एमालेले पालिका र वडाकेन्द्रित पार्टी मिसन जागरण अभियान अघि बढाएको छ । पार्टी सदस्यता नवीकरण गर्दै आगामी प्रदेश सभा र स्थानीय तह निर्वाचनसम्म लक्षित गरेर एमालेले डेढ महिनादेखि देशैभर मिसन जागरण अभियान चलाएको हो । अभियानमा ३०१ केन्द्रीय कमिटी सदस्यसहित, पार्टीका केन्द्रीय निकायका सदस्य र सल्लाहकार, प्रदेश तहका नेता–कार्यकर्तालाई पालिका नै तोकेर केन्द्रीय प्रतिनिधिका रूपमा खटाइएको छ ।
केन्द्रीय कमिटी आयोजक, प्रदेश र जिल्लाको व्यवस्थापनमा पार्टी सदस्यता नवीकरण सम्पन्न भएसँगै चरणबद्ध रूपमा देशैभर अभियान अघि बढिरहेको केन्द्रीय प्रचार विभाग प्रमुख नीरज आचार्यले बताए । ‘देशैभर सदस्यता नवीकरण अभियान चलेको छ, अब अर्को चरणमा जागरण अभियान प्रदेश र जिल्लाहरूले व्यवस्थापन गरेर पालिकाकेन्द्रित अभियान अघि बढाइरहेका छन्,’ उनले भने ।
झापा जाँदै ओली
२१ फागुनको चुनावपछि एमाले अध्यक्ष केपी ओली पहिलोपटक गृहजिल्ला झापा जाने भएका छन् । चुनावमा झापा ५ मा प्रधानमन्त्री बालेन्द्र शाहसँग भारी मतान्तरले पराजित भएका ओली शनिबार झापा जान लागेका हुन् । ३० साउनमा झापा हुँदै इलामको फिक्कलमा पार्टीसम्बद्ध जनजाति महासंघको कार्यक्रममा सहभागी भएर ओलीले ३१ साउनमा बिर्तामोडमा आयोजित पार्टी मिसन जागरण अभियानसम्बन्धी कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले बताए ।