छन् । मेलामा हालसम्म विभिन्न ब्रान्डले ५२ नयाँ मोडेलका सवारीसाधन सार्वजनिक गरिसकेका छन् ।मेला अवधिभरमा करिब डेढ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
बिहीबार नाइमा मोबिलिटी संवादमा ‘मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एन्ड इन्स्योरेन्स’ विषयमा छलफल तथा अन्तक्र्रिया भएको छ । उद्यमी एवं वित्तीय साक्षरताविज्ञ संजोग कोइरालाले सहजीकरण गरेको संवादमा नेपाल राष्ट्र बैंकका निर्देशक सत्येन्द्र सुवेदी, ग्लोबल आइएमई बैंकका चिफ मार्केटिङ अफिसर राजा अर्याल, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनीलबल्लभ पन्त र हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत समीर ठाकुर प्यानलिस्टका रूपमा सहभागी थिए ।